बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कर्णालीका नेतालाई ओलीको निर्देशन: ‘हावाको झोक्काको पछि होइन, पार्टी निर्माणमा लाग्नुहोस्’

विद्यालाई लक्षित गर्दै भने– 'सम्मानित व्यक्तित्व लहडको पछि लाग्नु सिङ्गो एमालेका लागि दुःखद'
आइतबार, ११ साउन २०८२, ०७ : ३४
आइतबार, ११ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका केन्द्रीय सदस्यहरूलाई पार्टी निर्माणमा एकजुट हुन निर्देशन दिए।
  • ओलीले पार्टीभित्रको अस्थिरतालाई सामान्य झोक्काको संज्ञा दिँदै नेताहरूलाई जिम्मेवारीमा लाग्न आग्रह गरे।
  • कर्णाली प्रदेशका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउँदै 'मिसन ०८४' मार्फत देशकै पहिलो शक्ति बनाउन ओलीको नेतृत्व आवश्यक रहेको बताए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

भर्खरै सम्पन्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश प्रवाह गरेकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले सङ्घर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केहि असर नपार्ने स्पष्ट पारे ।

‘सिङ्गो एमाले पार्टी र हामी पार्टीका नेताहरू सङ्घर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामान गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ’ बैठकमा प्रधानमन्त्री  ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अलमलिनु भन्दा आ–आप्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय कामहरू देखेर अत्तालिएका शक्तिहरूकै कारण पार्टी भित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिङ्गो एमालेका लागि दुःखद कुरा भएको बताएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले जानकारी दिए ।

‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिङ्गो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम उपराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ’, उनले थपे, ‘लामो समय जारी राजनीतिक सङ्घर्षको उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’

देशकै अभिभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण नवौँ केन्द्रीय कमिटी मार्फत एमाले पछिल्लो निर्णयमा पुग्नु परेको बताउँदै अध्यक्ष ओलीले कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न एक सुत्रीय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए । 

आफूले पार्टीको नेतृत्व सम्हालेको समय देखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने रु कसरी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्नु भएका ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिए । 

बैठकमा एमाले कर्णालीका नेताहरूले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको सङ्गठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तुहरू राखेको एमाले कर्णाली इन्चार्ज बोगटीले जानकारी दिए । 

उनका अनुसार नवौँ केन्द्रीय कमिटी बैठक पछि एकताबद्ध रूपमा पार्टी अध्यक्ष समक्ष गहन छलफल गर्ने पहिलो प्रदेशका रूपमा रहेको कर्णालीले पार्टीलाई एकताबद्ध बनाउदैं मिसन ०८४ मार्फत देशकै पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य भएकोमा जोड दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप