बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ग्रामथान विवाद

पालिका अध्यक्षले खुकुरी नचाएकै हो ?

कांग्रेस र एमालेका जनप्रतिनिधि र अध्यक्षबिचको विवाद प्रहरीसम्म पुग्यो
आइतबार, ११ साउन २०८२, १७ : ०१
आइतबार, ११ साउन २०८२

सारांश

  • मोरङको ग्रामथान गाउँपालिकामा बजेट र नीतिमा विवाद हुँदा राजनीतिक गतिरोध बढेको छ, जसले गर्दा पालिका बजेटविहीन छ।
  • अध्यक्ष माझीले आफूलाई असफल बनाउन षड्यन्त्र भएको आरोप लगाएका छन्, भने विपक्षीले खुकुरी प्रकरणलाई लिएर प्रहरीमा उजुरी दिएका छन्।
  • विवादको मुख्य कारण डोर हाजिरीका कर्मचारीलाई हटाउनु र बजेट बाँडफाँटमा भएको असमझदारी रहेको बताइएको छ, जसले गर्दा योजना कार्यान्वयन ठप्प भएको छ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा बजेट र नीति तथा कार्यक्रममाथिको विवादलाई लिएर राजनीतिक गतिरोध बढ्दै गएको छ । सोही विवादका कारण अहिलेसम्म पनि पालिका बजेटविहीन बनेको छ ।

गाउँपालिका अध्यक्ष नमोनारायण माझी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । अन्य दल, खासगरी कांग्रेस–एमालेका जनप्रतिनिधि र पालिका अध्यक्ष माझीबिचको विवादलाई ‘खुकुरी प्रकरण’ को रूप दिएर यसलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङसम्म तानिएको छ ।

पालिका अध्यक्ष माझीले आफू र समग्र पालिकालाई नै असफल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । गत असार २७ गतेको गाउँसभामा भएको सामान्य विवादपछि विपक्षी दलका जनप्रतिनिधिले अध्यक्षका समर्थकहरू खुकुरी नचाउँदै आएको भनेर जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।

तर, अध्यक्ष माझीले यसलाई ठाडै अस्वीकार गरेका छन् । ‘खुकुरी र बाउन्सरको हल्ला पूर्ण रूपमा गलत हो,’ उनले भने, ‘त्यो व्यक्ति बाउन्सर नभइ गाउँपालिकाको सुरक्षा गार्ड हो, जसले आफ्नो साथमा खुकुरी राख्नु सामान्य हो । उक्त घटना पनि सभा हल बाहिर कम्पाउण्डमा भएको थियो, भित्र कोही पसेको छैन ।’

सामान्य विषयलाई ठुलो मुद्दा बनाएर राजनीतिक लाभ लिन खोजिएको अध्यक्ष माझीको दाबी छ । उनका अनुसार विवादको मुख्य कारण खुकुरी नभई राजनीतिक ‘बार्गेनिङ’ हो ।

नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले निरन्तर पालिकाको काममा अवरोध सिर्जना गरिरहेको उनको आरोप छ । ‘एउटा समस्या समाधान गर्न खोज्दा अर्को समस्या खडा गरेर बार्गेनिङ गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘यसै कारण पटक–पटक जिल्ला प्रशासन कार्यालय र अदालतसम्म धाउनुपरेको छ ।’

विवादको जड ६ जना डोर हाजिरीका कर्मचारीलाई निकालिएको विषय रहेको बताइएको छ । डोर हाजिरी गराएर काममा लगाएको कर्मचारीको विषयमा यसअघि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । २०८१ मंसिरमा भएको उपनिर्वाचनमा माओवादीबाट अध्यक्षमा नमोनारायण माझी निर्वाचित भएका थिए । माझीले महालेखा प्रतिवेदनले औँल्याएको प्रश्न निरुपण गर्न भन्दै डोर हाजिरीमा रहेका कर्मचारीलाई कामबाट निकालेका थिए ।

तर, कांग्रेस र एमालेका जनप्रतिनिधिले उनीहरूलाई पुनः नियुक्त गर्नुपर्ने र बजेट बाँडफाँटमा प्रत्येक वडालाई १ करोड रुपैयाँ दिनुपर्ने माग गरेर विवाद सिर्जना गरेको अध्यक्ष माझीका एक सहयोगीले बताए । ती सहयोगीका अनुसार कांग्रेससँग सहमति नजिक पुगेको अवस्थामा एमाले पक्षले त्यसलाई भाँड्ने काम गरेको हो ।

पालिका उपाध्यक्ष गुणादेवी थारुका अनुसार विवाद अध्यक्ष माझीले नै सुरुवात गरेका हुन् । उनले अध्यक्षमाथि एकलौटी निर्णय गरेको र कार्यपालिकाको बैठक नबसाएको आरोप लगाइन् । यसले गर्दा वडाबाट आउने योजनाहरूले उचित प्रक्रिया पूरा गर्न नपाएको उनको भनाइ छ ।

आफूलाई निर्वाचित उपाध्यक्षको रूपमा अध्यक्ष स्वीकार नगरेको आरोप पनि उपाध्यक्ष थारुले लगाएकी छन् । उनले अध्यक्षसँग तीन–चार पटक वार्ता गर्न खोजेको तर सफल नभएको बताइन् ।

Gramthan Bibad (2)

अध्यक्ष माझीको एकलौटी निर्णयविरुद्ध उच्च अदालतमा रिट निवेदन (मुद्दा) दायर गरिसकेको उपाध्यक्ष थारुले जानकारी दिइन् । साथै, बाउन्सर र खुकुरी प्रयोग गरेको विषयमा प्रहरीमा उजुरी दिने तयारीमा रहेको र त्यसका लागि सीसीटीभी फुटेज उपलब्ध रहेको उनको दाबी छ ।

उच्च अदालतले अध्यक्षको एकलौटी कार्यलाई अस्वीकार गरेको, कार्यपालिकाको भूमिकालाई बेवास्ता गरेकोमा प्रश्न उठाएको राजवंशीको जिकिर छ । अदालतले पूर्ण प्रक्रिया पुनः सुरु गर्न वा पालना गर्न आदेश दिएको र उक्त आदेशको प्रतिलिपि आफूसँग रहेको पनि उनले जानकारी दिइन् ।

छलफलबाट सहमति खोज्न आफूले हार खाएको र अध्यक्षको प्रक्रियागत त्रुटिका कारण गाउँपालिकाको बजेट तथा योजना निर्माण प्रक्रिया अवरुद्ध भएको भन्दै उनले गहिरो निराशा व्यक्त गरिन् । गाउँपालिकाको उचित सञ्चालनको जिम्मेवारी अध्यक्षको काँधमा रहेको उनको भनाइ छ ।

राजनीतिक असहमतिका कारण गाउँपालिकाको बजेट र आर्थिक विधेयक पारित हुन सकेको छैन । यसले राजस्व संकलन, योजना कार्यान्वयन र अन्य प्रशासनिक काम पूर्ण रूपमा ठप्प भएको छ ।

अध्यक्ष माझीले आफूले गाउँसभा बोलाउँदा विपक्षीले बहिष्कार गर्ने गरेको बताए । ‘म गाउँपालिकाको अध्यक्ष हुँ, तर उहाँहरू मलाई माओवादीको अध्यक्ष भन्नुहुन्छ,’ माझीले भने, ‘मैले असार १० गते बजेट पेस गरेँ, तर उहाँहरू पारित गर्न चासो देखाउनुहुन्न । गाउँपालिकालाई असफल बनाउने प्रयास भइरहेको छ ।’

यता, उपाध्यक्ष थारुसहित ९ जना जनप्रतिनिधिले अध्यक्षका समर्थक भनिएका चार जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । तर, प्रहरीले यसलाई ‘राजनीतिक विवाद’ भन्दै जाहेरी दर्ता गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले घटनाबारे अनुसन्धान भइरहेको र वास्तविकता बुझेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए । खुकुरी प्रदर्शन भएको घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि जाहेरी लिएर प्रहरी समक्ष पुगेका हुन् ।

७ वटा वडा रहेको ग्रामथानमा उपाध्यक्ष गुणावती थारु, वडा नम्बर १ का वडाध्यक्ष सुरेश कुमार माझी, २ काको वडाध्यक्ष यादव खतिवडा, ४ का वडाध्यक्ष बद्रीनारायण माझी, वडा नम्बर ५ का वडाध्यक्ष भेषनारायण चौधरी, ६ का वडाध्यक्ष वीरनारायण चौधरी, ७ का वडाध्यक्ष विरेन्द्र चौधरी, कार्यपालिका सदस्य देवीकुमारी चौधरी उसादेवी चौधरीले चार जनाले माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध जाहेरी दिएका हुन् । माओवादी केन्द्रबाटै निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतको नाम भने निवेदकको लिष्टमा छैन ।

साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ताका लागि दिएको जाहेरीमा मोरङमा ग्रामथान गाउँपालिका– १ का ४५ का राजेश भागत सोही वडाका विष्णु माझी वडा नम्बर २ का  राजन माझी र गयालाल माझीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन माग गरिएको छ ।

७ वडा रहेको ग्रामथान गाउँ कार्यपालिकामा अध्यक्ष माझीको पक्षमा उनी र वडा नं. ३ का अध्यक्ष गरी जम्मा दुई जनामात्रै छन् । जबकि विपक्षी (कांग्रेस र एमाले) को अत्यधिक बहुमत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप