बिहार हिँडेको ‘बहादुर’ म किन केदारनाथ जान हिचकिचाएँ ?
सारांश
- लेखक यात्राको सम्झनामा लेख्दै गर्दा टाटासुमोमा यात्रा गर्छन्।
- लेखकले केदारनाथको यात्राको इच्छा र सुशान्त सिंह राजपूतको फिल्मप्रतिको मोहबारे चर्चा गर्छन्।
- लेखकले आफ्नो स्कुलका दिनहरू र आमाको सम्झनामा व्यक्त गरेका छन्, यात्रालाई आतङ्कसँग तुलना गर्दै।
तेस्रो पेग सुरु गरेँ, यात्राको यादमा । पहिलो पेगमा जति रमरम थियो, दोस्रोमा त्यति रहेन । तेस्रोमा आइपुग्दा अझ घट्यो ।
‘यो बसाइको यो अन्तिम पेग हो’, मनमनै सोचेँ । र, थप थपिनँ पनि ।
म खुट्टा पसारेर मन लागे जति ढलिमली गर्दै यात्रा स्मृति लेख्दैछु तर टाटासुमोमा सबभन्दा पछाडि झ्याल सीटमा कुचुमुच्च !
‘टाटाबाइबाइ’, काठमाडौँ नछोड्दै मनमनै भनेँ ! टाटाबाइबाइ भन्ने चलन कसरी सुरु भयो होला ? सायद टाटा गाडी चढ्नेले वा चढ्नेलाई बाइबाइ भन्दाभन्दै टाटाबाइबाइ भन्न थालिएको हो कि ? यसरी त यसअघि सोचेकै थिइनँ । र, आफ्नै तर्क चित्त बुझ्यो ।
अहिले त नेपालमा टाटा गाडी यति प्रचलित छ भने, सुरुमा गाडी भन्या नै टाटा भनेजस्तो थियो होला, वाइवाइ भनेकै चाउचाउ वा मोबिल भनेकै लुब्रिकेन्टजस्तो ।
मैले यसमा केही रिसर्च गर्या छैन । भटाभट मनमा जे आयो, त्यही भन्या । व्यापार–व्यवसायमार्फत आफ्नो सरनेमलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भन्ने एउटा गज्जबको इन्डियन उदाहरण हो टाटा । टाटाजस्तै इन्डियामा त्यस्ता अनेक उदाहरण छन् ।
सुमो खचाखच छ, ड्राइभरसहित १० जना छौँ ।
प्रत्येकका आ–आफ्ना आइटेनरी होलान् । तर, सुमोले जहाँ–जहाँ छोड्छ हामीलाई, त्यहाँसम्म सबैको एउटै आइटेनरी छ । सुमोकै मर्जीमा उसले रोकेका ठाउँमा मन लागे चिया, खाजा र खाना खान ओर्लनुपर्छ । यो त सुमोको आइटेनरी हो तर मनको आइटेनरी आ–आफ्नै र मनजस्तै अस्थिर ! यो मेरो स्टेटमेन्ट हो । तपाई यसलाई उल्टाएर भन्न सक्नुहुन्छ, ‘मनजस्तै स्थिर !’ तर, त्यस्तो स्थिर हुन् त बुद्धै हुनुपर्ला, अप्प दीपो भवः । त्यो लेभलको कुरा गर्ने सामर्थ्य छैन मसँग । यदि त्यस्तो हुन्थ्यो भने म किन यो सब लेखिरहन्थेँ होला ? लेख्नु पनि त सांसारिक हो । लेख्नु पनि त लोभ हो, छपाउनु झन् ।
मेरो मनचाहिँ अस्थिर छ, बेचैन ! बेचैनी राम्रो हो ? नराम्रो हो ? यो प्रश्न तपाईंलाई । उत्तर सोच्नु, त्यसमाथि तर्क–वितर्क गर्नु, तर्क गर्दागर्दै निदाउनु ल !
‘यसपाली गोवा पनि पुग्छु । समुन्द्र किनार चिसो बियर खाँदै छालहरूमा रमाउँछु । काश्मीर पनि जाऊँ कि ? गइदिन्छु’, सोच्छु, ‘चेन्नई र कन्याकुमारी पनि गइदिउँ कि ? मुम्बई त झन् छुटाउनै भएन । धर्मशाला पनि जान्छु । हरिद्धार झन् जानुपर्ला । केदारनाथचाहिँ नजाऊँ होला यसपाला !’
केही दिनअघि प्लस टुको फाइनल एक्जाम सकेको भोलिपल्टै अदिति ठुलीममीसँग धनगढीसम्म फ्लाइटमा र त्यसपछि प्राइभेट कारमा महेन्द्रनगर हुँदै केदारनाथ गएकी थिई । ऊ त उता गएर घोडा पनि चढिछ । केदारनाथको दर्शन पनि दुई–दुई पटक गरिछ, पुग्दापुग्दैको साँझ अनि भोलिपल्ट बिहानै पनि । हल्काहल्का हिउँसहितको पहाडलाई व्याकग्राउन्ड बनाएर खिचेको केदारनाथको फोटो अहिले पनि उसको मोबाइल स्क्रिनमा छ । कत्ति राम्रो !
सुरुमा मेरो पनि जाने इच्छा थियो छोरीसँगै र जाने निश्चित पनि गरिसक्या थिएँ तर यत्तिकै फेरि नजाने भएँ । मन न हो, ठेगानै नहुने । त्यसरी म केदारनाथ नगएको थिएँ । यतिबेला पनि मलाई त्यता जाने विचारै आएन । सायद त्यता नजान सिजन साइकोलोजीले काम गर्यो कि ? त्यसो त ‘बिहारको बाढ’ले धेरथोर नतर्साएको चाहिँ होइन । यो वर्षाको याम हो । तर, पनि विहार हुँदै इन्डिया बिहार गर्दै थिएँ ।
बिहारको बाढले तर्साए पनि त्यसलाई जितेर त्यसतर्फ अगाडि बढ्दै गरेको ‘बहादुर’ म किन केदारनाथ जान हिचकिचाएँ ? मसँग उत्तर थिएन । सायद मलाई केदारनाथले बोलाएका थिएनन् यसपटक पनि । कहिले बोलाउँछन् थाहा छैन । बोलाए नगई कहाँ धर पाउँछु !
पहिल्यैदेखि सुने पनि केदारनाथको शिर हाम्रो यतैको भक्तपुरस्थित डोलेश्वर भनेर प्रचार भएपछि केदारनाथबारे थप चासो र चाहना सुरु भएको हो । तैपनि केदारनाथ पुग्ने अति इच्छा जागेको चाहिँ ‘केदारनाथ’ हेरेपछि नै हो ।
सुशान्त सिंह राजपूत, जसको शङ्कास्पद मृत्यु भयो, अल्पायुमै । कोभिडताका ऊ अभिनीत सबै फिल्म हेरेको थिएँ, उसको रहस्यमय मृत्युबारेका सनसनीपूर्ण समाचारसँगै । काइ पो छे!, एम एस धोनीः द अनटोल्ड स्टोरी, छिचोरे, दिल बेचारा, सोनचिरियालगायत उसका सबैसबै फिल्म र उसका प्राय इन्टरभ्यु पटक पटक र ‘केदारनाथ’ धेरै पटक हेरेको थिएँ ।
हिन्दी सिनेजगतमा सितारा झैँ चम्कँदै गरेको थियो सुशान्त र एक्कासि उसको रहस्यमय मृत्यु भयो । भयानक सस्पेन्स मुभीजस्तै भयो उसको मृत्यु प्रकरण, द अनसल्भ्ड मिस्ट्रीजस्तो । अहिले त्यो प्रकरण कुन टुङ्गोमा पुग्यो थाहा छैन । तर, केदारनाथसँग उसैले गर्दा मेरो मोह बढेको हो । फेरि पनि म त्यहाँ जाँदै थिइनँ ।
कसरी भगवानकै अगाडि प्रलय हुनसक्छ ? किन जेजस्तो हुँदा पनि उनी मौन रहन्छन् ? कसरी प्रेम ‘धर्म’भन्दा पवित्र छ ? कहाँ कहिले कसरी जीवन सकिन्छ ? यी र यस्तै प्रश्न वरिपरि रहेर ‘केदारनाथ’ कथा भन्छ ।
सुमोमा सबै आ–आफ्नै सुरमा र म स्वर्गीय सुशान्तसँग !
कसैलाई सोध्नु छैन, खोज्नु छैन । आफ्नै घरभित्रै भए झैँ ढुक्कले बाँसुरी बजाउन थाल्छ अगाडि सिटको एकजना । तर, एउटा धुन पनि पुरा नगर्दै ऊ रोकियो । मैले सुर ठम्याउन सकिनँ । खासमा त्यो सुर मेरो बेसुरको यात्राजस्तै थियो ।
गुरुपूर्णिमाको दिन थियो । सुमोले त्रिभुवन विश्वविद्यालयको गेट क्रस गर्यो । विद्यार्थी र कलेज संख्याको हिसाबले संसारकै सबैभन्दा ठुलो विश्वविद्यालय ! मैले विश्वविद्यालय स्तरको जे–जति शैक्षिक प्रमाणपत्र प्राप्त गरेँ, ती सबैको मास्टहेडमा त्रिभुवन विश्वविद्यालय स्ट्याम्पड छ । तर, मलाई त्यसमा कुनै गौरवभाव छैन । गौरवभाव छन् त बरु अनेक यात्राका खास मोमेन्टहरुमा, जो मान्छेहरुसँग जोडिएका छन्, जो मोनुमेन्टहरुसँग जोडिएका छन्, जो माउन्टेनहरुसँग जोडिएका छन् र जो मस्तीहरूसँग जोडिएका छन् ।
गाडी चलाइरहेका गुरुजीलाई साक्षी राखेर कीर्तिपुर–चोभार सडकमा आदरभावले मैले गुरुहरूलाई सम्झने प्रयास गरेँ, विश्वविद्यालयका प्रोफेसरहरु खासै आएनन् बरु स्कुलका केही सरहरू सम्झेँ र मिसहरूलाई मिस गरेँ । ‘लेख, तिमी राम्रो लेख्छौ’ भन्ने धनञ्ज्य सर, ‘कमालको छौ यार तिमी’ भन्ने रोहित सर, क्लासमै ब्लेडले मेरो कपाल काटिदिने विजय सर र औँलाले मेरो निधारको टीकाभाग छुने अंगुर मिसलाई सम्झेँ । गम्भीर तर उत्तिकै चञ्चल चाँदनी मिसलगायत अरू थुप्रै सर–मिसलाई सम्झेँ र एक्लै मुसुक्क मुस्काएँ र मुस्काइरहेँ । गुडिरहेको गाडीको झ्यालबाट फिल्मजस्तै बग्ने अनेक रङका दृश्यहरू हेर्दै अतीतलाई सम्झनुको आनन्द अहा !
सबभन्दा बढीचाहिँ ‘बुढो सर’लाई सम्झेँ । उनको एक्ज्याक्ट नामसमेत याद छैन । उनी स्कुलका हेड सर थिए कि प्रिन्सिपल, त्यो पनि याद छैन । हामी उनलाई बुढो सर वा सर भन्थ्यौँ, त्यो पनि याद छैन । तर, ती सरसँग मैले बिताएको त्यो शिशुकालीन एक वर्ष प्राचीन शिलालेखजस्तो गहिरो तर अमूर्त रूपमा कायमै छ । धमिलो सम्झनाको गाढा क्यानभासमा म उनलाई उतार्ने प्रयास गर्छु है त !
अग्ला थिएनन् तर दुब्लापातला उनी अग्ला देखिन्थे । उनले टोपी लाएको याद छैन, कपाल मिलाएको पनि याद छैन तर कपाल सिलिक्क थियो । सादा सर्ट पाइन्ट लगाउँथे । खुजुमज्ज कहिल्यै देखिनँ, इस्त्री लगाउँथे कि थिएनन्, याद छैन तर सर्ट–पाइन्टको क्रिज सधैँ धारिलो । दाह्री पालेको याद छैन, जुँगा भने चिटिक्कको राख्थे । उनले जसरी बोल्थे न त्यो पुरै अङ्ग्रेजी थियो, न त्यो पुरै नेपाली थियो त त पुरै हिन्दी । तिनै भाषाको सम्मिश्रण उनको बोलीमा । उनी दार्जिलिङका थिए, वेस्ट बंगालका ।
उनी मलाई माया गर्थे कि नाइँ ? यो प्रश्नको उत्तर मसँग पनि प्रस्ट छैन, बरु त्यस्तो छ, जस्तो कि त्यसताकाको सम्झना । गाढा तर अमूर्त ! औँलाले बिर्से पनि मनलाई याद छ, बुढो सरले मसिना लट्टीहरू मेरा औँलाहरूमा बर्साउँदा म कसरी आँखा चिम्लन्थेँ ! कति दुख्थ्यो ! आँखा आँशुआँशु हुन्थ्यो । तर, सरले मेरा औँलाका कापकाप आफ्ना औलाहरु छिराएर मेरो हत्केला सफा गरेको पनि सम्झन्छु । मलाई नुहाइदिँदा साबुनको फिँजसहित सरका औंलाहरु मेरो कपालका जराजरासम्म पुगेको पनि सम्झन्छु ।
सरले पिटेकोमात्र होइन, प्रेम गरेको पनि सम्झन्छु । प्रेम गरेकोमात्र होइन, पिटेको पनि सम्झन्छु । र, म सम्झनालाई त्यस्तै रहिरहन दिन चाहन्छु, जस्तो त्यो थियो ।
नर्सरी पढ्दा म स्कुलमात्र पढ्थिनँ, होस्टेल पनि बस्थेँ । उनी स्कुलका सर थिए र होस्टेलका पनि । हाम्रो स्कुल नुवाकोटको सदरमुकाम विदुर बजारमै थियो, डुङ्गेमाथि । अचेल त्यतैबाट माथि ऐतिहासिक नुवाकोट दरबार जाने पीचसडक छ । ठिक तल त्रिशूली ।
अघिल्ला केही दिनदेखि त्रिशूलीमाथि उता उत्तर तिब्बततिर व्यापकै वर्षा भयो रे । त्यताबाट आएको विनाशकारी बाढीले नेपाल–चीनको सीमानास्थान रसुवागढीको दशगजास्थित मितेरी पुलै बगाएको थियो । त्रिशूली नदी वरपरको ध्वंस समाचारपत्रहरूमा हेडलाइन भइरहेका थिए । उद्धारका अनेक प्रयासहरू पनि भइरहेका थिए ।
देशको त्यो स्थितिबिच म देश छोड्दै थिएँ ।
हामी चोभार कटेर टौदह पुग्दै छौँ ।
चोभार त्यस्तो विशेष गल्छी हो, जहाँबाट काठमाडौँ सभ्यताको ‘मिथक’ सुरु हुन्छ । कुनै कालखण्डको ‘ताल’, मञ्जुश्री र स्वयम्भूसँग जोडिएको चोभार चर्चा पछि कतै गरौँला ।
चाल्नाखेल पुग्नै लाग्दा टौदहको पानीमा बिहानी घामका किरणहरू टल्किरहेका थिए । ती साँच्चै मनमोहक थिए ।
एकाध वर्षअगाडि कुनै एक दिन ४० जनाको बर्डवाचिङ ग्रुपसँग चोभारबाट बागमती किनारै किनार पैदल टौदह पुगेको थिएँ । चरा र चरा प्रजाति गणना यात्रा थियो त्यो र पहिलो पटक आफ्नै आँखाभित्र मैले अलि अर्कै ढङ्गले चराहरूलाई हेर्ने आँखा पाएँ । र, देखेँ चाखलाग्दो चरा–चरीचर्या, जो विस्तारमा लेखौँलेखौँ लाग्या छ तर फेरि यो यात्रालय यतै अड्केला वा चराजस्तै पुग्ला सगर र सागरतिर !
ती चराहरू जो टौदहमा देखेको थिएँ, मौसम अनुसार साइबेरियादेखि इन्डियाका सरहद पनि गए होलान्, आए होलान्, मजस्तै, जसरी म इन्डिया जाँदै छु टौदह हुँदै र फर्केनेछु यता केही दिनमा ।
पहाडैपहाडले घेरेको काठमाडौँ उपत्यकालाई कुनै पनि कोणबाट सिङ्गो आकारमा वरपरका पहाडहरुबाट देखिँदैन । फुलचोकी, शिवपुरी, नागार्जुन, चन्द्रागिरी, चम्पादेवी वा कुनै पीकप्वाइन्टबाट त्यो पुर्णाकार दृश्य सम्भव छैन ! माथि–माथि आकाशबाट हेरे अर्कै कुरा ! खास कुरो यहाँ भन्दिहालौँ, टौदह ठ्याक्कै काठमाडौँ आकारमा छ रे । त्यसैले काठमाडौँलाई उसको पूर्णाकारमा दर्शन गर्न मन लागे, छेउको वोसन डाँडा उक्लनु र हामी बसेको हाम्रो उपत्यकालाई हेर्नु, बाघको अनुहार हेर्न मनलागे बिरालोलाई हेरे झैं ।
थुप्रै साथीभाइसँग केही पटक र गफीकफी दाइसँग पटक पटक त्यहाँ पुग्या छु र दर्शन गर्या छु । टौदह क्षेत्रको आर्थिक भविष्य सुन्दर छ भन्ने ठान्दै मुनाफामुखी मनले नजिकैको बोसनतिर अलिकति जग्गा जमाउने कि भनेर दाइ र म उक्लेका थियौं । तर, त्यो सोचले हावा खायो । सट्टामा काठमाडौँको एक्स्ट्रिम पश्चिममा अवस्थित मसिनेतिर धेरथोर ‘जग्गाजमिन’ जोड्या छौँ । हेरौँ, भविष्यमा केही होला कि !
राजधानी छाड्ने गाडीहरूलाई फर्पिङमा हल्का चेकजाँच गरिन्छ । जाँच पासपछि हामी छैमलेतिर बढ्छौँ, कुहिरो पछ्याउँदै । तर, निमेषमा कुहिरो हराउँछ । अब कसलाई पछ्याउने ? केलाई पछ्याउने ? फेरि एकै छिनमा देखापर्छ । यो क्रम छिनछिनमा बदलिन्छ, देखिन्छ–छेकिन्छ अनि छेकिन्छ–देखिन्छ ।
म पनि केही दिन रेगुलर लाइफबाट छेकिन उता लाग्दै थिएँ । तर, जति टाढा गयो, उति माया लाउने भने झैँ एक्लै आफैसँग आफैलाई लिएर हिँड्दा आफन्तहरू झन् बढी याद आउने क्या । यादहरू यात्राका साथी हुन्, जो साथीभन्दा पनि सुमधुर हुन्छन्, अझ खासगरी एक्लै यात्रा गर्दा । र, यसरी यात्राहरू गर्दा अनेक क्यारेक्टर भेटिन्छन् । तिनलाई फिक्सन राइटरले झैँ क्रियट गर्नै पर्दैन । ती आउँछन्, आइरहन्छन् । रोचक के भने, ननफिक्सनल क्यारेक्टर फिक्सनलभन्दा पनि बढी फिक्सनल हुन्छन् खासमा ।
‘यो कसरी ? यसबारे एक होइन, असङ्ख्य किताबै लेख्न सकिन्छ । म पनि त किताबै लेख्दै छु’, डायरीमा टिपोट गर्दै छु, ‘एउटी क्यारेक्टर आइन्, ती थिइन् आमा । आमालाई आतङ्क छ ।’
अगाडिको सिटमा बस्ने एकजना नेपाली केटो अर्कोलाई भन्दै थियो, ‘बर्खा छ, बाढी आइराछ, नजा बाबु भन्नु भा थियो । तर, म त हिँडिदिएँ ।’
‘भो, यार यस्तो कुरा नगरौं, यात्रामा याद गर्ने होइन, सबै बिर्सिदिने हो’, अर्कोले थप्यो ।
‘आमालाई आतङ्क छ, छोरालाई केही हुने हो कि ? छोरीलाई केही हुने हो कि ? टाइममा खाना नखालान् कि ? सन्चो नहोला कि ? नरमाउलान् कि ? आत्तेलान् कि ?’
डायरीमा डटपेन दौडिरहेछ, त्यो भन्दा छिटो मुटुको धड्कन, आमाहरूको नाममा, त्यो भन्दा बढी आफ्नै आमाको सम्झनामा । जब आमालाई सम्झन्छु, यस्तै हुन्छ । आमालाई बिर्से सम्झन मन लाग्छ, सम्झे बिर्सन मन लाग्छ । केही गरे पनि सुख छैन । आमा भन्ने चीज कामै नलाग्ने क्या !
‘आमाहरू आतङ्कित छन्’, डायरीमा लेख्दै छु, ‘यता आमा नहुनेहरूलाई आमा नहुनुको आतङ्क छ । कहिल्यै भरिन सक्दैनन्, आमा बिनाका सन्तानहरू । दृश्यमा भरिएजस्तो त देखिएलान् यदाकदा तर खासमा देखिन्छन् मात्र र त्यो पनि जब उनीहरूले आमालाई एक छिनलाई बिर्सिएका हुन्छन् । जब सम्झन्छन् आमा नहुनेहरू आमा नभएको रित्तोपन बाँचिरहन्छन्, रित्तोरित्तो बाँचिरहन्छन् ।’
‘इन्डियामै कति नेपाली छोराहरू होलान्, छोरीहरू होलान्, जसका आमाहरू यता नेपालमा आतङ्कित छन्, छोराछोरीलाई केही नराम्रो होला कि ! कति इन्डियनहरू होलान् यता नेपालमा, जसका आमाहरू उता आतङ्कित छन् । यो इन्डिया र नेपालको मात्र होइन, अनेक देशमा यस्ता अनेक आतङ्क छन्’, औँलामा थुक लाएर डायरीको पाना पल्टाउँदै लेख्छु, ‘यात्रा पनि त आतङ्कै हो ।’
आउनेवाला प्रत्येक क्षण अज्ञात छ । र, अज्ञात आतङ्क छ । के–के आतङ्क आउनेवाला छन् ? चौथो च्याप्टरका लागि रातोपाटी हेर्दै रहनुहोला ।
(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावनादूत तथा अप्प दीपो भवः, श्रीलंका स्मृति, लेखक दुनियाँ र कलमका सर्जक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण