शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक

हो उनी अक्षरमा जीवितै छन्

शनिबार, १० साउन २०८२, १५ : ००
शनिबार, १० साउन २०८२

धेरै दिनदेखि म आश्चर्यमा छु । बेलाबेला यसरी आश्चर्यमा परिरहन्छु । कहिलेकाहीँ त एउटै कुराले निकै दिन सोच्ने बनाउँछ । हिजोआज म मृत्युको विषयमा छु । भन्छन्, मृत्यु एकदम कठोर हुन्छ, क्रूर हुन्छ । भयभीत पार्ने डरलाग्दो हुन्छ । 

उसो भए हामीले बुझेको मृत्यु के साँच्चै डरलाग्दो छ त ? तब मेरो मनमा प्रश्न उठ्छ । खै कसले देखेको छ मृत्यु ? मृत्यु यस्तै हुन्छ भनेर कसले जानेको छ ? कुन रङ्ग रोगन अर्थात् कुन आकृतिको हुन्छ मृत्यु ?

दृश्यमा कहीँ नदेखिने कुरा कल्पना गरी किन भड्किन्छ मान्छे ? जो जन्मिन्छ आखिर उही मर्छ नि त ! नजन्मनेलाई मर्ने अवसर कहाँ रहन्छ ! मर्नु भनेको त जीवनले पूर्णता पाउनु हो । उसको हिँड्ने मार्ग टुङ्गिनु हो । के जीवनको सत्य यही होइन र ?

सत्यतादेखि भड्किएर त्रासदीमा किन बाँच्ने ? काँतर भएर बाँच्न किन बिर्सिने ? स्विकारौँ न बरु मृत्युलाई । ‘एक दिन मर्दै छौँ’ भन्ने चेतले बरु बाँचौँ न बाँच्न नबिर्सिएर । बाँच्न नजानेर जीवनभर बाँच्नभन्दा एकै निमेष सही, ‘म बाँच्दै छु’ भनेर बाँचौँ न । 

बाँच्न जानेर बाँच्नु, म एक दिन मर्दै छु भनेर बाँच्नु— त्यही एक निमेष पर्याप्त हुनेछ । आखिर बाँच्नु त त्यही एक निमेष त हो नि ? त्यसभन्दा बढी कसले बाँचेको छ र ? त्यही निमेषमा हामी बाँच्दै हुन्छौँ र मर्दै पनि ।

चाहेर नचाहेर पनि त्यो सत्य घट्छ भने अस्वीकार किन ? अस्वीकार दुःख हो । अस्वीकार पीडा हो, व्याकुलता हो । हाम्रो पूर्वीय दर्शन यही भन्छ । अनि भन्छ मृत्यु जीवनको रूपान्तरण हो,  परन्तु अन्त्य होइन । देह निष्प्राण हुन्छ त्यो हुन्छ नै तर ऊर्जा अहँ निष्प्राण हुँदैन । 

भन्न त आखिर सबै यही भन्ने गर्छन्— मृत्यु जहिल्यै बाँच्नेहरूका लागि हो मर्नेका लागि होइन । त्यस्तै जन्मिनेहरूका लागि हो अजन्मालाई होइन । मृत्यु त्यहाँ सम्भव छ जहाँ जन्म र जीवन छ तर भन्नुजस्तो सजिलो त कहाँ छ र फेरि स्विकार्न ?

फेरि पनि मलाई कस्तो अचम्म लागिरहेछ भने हामी जीवनभर मृत्युसँग डराइरहेका हुन्छौँ तर मृत्युकै क्षण मृत्युसँग किन कोही डराइरहेको हुँदैन ? मर्दै छु भनेर किन कोही विलाप गरिरहेको हुँदैन ? लाग्छ, ‘म मर्दै छु’ भन्ने पनि सायद मर्नेलाई थाहा भएको हुँदैन ।

कस्तो विडम्बना ! जुन कुरा (मृत्यु)ले बाँचुन्जेल पीडा दिन्छ, त्यही कुरा अन्ततः किन मूल्यहीन हुन्छ ? किन भयहीन हुन्छ ? किन साधारण हुन्छ ? अनि त लाग्यो, असाधारण भन्नु पनि बाँच्नेकै लागि मात्र रहेछ । शोक पनि बाँच्नेकै लागि रहेछ । मरेर जानेको सम्झना पनि बाँच्नेका लागि रहेछ । ऊ मरेर जान्छ अनि मृत्यु पीडा बाँच्नेलाई दिएर जान्छ । मर्नेले खै कहाँ गरेको छ आफ्नो शोक ? ‘म मरेँ’ भनेर खै कसले भनेको छ र ? लाग्छ, उसलाई त आफू मरिसकेको पनि थाहा छैन । ऊ मरेको त आखिर अरूले नै थाहा पाउने रहेछ, परन्तु उसले होइन ।

पृथ्वीका करोडौँ मान्छेमा एउटा मान्छेको मृत्यु समग्रमा हेर्दा एउटा सामान्य घटना हो तर आत्मीयहरूका निम्ति त्यो करोडौँमा एक हुँदैन, एउटैमा एक हुन्छ । करोडौँमा एकको मृत्यु भए पनि कसैका एक मात्र पितृको देहान्त भएको हुन्छ, पत्नीको एक मात्र पतिको वियोग भएको हुन्छ, कसैको एक मात्र मामाको मृत्यु भएको हुन्छ ।

‘असाधारण व्यक्तित्वका धनी भवानी ढुङ्गेल’ स्मृति ग्रन्थको अध्ययन गर्दा मनमा यस्ता अनेक विचार हुँडलिएर आए । चोला उठाएर जानेको नाउँमा जीवितहरूले गरेको स्मृतिको सँगालो, जसमा म यसरी डुबेँ छु मृत्यु सन्दर्भमा । जीवन पाउनुभन्दा पनि विशेषतः बाँच्न जान्नु महान् कुरा रहेछ । मरेर जाँदा भोलि सम्झना राख्न सक्ने गरी बाँच्नु ठुलो कुरा रहेछ । भवानी ढुङ्गेलका स्मृतिमा अहिले यस्तै बोध भएको छ । 

जीवनमा ठुलो मानिस हुने प्रयास त धेरैले गर्छन् तर असल हुने प्रयास किन कोही थोरैले मात्र गर्छन् ? भरे स्मृतिमा बाँच्ने त तिनै असल मानिस रहेछन् । जनप्रिय हुने पनि तिनै रहेछन् । ठुलो हुनुभन्दा असल हुनु कति उदाहरणीय कुरा रहेछ ! 

साधारण जीवन बाँचेका ढुङ्गेल (१९६२–२०२३) को व्यक्तित्वले यही कुरा देखाएको छ । भाषा, साहित्य, संस्कृतिको समुन्नतिमा लागेका ढुङ्गेल एक समाजसेवी पनि हुन् । एक शिक्षित, सचेत व्यक्तित्व, उदार व्यक्तित्व पनि । उनका यस्तै गुणी चरित्रलाई लिएर उनका स्मृतिमा एक सय दशवटा रचना लेखिएका छन् । ६२ वटा आलेख तथा श्रद्धाञ्जली नेपाली भाषा प्रस्तुतिका छन् । अठारवटा रचना असमेली भाषाका छन् । त्यस्तै अङ्ग्रेजीका तीसवटा रहेका छन् । त्यसपछि लेखक स्वयंका लेख, कथा, लघुकथा र कविता रहेका छन् । हिन्दी, अङ्ग्रेजी, नेपाली, असमेली चारवटै भाषामा उनको कलम समान रूपले चलेको देखिन्छ । स्मृति आलेख तयार गरेका स्रष्टाहरूको तस्बिर अनि ढुङ्गेलका पारिवारिक तस्बिर त्यस्तै साहित्यिक कार्यक्रममा संलग्न हुँदाका तथा सम्मानित हुँदाका केही तस्बिर र आखिरी पृष्ठहरूमा सम्मानपत्रहरू समाविष्ट छन् । 

असम राज्यको पश्चिम कार्बिआङ्लङ जिल्लाको उम्पनाईमा जन्मिएका ढुङ्गेल । एक सामान्य परिवारमा बडो सङ्घर्षले निर्मित उनको शिक्षित व्यक्तित्व । शिक्षण पेसामा लामो समय कार्यरत उनको जीवन हामी सबैका लागि प्रेरणादायी छ । समाजलाई उनले छाडेर गएको असल सन्देश, वर्तमान समयमा मानव हुनका लागि नभई नहुने किसिमको उल्लेख्य छ । 

सेवा नै धर्म हो, उदारता नै मानवता हो । समय सचेतता नै जीवनको सही मूल्य हो जस्ता उनका विचारहरू कति समय सान्दर्भिक लाग्छन् । स्थानीय विद्यालयबाट प्राथमिक तथा म्याट्रिक शिक्षा आर्जन गरी, विश्वनाथ कलेजबाट उच्च शिक्षित भई त्यागवीर हेम बरुआ कलेजबाट स्नातकसम्मको अध्ययन गरेका शिक्षाप्रेमी ढुङ्गेलले गुवाहाटी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

एक शिक्षित परिवार । ढुङ्गेलकी श्रीमती रेणु पाण्डेले आफ्ना श्रीमान्लाई अक्षरमा सुरक्षित राख्न गरेको प्रयास कति अनुकरणीय छ । आफ्ना श्रीमान्को भाषा–साहित्यप्रतिको रुचिलाई गरिएको सम्मान कति स्तुत्य छ । श्रीमान्को भौतिक देह नहुनुको पीडालाई स्विकारेर उनले पतिको व्यक्तित्वलाई अक्षरमा, भावमा, शब्दमा मूर्तता दिएकी छन् । आफ्ना पतिको अनुपस्थिति क्षतिपूर्तिस्वरूप स्मृति ग्रन्थ प्रकाशमा ल्याउनु एउटा दृष्टान्त बनेको छ ।

book

स्मृतिग्रन्थको समग्रतालाई जोड्दा ढुङ्गेलको व्यक्तित्वले एउटा आकार लिएको छ । उनलाई स्मरण गर्नेहरूको एउटै साझा आवाज छ— उनी सरल थिए, सहृदयी थिए, कर्ममा विश्वास गर्ने परिश्रमी थिए । भलाइ चेत भएका सहयोगी थिए, हार्दिक थिए । विभिन्न संघ–संस्थामा आबद्ध ढुङ्गेल ‘असम नेपाली साहित्य सभा’को आजीवन सदस्य पनि थिए । त्यस्तै ‘गोर्खा सुरक्षा परिषद’को पनि सदस्य थिए ।

सिक्किम, असम, दार्जिलिङ, मणिपुरदेखिका विद्वान्–विदुषीका लेखहरू सङ्ग्रह गरिएको ग्रन्थमा कति ढुङ्गेलका प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तित्वहरू छन् भने कति सम्पर्कमा नरहेका व्यक्तित्वहरू पनि । ढुङ्गेलबारे ती आलेखले प्रायः उस्तैउस्तै कुरा बोलेका छन् । ग्रन्थको आरम्भमै घनश्याम अधिकारीको स्मृति लेख रहेको छ, ‘सम्झनाका साथी भवानी’ । 

अधिकारीले ढुङ्गेलको साहित्यिक सन्दर्भबारे पनि केही कुरा उठाएका छन् । अरू लेखकले पनि यस सन्दर्भलाई जोडेका छन् ।

आफ्नो जातिको उन्नतिमा सक्दो सेवा गरेका भवानी यस स्मृति ग्रन्थका शब्दशब्दमा सम्मानित छन् । शब्दले उनको बडो इज्जत गरेका छन् । अब यिनै शब्दमा उनी बाँच्नेछन् । यिनै शब्दमा आदर्श पुरुषका रूपमा परिचित उनी अमर भएका छन् ।

आखिर जीवन जसरी पनि बित्नेछ । उसो भए नराम्रोसँग किन बिताउने ? बरु असल भएर बिताउने, उदाहरणीय भएर बिताउने, एक दिन इहलीला समाप्त हुँदा लोकले बिर्सिन नसक्ने गरी बिताउने, लोकको सम्झनामा आउने गरी बिताउने, हो यसैको दृष्टान्त बनेका छन् ढुङ्गेल । 

दुई छोरी अनुपमा र कृपादेवी अनि पुत्र किरणका पिता ढुङ्गेल । नेपाली भाषा, साहित्य र संस्कृतिमा आफ्नो चिनारी सुरक्षित गर्नुपर्छ भन्ने मान्यता भएका ढुङ्गेल । उनलाई आफ्नो जातिप्रति बडो गर्व थियो । उनका बारेमा अरूले गरेका स्मृति पढ्दै गर्दा एक दिन हामी सबै स्मृतिमा रहनेछौँ अर्थात् एक दिन हाम्रो पनि चोला उठ्नेछ जस्तो एउटा आभास भयो । त्यसो भए भोलि समाजले स्मरण गर्न लायक जीवन हामी किन नबाँच्ने ? हामीले आजैदेखि त्यसरी बाँच्न सुरु गर्नुपर्छ । नत्र समाजले आउँदा दिनमा हामीलाई के भनेर सम्झिने ?

जीवनको अन्त्यपछि फेरि पनि अर्को जीवन रहेछ नि ! स्मृतिमा बाँचिरहने जीवन । टीका ढुङ्गेल, पशुपति खनाल, राजेन्द्र ढकाल, गंगाराम ढुङ्गेल, राहुल राई, विक्रमवीर थापालाई पढिसकेपछि जीवन लामाको रचनामा म केहीबेर रोकिएँ । त्यहाँ उनले ढुङ्गेलबारे अलिकति भिन्न कुरा राखेका छन् । युक्तिका आधारमा तर्क राख्ने तथा यथार्थवादी, आधुनिक तथा प्रगतिशील विचारधाराको वाहक अनि मानवताको प्रतिपादकका रूपमा ढुङ्गेलाई उनले लिएका छन् । 

स्मृतिग्रन्थमा ढुङ्गेलको स्मृतिदेखि अरू पनि केही कुरा रहेका छन् । गणेशकुमार प्रधानको ‘स्व. भवानी ढुङ्गेलप्रति श्रद्धा सुमनस्वरूप दुई शब्द’मा सम्पूर्ण भारतीय नेपालीको सिङ्गो तर संक्षिप्त आवाज व्यक्त गरिएको छ । उनीहरूले आफ्नो जातीय पहिचानका लागि गरेको सङ्घर्ष कति ठुलो छ । प्रधानले सुरुमै भनेका छन्, ‘हाम्रो विशाल भारत वर्षको विभिन्न राज्यमा वर्षौंदेखि बसोबास गर्दै आइरहेका गोर्खा जातिको आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृतिलाई जिउँदो राख्न र भारतवर्षकै निर्माणमा गोर्खा जातिले प्रदान गर्दै आएका अवदानलाई मूल्याङ्कन गर्दै भारत वर्षको अरू जातिलाई पनि यसप्रति सचेत गराउन गोर्खा जातिलाई सङ्गठित बनाउँदै एक सूत्रमा बाँध्ने लक्ष्य लिएर भारतीय गोर्खा परिसङ्घको स्थापना सन् २००१ मा भएको हो’, (पृ–४९) ।

देशका निम्ति, जातिका निम्ति समयले बलिदान माग्दा आहुति दिन सक्नुपर्छ भन्ने चेतका ढुङ्गेल । जोसिलो भाव भएको एक कवितामा उनी भन्छन्, देश सङ्ग्लिनलाई हे युवा हो ज्वालामा होमिनुपर्छ, खरानी भई अरूलाई चम्काउनुपर्छ । यसरी उनी युवा पिँढीलाई आह्वान गर्थे भनी तिलक खनाल बताउँछन् । 

तीव्र राष्ट्रवादी तथा मैत्रीभाव भएका ढुङ्गेल असत्यविरुद्ध, निरङ्कुशताविरुद्ध बोल्ने एक निर्भीक व्यक्तित्व हुन् । बाल्यकाल, किशोरकाल हुँदै उनको पछिल्लो जीवनले एउटा प्रभाव छाडेको छ । घर–परिवार आफन्त, छिमेकी, साथीभाइ, विद्यार्थी उनी सबैका प्रिय छन् । नित्य सकारात्मक दृष्टि राख्ने उनी अहङ्काररहित छन् । 

हाम्रो समाजमा धेरै जीवन समय चेतको अभावमा बर्बाद हुने गर्छन् तर ढुङ्गेल समयप्रति निकै होसपूर्ण छन् । उनका विद्यार्थीले उनको त्यो सचेततालाई बेलाबेलै स्मरण गरेका छन् । चाकडी, चाप्लुसी नरुचाउने एक निष्ठावान्, चरित्रवान् व्यक्ति; उच्च मनोबल भएका व्यक्ति । यहाँ शिक्षकको दृष्टिले चिनिएका, सहकर्मीको दृष्टिले चिनिएका, आफन्त तथा छिमेकीको दृष्टिले चिनिएका, पिता र पतिको दृष्टिले चिनिएका, मित्रका दृष्टिले चिनिएका, समाजसेवीका दृष्टिले चिनिएका— उनी सबैका लागि आदरयोग्य छन् । 

जीवनको अन्त्यपछि बाँकी रहने भनेको सम्झना मात्रै रहेछ । अरू थोक सबै नामेट हुने रहेछ । स्वर्गे भएका आफ्ना भाइको स्मरणमा पद्मा देवी भन्छिन्—

ओखर फुटाएर के भयो ?

मैले जहाँ माइती जीवित राख्नै सकिनँ

सयपत्री फूल र मखमली फूल उनेर के भयो र 

नयनमा आँसु सुक्नै सकेनन्, (पृ. १११) ।

हो, मृत्युलाई कसैले पनि रोक्न सक्दैन । बस् स्विकार्नु मात्रै छ । एउटा पखेटा काटिएकी पक्षी अब एउटै पखेटामा निर्भर रहनुछ । ढुङ्गेलकी धर्मपत्नी रेणु पाण्डेको आलेखमा मलाई त्यही पखेटा काटिएकी पक्षीको झल्को आयो । ‘कागजमा लेखेर विवरण गर्न सकिँदैन’मा कर्मप्रति सदा उत्तरदायी आफ्ना पतिको वाणी सम्झिँदै उनी भन्छिन्, ‘कर्म नै धर्म हो र जुन कर्म भगवान्ले दिएका छन्, ती सबैलाई निःस्वार्थ र निष्ठापूर्ण भएर गर्नुपर्छ, समयको मूल्य राखेर काम गरी भाग्य र सम्मान आफैँ बनाउनुपर्छ’, (पृ. ११४) ।

श्रीमान्का ती कर्मवादी चेतले प्रभावित उनी फेरि अगाडि केही थप्छिन्, ‘त्यसै कारणले होला, म यो दुःखको घडीमा पनि मुटु र मनलाई सम्हाल्दै निष्ठा र पवित्र मनले आफ्नो कर्म गर्दै छु ।’

भवानी ढुङ्गेलका नाममा गरिएका स्मृतिहरू पढ्दा म यस्तो प्रभावमा परेँ छु कि उनी मेरो चिनजानकै व्यक्ति हुन्जस्तो आभास भएको छ । तथापि उनीसँग मेरो भेट भएको होइन । पठित, संस्कारिक एउटा सुन्दर परिवार । एलएलएम गुवाहाटी युनिभर्सिटीमा अध्ययनरत अनुपमा देवी आफ्ना पितालाई अक्षरका पुष्पगुच्छा चढाउँदै भन्छिन्, ‘बाबा ! तपाईंको यादमा बिताएका ती दिन, सुनौला र मनोरम समय म यो सेतो कागजमा काला अक्षरले लेखेर तपार्इंको यादमा केही उपहार दिँदै छु’, (पृ. १४०) ।

अग्रगामी चेत भएका ढुङ्गेल । ‘अनुशासन नभए जीवन अधुरो हुन्छ,’ उनको यस भनाइ सम्झिँदै उनका शिष्यशिष्याहरू गुरुको मार्गदर्शनमा आफूले राम्रो बाटो लिएको महसुस गरेका छन् । उनलाई गुरुको रूपमा पाउँदा गर्व अनुभूति गरेका छन् । 

‘असाधारण व्यक्तित्वका धनी भवानी ढुङ्गेल’ स्मृति ग्रन्थको अध्ययन गर्दा मनमा यस्ता अनेक विचार हुँडलिएर आए । चोला उठाएर जानेको नाउँमा जीवितहरूले गरेको स्मृतिको सँगालो, जसमा म यसरी डुबेँ छु मृत्यु सन्दर्भमा । जीवन पाउनुभन्दा पनि विशेषतः बाँच्न जान्नु महान् कुरा रहेछ ।

शाश्वत भएर पनि स्विकार्न नसकिएको सत्य तर समयले एक दिन जसरी पनि स्विकार्न लगाएरै छोड्छ, मानिसले नरुचाए पनि । ‘कुनै पनि जीवित देहको प्राणले एक न एक दिन देह त्याग गर्छ नै’ मालती कौशिक शर्माले यसरी मामाको देहावसानमा चित्त बुझाउने कोसिस गरेकी छन् । सत्य स्विकार्ने चेष्टा गरेकी छन् आफ्नो आलेखमा । मामाको स्मृतिमा उनको अभिव्यक्ति मलाई पहिलोचोटि थाहा पाएको सत्यजस्तै मार्मिक लाग्छ, ‘पृथ्वीका करोडौँ मान्छेमा एउटा मान्छेको मृत्यु समग्रमा हेर्दा एउटा सामान्य घटना हो तर आत्मीयहरूका निम्ति त्यो करोडौँमा एक हुँदैन, एउटैमा एक हुन्छ । करोडौँमा एकको मृत्यु भए पनि कसैका एक मात्र पितृको देहान्त भएको हुन्छ, पत्नीको एक मात्र पतिको वियोग भएको हुन्छ, कसैको एक मात्र मामाको मृत्यु भएको हुन्छ, एक मात्र काका, भिनाजु, मीत, ज्वाइँ आदिको मृत्यु भएको हुन्छ । एउटा मृत्यु भनेको धेरै साइनोहरूको समाप्ति हो । भवानी ढुङ्गेलको मृत्यु पनि विश्वका लागि करोडौँमा एउटा मानिसको मृत्यु होला तर मेरा एकजना मामाको देहावसान हो । मेरा लागि एउटा जीवन्त साइनो गुमाएको दुःखद अनुभव हो’, (पृ–१५७) ।

हामी सबै मिलेर अब अर्को सत्य स्विकारौँ । आज ढुङ्गेलको स्मृतिमा हामी केही लेख्दै छौँ । त्यस्तै, भोलि भएर आउने कुनै दिन फेरि हाम्रो स्मृतिमा पनि अरू कसैले केही सम्झिएला । हो, त्यो मृत्युलाई सहजै स्विकार्ने मानसिकता हामी तयार गर्दै जाउँ, तब बाँकी जीवन अझ सुन्दर होला, अझ धेरै अर्थपूर्ण होला । विश्वस्त रहौँ, गन्तव्य नपुगुन्जेल स्वयं मृत्युले हामीलाई संरक्षण दिइरहनेछ, असमयमा मृत्यु भोग्नबाट बचाएर । ऊ हाम्रै पछिपछि बडो सचेत भएर हामीलाई नै पछ्याइरहेको छ । रखबारी गर्दै पछ्याइरहेको छ । 

अर्को कुरा, हामीले बोध गर्नुपर्ने के छ भने ढुङ्गेल हामी माझ नभए पनि, उनको देहावसान भए पनि उनको व्यक्तित्वको कदाचित अवसान हुनेछैन । उनको व्यक्तित्वले किमार्थ मृत्यु भोग्नेछैन । यसबाट अर्को के शिक्षा मिलेको छ भने हामी असल भएर बाँच्न सक्यौँ भने अन्ततः आफ्नै व्यक्तित्वले हामीलाई जीवितता दिइराख्नेछ ।

स्मृति गर्ने अभिव्यक्ति कला तथा माध्यम एउटा ठुलो कुरा हो । स्मृति कलाले स्मृति नायकलाई एक निमेष पनि मर्न नदिँदो रहेछ । हेर्नु न ताजमहलले मुमताजलाई एक क्षण पनि भुल्न दिएको छैन, स्वयं शाहजहाँलाई बिर्सिन दिएको छैन । त्यस्तै ढुङ्गेलको स्मृति ग्रन्थले पनि उनलाई बिर्सिन दिएको छैन । उनी स्वयं आफ्नै अक्षर (साहित्य)मा बाँचिरहेका छन्, त्यस्तै अरूका अक्षर (स्मृति) मा पनि बाँचिरहेका छन् । उनको सम्झनामा केही कविताहरू पनि रचिएका छन् । तुल्सीराम न्यौपाने, प्रियङ्का जोशी, बिन्दु भट्टराई, मनुज विष्टका स्मृति कवितामा पनि उनी जीवितै रहेका छन् । 

त्यसपछि असमिया भाषाका स्मृति रचनाहरू रहेका छन् । फेरि त्यसपछि अङ्ग्रेजी भाषाका समाविष्ट छन् अनि स्वयं ढुङ्गेलका केही सिर्जनाहरू उल्लेख गरिएका छन् । उनका लेख–रचना, कथा, डायरी र कविताहरू । नेपाली, हिन्दी, अङ्ग्रेजी, असमिया चारवटा भाषामा रचिएका उनका सिर्जनाले उनी बहुभाषी साहित्यकार रहेछन् भन्ने पनि थाहा हुन्छ । 

एउटा अनुभूतिसहित अन्त्यमा पुग्दा साहित्यमा, कलामा, सङ्गीतमा बाँच्नेहरूको मृत्यु कहीँ नहुँदो रहेछ भन्ने लाग्दै छ । हो, ढुङ्गेलको मृत्यु पनि यहाँ मैले कहीँ देखिनँ । उनी यिनै शब्द–शब्दमा सदा जीवित रहनेछन् । उनी आफैँ बाँचेका छन् । उनलाई घर–परिवार, आफन्त, मित्र, गोत्र सबै मिलेर एक–एक अक्षरमा बचाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिता पन्थी
अनिता पन्थी
लेखकबाट थप