सप्तरीका नारायण मन्दिरहरूको समकालीनता
सप्तरी जिल्लामा मध्यकालमा निर्माण गरिएका वैष्णव मन्दिरहरू ठाउँठाउँमा देखिन्छन् । यस प्रकारका मन्दिरहरूमा कतै भगवान् विष्णुको मात्र मूर्ति स्थापित रहेको देखिन्छ भने कतै लक्ष्मी र नारायणको सायुज्य (एकत्त्व भएका) मूर्ति भेटिन्छ ।
सनातन संस्कृतिमा उपासनाका दृष्टिले अनेक सम्प्रदाय, पन्थ, विचारधारा, मत, अवधारणा र अभ्यास विकसित भएका छन् । तिनमा सम्प्रदायको कुरा गर्दा शैव सम्प्रदाय, शाक्त सम्प्रदाय र वैष्णव सम्प्रदाय रहेका छन् ।
शैव सम्प्रदायको आराध्य सदाशिव, शाक्त सम्प्रदायको आराध्य देवीशक्ति तथा उनका अनेकानेक स्वरूप र वैष्णव सम्प्रदायको आराध्य भगवान् विष्णु तथा उनका अवतार हुन् । यी सम्प्रदायभित्रै पनि अनगिन्ती मत र विचारहरू मान्यता र विश्वासमा रहेका छन् । बहुसंख्यक व्यक्तिहरूको उपासनामा यी तिनवटै देवी–देवताको आराधना रहेको पाइन्छ । राम मन्दिरको परिसरमा शिव मन्दिर र शिवालयमा राममन्दिर हुनुको साम्प्रदायिक विरोध नभई साम्प्रदायिक समन्वयको उदाहरण भन्नुपर्ने हुन्छ । तथापि सम्प्रदायगत दृष्टिले भने तिनवटै सम्प्रदायको आ–आफ्नै प्रस्थापना भने रहेको छ ।
वस्तुतः ऋषिमुनिहरूले प्रयोग गर्ने शब्द हो उपासना । सर्वसाधारणले त्यस समान प्रयोग गर्ने शब्द भनेको भक्ति, पूजा, प्रार्थना आदि हुन् । उपासना वैराग्यको विषय हो भने भक्ति गृहस्थको विषय । त्यसैले उपासनामा सम्प्रदाय भेद देखिन्छ तर भक्तिमा सम्प्रदाय भेद देखिँदैन । उपासनाका लागि मन्दिर आवश्यक पर्दैन तर भक्तहरूले आ–आफ्नो आराध्यको मन्दिर बनाउँदै आएका छन् ।
इतिहासविद् स्व. हरिकान्त लाल दास (सहप्राध्यापक, इतिहास विभाग, त्रिवि)को २६ वर्षअघि (वि.सं. २०५६ मा) प्रकाशित ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ पुस्तकमा सप्तरी जिल्लाका प्रत्येक सम्प्रदायका मन्दिरहरूको विवरण समेटिएको छ । त्यसमा वैष्णव मन्दिरहरूको पनि छुट्टै अध्याय अन्तर्गत चर्चा गरिएको पाइन्छ ।

इतिहासविद् दासले आफ्नो यस पुस्तकमा रूपनगरको विष्णु मन्दिर, मानराजाको लक्ष्मीनारायण मन्दिर, कुसमहारको लक्ष्मीनारायण मन्दिर, बैरवाको लक्ष्मीनारायण मन्दिर र कोशी कटानमा परेको लिलजाको विष्णु मन्दिरको शोधमूलक विवरण उल्लेख गरेका छन् तर दासको उक्त पुस्तक प्रकाशित भएको केही वर्षपछि कुसमहारको लक्ष्मीनारायण मन्दिरको एक–डेढ कोश मात्र दक्षिण रामनगरमा पोखरी जीर्णोद्धार गर्दा एउटा लक्ष्मीनारायणको मूर्ति फेला पर्यो, जो कुसमहारको लक्ष्मीनारायण मूर्तिसँग मात्र होइन रूपनगरको विष्णुको मूर्तिसँग समेत एकदमै मिल्छ ।
वस्तुतः ऋषिमुनिहरूले प्रयोग गर्ने शब्द हो उपासना । सर्वसाधारणले त्यस समान प्रयोग गर्ने शब्द भनेको भक्ति, पूजा, प्रार्थना आदि हुन् । उपासना वैराग्यको विषय हो भने भक्ति गृहस्थको विषय । त्यसैले उपासनामा सम्प्रदाय भेद देखिन्छ तर भक्तिमा सम्प्रदाय भेद देखिँदैन ।
रूपनगर, मानराजा, कुसमहार र हाल फेला परेको रामनगरको विष्णुमूर्ति ऐतिहासिक पृष्ठभूमिमा समकालीन त हुन्, साथै यी तीनवटै मूर्तिका वरिपरि रहेका कथा र पात्रहरूबिच नजिकको सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । मानराजाको लक्ष्मीनारायण मूर्तिको भग्नावशेषका टुक्राहरूको स्वरूपबाट यो मूर्तिको आकार–प्रकार पनि उपरोक्त ती मूर्तिसँग मिल्ने देखिन्छ । यस प्रकार यस आलेखमा रूपनगर, मानराजा, कुसमहार र रामनगरको विष्णु मन्दिरको चर्चा गरिएको छ ।
- रूपनगरको विष्णु मन्दिर
इतिहासविद् हरिकान्त लाल दासले आफ्नो उक्त पुस्तकमा मध्यकालमा सप्तरी र सिरहा जिल्लाको विभिन्न ठाउँमा निर्माण भएका विष्णु मन्दिरहरूको विवरणमा रूपनगरको विष्णुमन्दिर पनि समावेश गरेका छन् । प्राचीन सप्तरी जनपदको भाग र वर्तमानमा छुट्टै जिल्ला रहेको सिरहामा मन्दिरहरूको अध्यायमा लक्ष्मीनारायण मन्दिर (सिरहा बजार), सारेश्वरनाथ महादेव मन्दिर (सारसर), बाला सुन्दरी भगवती (भगवानपुर), लक्ष्मीनारायण मन्दिर (नहरा), गिरिजेश्वर महादेव (इनर्वा), सलहेश मन्दिर (महिसोथा), सलहेश र मालिनी मन्दिर (सलहेश फूलबारी) को विवरण दासले दिएका छन् ।

रूपनगरको विष्णु मन्दिर राजविराजभन्दा २० किलोमिटर उत्तर–पूर्व महेन्द्र राजमार्गको रूपनगर भन्ने ठाउँमा अवस्थित छ । कञ्चनपुर बजारदेखि १ किमि उत्तरपूर्व ‘कञ्चनगढ’ भन्ने पुरातात्त्विक ठाउँ छ, जुन मध्यकालतिर कर्णाटवंशी वा प्रारम्भिक समयका सेनराजाहरूको राजधानी रहेको मानिन्छ ।
रूपनगरको विष्णुमन्दिर सप्तरी जिल्लाको पुरानै मन्दिर भए पनि यो मन्दिर जिल्लाका केही महत्त्वपूर्ण मन्दिरहरूको तुलनामा प्रख्यात हुन सकेको देखिँदैन । जिल्लाकै सर्वाधिक सघन यातायात मानिएको महेन्द्र राजमार्गको छेवैमा अवस्थित भएर पनि यो मन्दिर आमदृष्टिमा पर्नबाट चुक्दै आएको छ ।
रूपनगरको विष्णुमन्दिर पनि उही राजमार्ग छेवैको कंकालिनी मन्दिर जतिकै अन्तरमा रहेको छ तर आम दृष्टिमा नपर्नुको कारण कंकालिनी मन्दिरको जस्तो खुलापनको अभाव हुनु हो । राजमार्ग छेवैको शम्भुनाथ बाबा मन्दिर राजमार्गदेखि केही परै रहेको भए पनि खुलापनकै कारणले पनि प्रख्यात हुन सक्यो । यो मन्दिर राजमार्गको कञ्चनरूप नगरपालिकामा अवस्थित छ । राजमार्गमा सप्तकोशी ब्यारेजदेखि करिब १५ किमिजति पश्चिम रूपनगर गाउँ पर्छ, जहाँ यो मन्दिर अवस्थित छ ।
राजमार्गको उत्तरी भाग चुरियाको फेदमा प्राचीन दरबारको अवशेष रहेको छ, जसलाई कञ्चनगढ भनिन्छ । इतिहासविद् दासका अनुसार कञ्चनगढ मध्यकालीन कर्नाटवंशी र पछिका सेनवंशी राजाहरूको दरबार रहेको थियो ।
झन्डै सय वर्षअघि कञ्चनगढ नजिकैको गाउँमा कुनै व्यक्तिले खनजोत गर्दा मूर्ति फेला पर्यो । त्यो शंख, चक्र, गदा, पद्म धारण गरेको भगवान् विष्णुको मूर्ति थियो । इतिहासविद् दासका अनुसार मूर्तिको आकार लम्बाई १.२३ मिटर र चौडाइ ६७ सेन्टिमिटर रहेको छ । यहाँ मन्दिरका लागि ४७ वर्षअघि (वि.सं. २०३५ सालमा) स्थानीय केशवप्रसाद उपाध्याय पोखरेलले भूमि प्रदान गरेका थिए भने हनुमाननगरका सीताराम काबराले विद्यमान मन्दिर निर्माण गराएका थिए ।
२०३८ सालतिर सप्तरी जिल्ला प्रहरी कार्यालयमा रूपनगरको विष्णु मूर्ति बिक्री गरी अर्को मूर्ति लगाएको भनी उजुरी परेको थियो । त्यसबारे प्रहरी प्रशासनले पुरातत्त्व विभागको छानबिनका लागि माग गरेको थियो । तर मूर्ति १३औँ शताब्दीको हो भनी किटान गर्न सकिने प्रतिवेदन आयो र विवाद सेलायो । रूपनगर मूर्ति जमिनमुनि गाडिएको अवस्थामा भेटिएको थियो । यस्तै केही वर्षअघि बोरिया गाविस अन्तर्गत जमिनमुनि गाडिएको मूर्ति फेला पर्यो । इतिहासकार दासले १३औँ शताब्दीतिर भारतको मुगल शासकले आक्रमण गरेर मन्दिरहरूको तोडफोड गर्ने, लुटपाट गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै त्यति बेला मन्दिरका पुजारीले मूर्तिहरूलाई माटोमुनि गाडेर रक्षा गर्ने गरेको अनुमान गरेका छन् । सप्तरी जिल्लामा ठाउँ ठाउँमा मूर्तिहरू यसरी जमिनमुनिबाट फेला परेका छन् ।
- राजाजी अर्थात् लक्ष्मीनारायण
राजविराजदेखि करिब १६ किलोमिटर पश्चिम मानराजा गाउँमा माटोको ढिस्कोको रूपमा कुनै ऐतिहासिक दरबारको अवशेष रहेको छ, जसलाई मानराजा गढी भन्ने गरिएको छ । सप्तरी जिल्लाकै ठुलो अवशेष मानिएको यो गढी १० कट्ठा जग्गामा फैलिएको छ । जमिनदेखि करिब १० देखि १५ फिटको उचाइमा रहेको यस गढीमा अति पुरानो एवं सामान्यभन्दा ठुला इँटा प्रयोग भएको देखिन्छ । यहाँ इँटा तथा माटाका भाँडावर्तनका टुक्राटुक्री भेटिएका छन् । गढीसँगै उत्तरतर्फ दुई बिघा जतिमा फैलिएको एक ऐतिहासिक पोखरी रहेको छ, जसलाई सुगापोखरी भनिन्छ । यस पोखरीको पश्चिमी किनारमा १० फिट व्यासको एक प्राचीन इनार रहेको छ । खानेपानी आयोजनाद्वारा उक्त इनारको जीर्णोद्धार गरिए पनि इनार प्रयोगमा आएन । यहाँ कतिपय पुरानो विश्वासको प्रभाव रहेको बताइन्छ ।
प्राचीन मिथिला राज्यदेखिकै हरेक राजवंशसँग सम्बन्ध गाँसिएका ऐतिहासिक मन्दिर, गढी तथा प्राकृतिक, पुरातात्त्विक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदाहरूको जगेर्ना हुन आवश्यक छ । वस्तुतः सांस्कृतिक जगेर्नाको वास्तविक कार्य पर्यटकहरूको भूमिकाबाट हुने गर्छ ।
गढीदेखि करिब २०–२५ मिटरपूर्व अति पुरानो इमिली (तित्री)को रूखमुनि छानाविहीन जीर्ण अवस्थाको मन्दिर छ । पश्चिमतर्फबाट प्रवेशद्वार रहेको यस मन्दिरको दुवैतर्फ आयताकार पत्थरहरूले पर्खाल ठड्याइएको छ भने रूखको फेदमा प्राचीन मूर्तिको अवशेष स्थापित गरी पूजापाठ गर्ने गरिएको छ ।
इतिहासविद् दासका अनुसार राजाजीको नामले पुजित यो मूर्ति लक्ष्मीनारायणको हो । मूर्तिको पादपृष्ठ टुटेफुटेको अवस्थामा छ । मुसलमानी आक्रमणमा मूर्ति तोडफोड गरिएको मानिन्छ । वि.सं. २०४५ मा पुरातत्त्व विभागको टोलीले अनुसन्धान गर्दा यस मन्दिरको भित्री भागमा पौराणिक इँटा प्रयोग गरिएको भेटिएको थियो । त्यसैले अर्को कुनै मन्दिरको भग्नावशेष हुन सक्ने उसले बताएको थियो । लोकदेव सलहेशको लोकगाथामा मानराजा गढीलाई तरेगना भनिएको पाइन्छ । सलहेश लोकगाथामा होरा, रेशमा, दौना र कुशमा नामक मालिनको वर्णन छ । राजा सलहेश घोडामा चढेर आफ्नी प्रेमिकासँग भेट्न तरेगना गढ आउने गरेको वर्णन सलहेश गाथामा गरिएको छ ।
- कुसमहारको लक्ष्मीनारायण मन्दिर
वैष्णव सम्प्रदायको यो मन्दिर कुसमहार गाउँमा छ । यो ठाउँ राजविराजदेखि करिब १८ किलोमिटर पश्चिम साबिक सारश्वर गाविस– ८ हाल बोदेबर्साइन नगरपालिका वडा ३ मा पर्छ । गाउँको पश्चिमी किनारमा अवस्थित यस मन्दिरले १५ कट्ठा जग्गा ओगटेको छ । मन्दिर हाल आधुनिक मुण्डेघरको आकृतिमा निर्माण गरिएको छ । मन्दिरको नाउँमा १६ बिघा जग्गा गुठीको रूपमा दर्ता रहेको भनिन्छ । मन्दिरको रेखदेख र पूजा गर्न पुजारीको व्यवस्था गरिएको छ ।

कुसमहार गाउँका मन्दिरमा कालो प्रस्तरमा कुँदिएको लक्ष्मी तथा सरस्वतीका साथ विष्णुको अति मनोरम मूर्ति प्रतिस्थापित गरिएको छ । मूर्तिको अनुहारको भाग तथा विष्णुको कुहिनादेखि मुन्तिरको भाग तोडिएको छ । त्रिभंग मुद्रामा उभिएका लक्ष्मी तथा सरस्वतीका अनुहार पनि त्यसै रूपमा देखापर्छन् । अन्य मूर्ति खण्डित देखिँदैन । यसो हेर्दा सुनियोजित तरिकाले मूर्तिमा तोडफोड गरेको देखिन्छ । अन्यथा, कुनै अरू प्राकृतिक कारणले टुटेफुटेको भए मूर्तिका अन्य भागहरू पनि प्रभावित हुनुपर्ने थियो । मूल मूर्तिको लम्बाइ–चौडाइ ७४ गुणा ७६ सेमि रहेको छ ।
यस मन्दिरका सम्बन्धमा पुरातत्त्व विभागको प्रतिवेदनमा यसरी लेखिएको छ, ‘मन्दिर अवस्थित भूभाग वरिपरिका अन्य खेतीयोग्य सतहभन्दा माथि उठेकोले हाल मन्दिर अवस्थित जग्गामुनि प्राचीन मन्दिरको भग्नावशेष रहेको प्रतीत हुन्छ ।’
माथि उल्लिखित कुराले के सिद्ध गर्छ भने कुसमहार गाउँको वर्तमान मन्दिर कुनै ऐतिहासिक भग्नावशेष देवलमाथि अवस्थित छ । जसले यस मन्दिरको प्राचीनता प्रमाणित गर्छ ।
मन्दिरको प्राचीनताको विषयमा अर्को पनि प्रमाण छ । मन्दिरभित्र स्थापित मूल मूर्ति समेत अरू मूर्ति कालो प्रस्तरमा कुँदिएका छन् । प्रस्तरको रङ–रूप चिल्लो देखिन्छ । यस मूर्तिको तुलना पनि सिम्रौनगढका कालो चिल्लो प्रस्तरका मूर्तिहरूसँग गर्न सकिन्छ । तसर्थ मूर्तिकलाको हिसाबले यो मूर्ति मध्यकालतिरको ठहरिन्छ, कारण सेनपाल शैलीमा मूर्तिको निर्माण गरिएको देखिन्छ, जसको समय १२औँ शताब्दी थियो । जहाँसम्म मूर्तिको अंगभंगको कुराको प्रश्न छ, माथि नै लेखिए अनुसार सुनियोजित ढंगले गरिएको बुझिन्छ । कुनै पनि हिन्दु भक्तजनद्वारा यो काम गरेको सोच्न सकिँदैन । आधुनिक समयमा मूर्ति चोरिन्छ तर तोडफोड गरिँदैन भने कुसमहार गाउँको मूर्तिको तोडफोड कसरी भयो प्रश्न स्वतः उब्जिन्छ । सप्तरीका अरु मन्दिरझैँ विदेशी आक्रमणकारीद्वारा यस गाउँको मूर्ति पनि तोडिएको अनुमान गरिन्छ ।
- रामनगरको लक्ष्मीनारायण मन्दिर
रामनगरको लक्ष्मीनारायण मन्दिर हाल निर्माणाधीन अवस्थामा भए पनि यस मन्दिरमा स्थापना हुने मूर्ति ऐतिहासिक हो । एक दशकअघि यहाँ नजिकै रहेको पोखरीको जीर्णोद्धार गरिँदा यो मूर्ति फेला परेको थियो । मूर्ति फेला परेको यत्तिको समय भइसक्दा पनि यसको प्रामाणिक अध्ययन हुन सकेको छैन । रामनगरको मूर्ति रूपनगर, कुसमहार र मानराजाको मूर्तिकै समान कालो प्रस्तरको मात्र होइन, समान आकार–प्रकार तथा आकृतिको रहेको देखिन्छ ।

मन्दिर निर्माण हुँदै गरेको स्थान भने पुरानो रामजानकी मन्दिर हो । सोही रामजानकी मन्दिरको गर्भगृहमै लक्ष्मीनारायणको प्रतिमा राखी पूजाअर्चना गर्ने गरिएको छ ।
यस मन्दिरको परिसरमा हाल डबरा आकारको पुरानो पोखरी छ । यस पोखरीमा सधैँ कमल फुल्छन् । यसै पोखरीको पूर्वी डिलसँगै लक्ष्मीनारायण मन्दिर निर्माण भइरहेको छ । मन्दिरको रूपरंग हेर्दा निकै आकर्षक र मनोरम लाग्छ ।
रूपनगर, मानराजा, कुसमहार र रामनगरको गरी चारवटै लक्ष्मी नारायणको मूर्ति एकै प्रकारको र एकै समयको रहेको देखिन्छ । इतिहासविद् हरिकान्त लाल दासले रूपनगर, मानराजा, कुसमहारका मूर्तिलाई समकालीन भनिसकेका छन् । रामनगरको मूर्तिको प्राविधिक अध्ययन नभए पनि मूर्तिको किसिम र आकृति उपरोक्त मूर्तिहरूसँग मिल्ने भएका आधारमा यी चारवटै मूर्ति समकालीन भएको मान्नैपर्छ ।
इतिहासकारले यी मूर्तिको निर्माण ११औँदेखि १२औँ शताब्दीतिर भएको बताएका छन् । ११औँ शताब्दीयता सप्तरी भूभागमा पाल, सेन, कर्नाट, ओइनवार, द्रोणवार र पुनः सेनहरूले शासन गरेको इतिहास छ । यी सबै हिन्दु राजा थिए । त्यसैले यिनीहरूमध्ये कुनै पनि वंशका राजाको शासनकालमा यी मूर्ति निर्माण भएको अनुमान गर्न सकिन्छ तर मूर्तिहरूमाथि मुसलमान शासक गयासुद्दिन तुगलकले ई.सं. १३२५ तिर आघात गरेकाले यी मूर्ति त्यसअघि नै स्थापित भएको भन्नुपर्छ ।
प्राचीन मिथिला राज्यदेखिकै हरेक राजवंशसँग सम्बन्ध गाँसिएका ऐतिहासिक मन्दिर, गढी तथा प्राकृतिक, पुरातात्त्विक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदाहरूको जगेर्ना हुन आवश्यक छ । वस्तुतः सांस्कृतिक जगेर्नाको वास्तविक कार्य पर्यटकहरूको भूमिकाबाट हुने गर्छ । त्यसैले पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधारको विकास गर्ने गरिन्छ । जहाँसम्म यी चार मन्दिरको सन्दर्भ छ,
तिनमा रूपनगरको विष्णु मन्दिर अत्यन्त आकर्षक भएर पनि भक्तजनलाई आकर्षित गर्न सकेको छैन । यहाँ पर्यटकीय धार्मिक सांस्कृतिक क्रियाकलाप हुन आवश्यक छ ।
रामनगरमा फेला परेको लक्ष्मीनारायण मूर्तिको पुरातात्त्विक अध्ययन हुन बाँकी मात्र छैन, बल्की निर्माणाधीन मन्दिरको बाँकी रहेका निर्माण कार्य पनि लामो समयदेखि अवरुद्ध भएर रहेको छ । यसर्थ यी दुवै कार्यमा तदारुकता आवश्यक छ ।
मानराजामा गढीको साइनबोर्ड पनि ढलेको अवस्था छ । सुगा पोखरीसहितको गढीको क्षेत्रलाई पर्यटकीय उद्यान तथा संग्रहालय बनाउन र राजाजीको सुन्दर मन्दिर निर्माण हुन आवश्यक छ ।
त्यस्तै, कुसमहारको लक्ष्मीनारायण मन्दिरको निर्माण तथा अन्य संरचनात्मक कार्यका साथै हुलाकी सडकदेखि मन्दिरसम्मको सडक निर्माण आवश्यक छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण