शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मेची भन्सार

चिया निर्यातमा ३२ प्रतिशत वृद्धि, एक वर्षमा ४ अर्बभन्दा बढीको व्यापार

आइतबार, ११ साउन २०८२, ०४ : ५९
आइतबार, ११ साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
  • कार्यालयको तथ्याङ्क अनुसार चिया निर्यात अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढेको छ।
  • यद्यपि, अलैँचीको निर्यातमा भने गिरावट आएको छ, तर अन्य वस्तुहरूको निर्यात बढेको छ।

झापा। आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि असार मसान्तसम्मको अवधिमा रु ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार सो अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात गरिएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने रु ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको मात्र चिया निर्यात भएको थियो।

यद्यपि, चियामा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ। २०८१/८२ मा रु ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो, जबकि २०८०/८१ मा सो रकम रु ७ अर्ब ९३ करोड ९ लाख ९० हजार थियो।

अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको निर्यात २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ।

तर, सिमेन्ट क्लिङ्करको निर्यातमा १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतको गिरावट आएको छ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न मालवस्तु निर्यात भएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप