‘मधेसका शासक र जमिन्दारसँग हाम्रो लडाइँ’
काठमाडौं । गत चैतमा तराई-मधेस केन्द्रित सात राजनीतिक दलले संघीय लोकतान्त्रिक मोर्चा बनाए । त्यसको केही महिनापछि जेठमा मधेसका अन्य साना पाँच दलले संघीय गणतान्त्रिक गठबन्धन घोषणा गरे ।
गठबन्धनको नेतृत्व नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले गरेका छन् । दुवै मोर्चाले मधेसमा आ-आफ्ना कार्यक्रम घोषणा गरेका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाले साउन १८ गतेदेखि प्रशिक्षणलगायत विभिन्न कार्यक्रम गर्दैछ भने गठबन्धनले त्यसअघिबाटै मधेसका विभिन्न स्थानमा कार्यक्रम गर्दैछ ।
एउटा मोर्चा हुँदाहुँदै अर्को गठबन्धन किन ? एउटै मोर्चामा किन सबै पार्टी अटाएनन् ? संघीय गणतान्त्रिक गठबन्धनका खास मुद्दा के-के हुन् ? लगायत विषयमा केन्द्रित रहेर रातोपाटीले संघीय लोकतान्त्रिक गठबन्धनका संयोजक एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :
- तराई-मधेशमा सात दलीय संघीय लोकतान्त्रिक मोर्चा हुँदाहुँदै तपाईंहरुले छुट्टै गठबन्धन बनाउनुभयो । एउटै मोर्चामा किन अटाउनुभएन ?
जुन सात दलीय मोर्चा खोलिएको छ, त्यो पुरानै मोर्चा हो । यसको नाम मात्र फरक छ । भित्र रक्सी त्यही हो, बोतल मात्र फरक गरिएको छ । यस्ता मोर्चाहरु चुनावको मौसम सुरु भएपछि खुल्ने गरेका हुन्छन् । अहिले २०८४ को चर्चा छ । विभिन्न मुद्दा उठाएर चुनावमा जाने, चुनाव जित्ने, फेरि सत्ताका लागि झगडा गरेर अलग-अलग पुरानो रोग हो । अहिले पनि सात दलीय मोर्चा मुद्दाका लागि गठन भएको होइन, सत्ता बार्गेनिङ गर्न बनेको हो । बार्गेनिङ गरेर जब सत्तामा जान्छन्, अनि ती सबै मुद्दा हराउँछन् । जहिले पनि मधेसी जनताको मुक्तिको चाहनाको मुद्दा, समानता, सामाजिक न्याय, अधिकार सम्पन्न प्रदेश, समग्र मधेस एक प्रदेश, मधेसीहरुको सेनामा सामूहिक प्रवेश, मधेसीहरुको वर्गीय उत्पीडन लगायत मुद्दा उठाउँछन् । तर अन्त्यमा गएर जनतालाई धोका दिने काम भएको छ ।
‘मोर्चा बनाउने तयारी हुँदैछ, यसमा तपाईं पनि आउनुस्’ भनिएको थियो । त्यतिबेला मैले प्रश्न गरेको थिएँ- मोर्चा चाहिँ केका लागि बनाउने ?
अब फेरि मधेसी जनताले धोका खानु नपरोस् र मधेसमा वास्तविक मधेसी जनताको प्रतिनिधित्व आओस् भन्ने उद्देश्यले हामीले गठबन्धन बनाएका हौं । पुरानो परम्परावादी मोर्चाले मधेसी जनताको मुक्ति र समानताको चाहना पूरा गर्न सक्दैन भन्ने बुझेरै मधेसका अन्य दलहरु मिलेर हामीले गठबन्धन बनाएका हौं ।
- तपाईंहरु लोकतान्त्रिक मोर्चामा नै सहभागी हुन चाहनुभएको थियो रे । तर तपाईंहरुलाई नलिने भएपछि मात्र गठबन्धन खोल्नुभएको हो भन्ने छ नि ?
होइन । यो गलत हो । जसले तपाईंलाई यो कुरा भन्नुभएको छ, त्यो गलत भन्नुभएको छ । मोर्चा बनाउन जो-जो पत्रकार साथीहरुले पहल गर्नुभएको थियो, ती साथीहरुले मलाई पनि कार्यक्रममा बोलाउनुभएको थियो ।
‘मोर्चा बनाउने तयारी हुँदैछ, यसमा तपाईं पनि आउनुस्’ भनिएको थियो । त्यतिबेला मैले प्रश्न गरेको थिएँ- मोर्चा चाहिँ केका लागि बनाउने ? किन बनाउने ? यो कुरा क्लियर हुनुपर्यो । होइन भने फेरि पनि मोर्चा बनाउने, अनि चुनाव जित्ने, जनताको विश्वास जित्ने, अनि फेरि सत्तासँग सम्झौता गरेर जसको विरुद्धमा जनता छ, त्यसैलाई प्रधानमन्त्री बनाउने काममा मेरो सहभागिता हुँदैन भनेर जवाफ दिएको थिएँ । त्यसपछि कुनै फोन आएन, बैठकमा पनि बोलाइएन ।
- तपाईंहरूले बनाउनुभएको गठबन्धनले सत्ताको बार्गेनिङ गर्दैन, सरकारमा जाँदैन भन्ने कसरी ग्यारेन्टी गर्ने ?
सात दलीय मोर्चा ‘टेस्टेड’ मोर्चा हो । विगतमा मोर्चा बनाएर चुनाव जितेपछि जनतालाई धोका दिइसकेको छ । जनताले ती मोर्चाका नेताहरुको कर्तुत थाहा पाइसकेका छन् । जाँचिएका, बुझिएका, धोकेबाजहरूको जमात हो त्यो मोर्चा । उसले पटक–पटक धोका दिएको छ ।
हामी नयाँ भयौं, र यो मोर्चाको नेतृत्व म गर्दैछु । रिजवान अन्सारीको ब्याकग्राउन्ड नेपाली जनताले राम्ररी बुझेको छ जस्तो मलाई लाग्छ । किनभने एकातिर मधेसमा यस्ता नेताहरू थिए, जसले मन्त्री बन्न चाहिँ मधेसी जनताको चाहनाविपरीत, मधेस आन्दोलनको भावनाविपरीत पार्टी फुटाएर भए पनि गए । तर म मधेसको मुद्दामा मन्त्री पदलाई तत्कालीन प्रधानमन्त्री माधव नेपालको मुखमै मारेर बाहिर निस्केको मान्छे हुँ । त्यसैले सत्ताका लागि मरिहत्ते गर्ने रिजवान अन्सारी न कहिल्यै थियो, न आगामी दिनमा नै हुन्छ ।
पहिलो, हामीले सार्वजनिक रूपमै भनेका छौं, सत्तामा हामी जान्छौं, तर जनताको मुद्दा बेचेर होइन ।
म सुरुदेखि नै विद्रोही स्वभावको हुँ । सडकमा विद्रोह, संसदमा विद्रोह, सरकारमा गयो त्यहाँ पनि विद्रोह । त्यसकारण यो विद्रोह तबसम्म समाप्त हुँदैन, जबसम्म यो देशमा नेपालको उत्पीडित जनताको राज्यसत्ता स्थापना हुँदैन । गठबन्धन पनि सत्तामा जान्छ तर मुद्दा बेचेर होइन, मधेसी जनतालाई धोका दिएर होइन, मधेसी जनताको शिर ठाडो पारेर राजनीति गर्नेछ ।
- मोर्चा र तपाईंहरूको गठबन्धनबिच तात्विक भिन्नता के छ ?
मूलरुपमा दुई–तीन फरक छन् । पहिलो, हामीले सार्वजनिक रूपमै भनेका छौं, सत्तामा हामी जान्छौं, तर जनताको मुद्दा बेचेर होइन । दोस्रो, फरक यो छ कि यो मोर्चाले जहिले पनि राज्यद्वारा मधेसीलगायत नेपालको उत्पीडित जनतामाथि जुन शोषण, उत्पीडन, दमन भएको छ, त्यसको कुरा गरेको छ । त्यो यथार्थ पनि हो ।
हामीले मधेसभित्र रहेको आन्तरिक उत्पीडनको कुरा उठाएका छौं । राज्यले मधेसी तथा उत्पीडित जनतालाई दमन शोषण गरेकै छ, त्यसमा हामी बोल्छौं । तर हामीले मुख्य रुपमा मधेसमा रहेको आन्तरिक विभेद, शोषणका कुरा पनि उठाउछौं, जुन मोर्चाले उठाउँदैन । मधेसका दलितहरू, त्यहाँका मुस्लिमहरू, त्यहाँका गरिब यादवहरू, त्यहाँका पिछडा वर्ग न देशको मूलधारमा छन्, न मधेसको मूलधारमा छन् । दुवै धारबाट बाहिर छन् । हामीले मुख्यरुपमा त्यो कुरा उठाउँछौं ।
देशमा २८ जना मान्छे सहिद भए, त्यसले राजतन्त्र हट्यो गणतन्त्र आयो । २०० जना मधेसी सहिद हुँदा पनि संविधानमा एउटा अक्षर फेरिएको छैन ।
जबसम्म मधेसमा आर्थिक शोषण, उत्पीडन, जमिन्दारी प्रथाको पूर्ण अन्त्य हुँदैन, मिटरब्याजीहरुलाई कारबाही हुँदैन, मधेसभित्र जातीय उत्पीडन समाप्त हुँदैन, तबसम्म मधेसले मुक्ति पाउँदैन ।
तेस्रो कुरा, हामीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको भूभागलाई मधेस प्रदेशमा गभिनुपर्ने कुरामा जोड दिन्छौं । मधेसी मोर्चाले आन्दोलन गर्यो, आन्दोलनमा २०० भन्दा बढी मधेसी युवाले सहादत दिए । अर्बौंको सम्पत्ति क्षति भयो । अहिले पनि मान्छे जेलमा छन् । तर यसको उपलब्धि के पाए मधेसी जनताले ? २२ जिल्लाको मधेस आठ जिल्लामा सीमित भयो ।
देशमा २८ जना मान्छे सहिद भए, त्यसले राजतन्त्र हट्यो गणतन्त्र आयो । २०० जना मधेसी सहिद हुँदा पनि संविधानमा एउटा अक्षर फेरिएको छैन । यो मोर्चाले गरेको आन्दोलनले मधेसी जनताले पाए ? त्यसको जवाफ मोर्चाले दिनुपर्छ ।
मधेसको वास्तविक नेतृत्व अहिलेसम्म राजनीतिक रंगमञ्चमा आएको छैन । त्यो ल्याउने प्रयासमा हामी छौं ।
- मधेसलाई आन्तरिक उत्पीडनमा राख्ने काम कोबाट भएको छ ?
मधेसमा आन्तरिक उत्पीडन जातको आधारमा भइरहेको छ । त्यो मधेसीले नै गरिरहेको छ । मधेसमा आन्तरिक उत्पीडन धर्मको आधारमा भइरहेको छ, त्यो पनि मधेसीले नै गरेको छ ।
मधेसमा आन्तरिक उत्पीडन वर्गको आधारमा पनि भइरहेको छ । एउटा यादवले अर्को जमिन्दार यादवसँग तीन हजार रुपैयाँ लिन्छ र उसले एक लाख तिर्दा पनि उसको कर्जा सकिएको हुँदैन । उसको जग्गा लिलाम गराइन्छ र बाध्य भएर आत्महत्या गर्नुपर्ने स्थिति सिर्जना हुन्छ । त्यो पनि मधेसीले नै गरेको छ ।
गाउँका ९० प्रतिशत जनता अहिले पनि त्यहाँका मुखिया र त्यहाँका जमिन्दारको अधीनमा छन् । त्यो आन्तरिक उत्पीडन हो । त्यसलाई जातीय उत्पीडन पनि भन्न सकिन्छ, धार्मिक उत्पीडन भन्न सकिन्छ र वर्गीय उत्पीडन भन्न सकिन्छ ।
मधेसमा मधेसी जमिन्दार, शोषक, सामन्तविरुद्ध पनि हाम्रो संघर्ष हुन्छ । प्रदेश सत्तासँग पनि हुन्छ र र केन्द्रीय सत्तासँग पनि हुन्छ ।
- त्यसो भए तपाईंहरुको पहिलो लडाइँ राज्यसँग हुन्छ कि त्यहाँका जमिन्दारसँग ?
हामी दुवै आन्दोलनलाई सँगसँगै लिएर जाँदैछौं । किनभने ती जमिन्दारहरूलाई प्रोटेक्सन गर्ने त फेरि राज्य नै हो । त्यसकारणले हामी दुवै लडाइँलाई जातीय मुक्ति आन्दोलन, क्षेत्रीय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको रुपमा अगाडि लगिरहेका छौं ।
- भन्नाले मधेसमा मधेसीविरुद्ध तपाईंहरुको आन्दोलन हुनेछ ?
हो, मधेसमा मधेसी जमिन्दार, शोषक, सामन्तविरुद्ध पनि हाम्रो संघर्ष हुन्छ । प्रदेश सत्तासँग पनि हुन्छ र र केन्द्रीय सत्तासँग पनि हुन्छ ।
- मधेसमा हुने लडाइँमा चुनौती छ नि ?
चुनौती छ । अब त्यहाँ एउटा राज्यसँग लड्नुपर्छ, अर्को मधेसभित्रका दलाल पुँजीपति, जमिन्दार, तस्कर र डनहरूसँग लड्नुपर्छ । त्यहाँका धार्मिक र जातीय अतिवादीहरू छन्, उनीहरुसँग पनि हामी लड्नुपर्छ ।
तर हामी जित्छौं, किनभने हामी ९० प्रतिशतभन्दा माथि छौं । यसका लागि हामी संगठित भएर अगाडि बढिरहेका छौं । यदि यो सफल भयो भने मधेसले मुक्ति पाउँछ र देशलाई एउटा सही दिशा प्राप्त हुन्छ ।
- मधेसमा आन्तरिक लडाइँ लड्ने बटमलाइन नै त्यही हो ?
हाम्रो बटमलाइन भनेको मधेसका शोषित, पीडितलाई जसले शोषण गर्छ, उसको विरुद्धमा आन्दोलन गर्ने हो । आन्तरिक उपनिवेश अनि राज्यद्वारा गरिएको उपनिवेश, राज्यद्वारा गरिएको शोषण र आन्तरिक शोषण दुवैसँग हामी लड्ने हो ।
- तपाईंले खुलेर भन्नुभएको त छैन, खासमा तपाईंको लडाइँ लोकतान्त्रिक मोर्चासँग हुनेभयो होइन ?
लोकतान्त्रिक मोर्चाको गलत प्रवृत्तिसँग हुन्छ । लोकतान्त्रिक मोर्चाभित्र देखा परेको सत्तालिप्सासँग हुन्छ । लोकतान्त्रिक मोर्चाभित्र देखा परेको जातीय संकीर्णतासँग हुन्छ । मोर्चावालाहरुको छाती कुखुरेछाती हो, कुखुरेछातीले नेतृत्व गर्न सक्दैन ।
हामीले राज्यसँग भनेका छौं, सबभन्दा पहिला नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य गरौं ।
यिनीहरूको फराकिलो छाती हुने स्थिति अहिलेसम्म देखा परेको छैन । यदि लोकतान्त्रिक मोर्चा सच्चिएर आउँछ भने सहकार्य गर्न सकिन्छ । त्यसपछि राज्यसत्तासँग सामूहिक लडाइँ लड्छौं । लोकतान्त्रिक मोर्चा हाम्रो शत्रु होइन, त्यसको प्रवत्ति र व्यवहार हाम्रो शत्रु हो ।
- लोकतान्त्रिक मोर्चाले मधेसमाथि शोषण, दमन गरेको भन्ने नै तपाईंको बुझाइ हो ?
सिङ्गै मोर्चा त भन्न मिल्दैन, तर त्यो मोर्चामा रहेका केही व्यक्ति जमिन्दार प्रवृत्तिका छन्, शासकजस्तै व्यवहार गर्छन् । मधेसमा जमिन्दारी प्रथा चलाउँछन् । त्यसविरुद्ध हाम्रो आन्दोलन हुन्छ । तर मेरो भनाइ के हो भने यिनीहरू हुन् कि होइनन् भन्ने कुरालाई गौण राखौं, त्यो जनताले छुट्याउँछन् ।
यिनीहरूले त्यो शोषणविरुद्धमा नबोल्ने कारण के हो ? यिनीहरूले जातीय विभेदविरुद्ध मधेसमा किन अहिलेसम्म लडाइँ लडेनन् ? त्यो सवाल त छ नि ।
- एकातर्फ तपाईंहरू लोकतान्त्रिक मोर्चासँग लड्नुहुन्छ, अर्कोतिर राज्यसँग लड्नुहुन्छ । राज्यसँग चाहिँ तपाईंहरुको खास माग के हो ?
हामीले राज्यसँग भनेका छौं, सबभन्दा पहिला नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य गरौं । हामीसँगसँगै भारत र चीन स्वतन्त्र भएका हुन् । त्यो टाइमिङ लगभग एउटै हो । यहाँबाट राणा भगाउनु, भारतबाट अंग्रेज भगाउनु, अनि चीनबाट राजा–महाराजाहरूको शासन अन्त्य गर्नु । तर ती देशहरु विकसित भइसके । हामी पछिका पछि छौं । त्यसको मुख्य कारण हामीले राजनीतिक संक्रमणकालको अन्त्य गरेनौं । हामीले जसविरुद्ध क्रान्ति गर्यौं, त्यसलाई निषेध गरेनौं, पालेर राख्यौं ।
त्यसकारण अब यो राजनीतिक संक्रमणकालको अन्त्य गरौं र नेपालमा एउटा यस्तो संविधान निर्माण गरौं, जसमा सम्पूर्ण नेपाली जनताको स्वामित्व होस् । समानताको जगमा उभिएको नेपालको निर्माण होस् । बोर्डरमा बस्ने एउटा मधेसी र हिमालमा बस्ने एउटा हिमालीले पनि यो संविधान हामीले बनाएका हौं, यो हाम्रो लागि हो, यो देश हाम्रो हो, हामी सबैको समान अधिकार छ भन्ने महसुस गरोस् ।
त्यसमा निषाद् समुदायको पहिचान छैन । ३९ जाति निषाद् समुदायका हुन्, तर त्यसको पहिचान छैन । मुस्लिमहरूको विशेषाधिकारको व्यवस्था छैन ।
संक्रमणकाल अन्त्य भयो भने राजनीतिक आन्दोलन समाप्त हुन्छ र राजनीतिक स्थिरता हुन्छ । त्यसपछि सुशासनको यात्रा सुरु हुन्छ, अनि समृद्धिको । यहाँका यथास्थितिवादी शक्तिले नेपाललाई सबैको नेपाल बनाउन चाहेको छैन । त्यसकारण हाम्रो यो लडाइँ सत्तासँग छ ।
- अहिलेको यो संविधानमा तपाईंहरुको कुनै मुद्दा सम्बोधन भएको छैन त ?
यो संविधानमा मधेसी जनताको अधिकारको कुरा छ, मुस्लिमको लागि छ, दलितहरूको लागि छ, निषाद् समुदायको लागि छ, वर्गीय उत्पीडनमा परेकाहरूको लागि पनि छ । तर पर्याप्त छैन । धेरै कुरा अझै चाहिएको छ ।
त्यसमा निषाद् समुदायको पहिचान छैन । ३९ जाति निषाद् समुदायका हुन्, तर त्यसको पहिचान छैन । मुस्लिमहरूको विशेषाधिकारको व्यवस्था छैन । दलित र महिलाका लागि जति हुनुपर्ने त्यति छैन ।
अधिकारसम्पन्न प्रदेशको नाममा प्रशासनिक इकाई आएको छ । राजा महेन्द्रको समयमा पाँचवटा प्रशासनिक इकाई थिए, अहिले त्यसैलाई सातवटा बनाइएको छ । यहाँका जनजातिहरू, दलितहरू, मुस्लिमहरू, पछाडि पारिएका अन्य समुदायले शासन गर्ने अधिकार र पहिचानसहितको प्रदेश बनोस् भन्ने हाम्रो माग थियो । अहिलेको प्रदेशमा एउटै भाषा, एउटै भेषका मान्छेको वर्चस्व छ ।
त्यसैले यो संघीयता हुँदै होइन, यो धोका हो । हामी अधिकारसम्पन्न प्रदेशको पक्षमा छौं । त्यसका लागि संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्छ ।
- तपाईंहरुको यो गठबन्धन मुद्दा र एजेण्डामा मात्रै संगठित भएको हो कि चुनावी तालमेल वा एकतासम्म जान्छ ?
मोर्चामा आबद्ध पार्टीहरू विचार मिल्ने छन् । एउटै पीडा छ, एउटै शत्रु छ, एउटै लक्ष्य प्राप्तिको दिशा छ । विस्तारै यी पार्टीबिचमा एकता पनि हुन्छ । चुनावमा पनि सँगै जान्छौं । साथै, गठबन्धनमा अरु अग्रगामी शक्तिहरूलाई समावेश गर्ने काम गर्छौं । त्यसका लागि विभिन्न संगठनसँग कुराकानी चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण