भयले भारी भएको छ मन
जहिल्यै लास्ट आवरमा तयारी गर्ने आफ्नो झुर बानी सम्झेर आफैँलाई दिक्क लाग्छ ।
मेरा कति बानी छन्, मलाई थाहा छन्, ती नराम्रा छन् तर पनि बदल्न सक्दिनँ । बानीले हारेको म अनि नानीले हारेको म !
तर हारहरूलाई साथी बनाएपछि जित्दा पनि आनन्द, हार्दा पनि आनन्द ।
इन्डिया जाँदै छु भोलि ।
छालाको चप्पल स्टाइलको जुत्ता केही दिनपहिले चीन जानुअघि बहटीमा किनेको थिएँ । त्यही जुत्ताले चीन चहारेको थिएँ । यद्यपि चिसो होला वा कम्तीमा पनि एकजोर एक्स्ट्रा चाहिन्छ भनेर ट्रेकिङ सुज नलग्याचाहिँ होइन । काठमाडौँबाट छेन्दु हुँदै तिब्बतका कुनाकुना म त्यही जुत्तामा नाच्दै थिएँ, नचाउँदै थिएँ । अनेक कारण थिए, त्यसरी नाच्नु–नचाउनुको तर जुत्ता पनि एउटा खास कारण थियो ।
जब खुट्टाले जुत्ता मात्र होइन, जुत्ताले खुट्टा पनि हल्का फिल गर्छ, त्यसले मुड नै अर्को बनाइदिन्छ, मिठो ! चीन यात्राको त्यो मिठो माहोल वृत्तान्त ‘अप्प दीपो भवः’ को दोस्रो संस्करणको पहिलो च्याप्टरमा पढ्न सक्नुहुनेछ ।
फेरि पनि म चीनको त्यो मिठो स्मृति बोकेको त्यही जुत्तामा इन्डिया जाँदै छु तर जुत्ताको एक छेउमा धागो फुस्केको छ । कपुरधाराको जुत्ता मर्मत सेन्टर गएँ । जुत्ता पक्की भयो ।
‘कति दिउँ ?’ सोधेँ ।
‘४० ।’
मैले हरियो गैँडाअंकित नोट दिएँ । त्यो नै मसँग भएको सबभन्दा सानो नेपाली नोट थियो ।
‘खुद्रा दिनु न,’ उसले भन्यो ।
‘छैन । यही हो ।’
दिउँसो भारु सटही गर्दा मैले खुद्रा पनि पाएको थिएँ । ऊतिर भारु पच्चीस सोझ्याएँ, जो सयको १ सय ६० को दरले ४० नै हुन आउँछ ।
‘म नेपाली मान्छी (मान्छे) हो,’ स्विकार्नुको साटो मतिर पेचिलो आँखा गाड्दै उसले भन्यो ।
‘घर कहाँ हो ?’
‘रौतहट ।’
ऊ रौतहटको रहेछ काठमाडौँमा जुत्ता मर्मत गर्ने काम गर्दै आएको । खासमा मर्मत त मेरो मगजलाई गर्नुपर्ने भएको रहेछ । होइन भने किन उसको अनुहार, उसको रङ र उसको लबजमा मैले उसको नेपालीत्व खोसेँ ?
देशकै भएर पनि ऊ आफ्नै देशमा मेरो नजरमा परदेशी भयो । त्यसरी म एकपटक होइन, पटकपटक ऊजस्तै थुप्रै नेपाली मान्छीसँग झुक्किएको छु । म झुक्किएको हो कि यो देश अझै देश भइनसकेको हो ? होइन भने म किन त्यसरी उसलाई अर्कै देशको भन्ठान्छु ? मलाई लाग्छ, यसरी झुक्किने म मात्रै होइन ।
भूगोल मात्रै देश भइदिएको भए झुक्किनु वा नझुक्किनुले खासै फरक पार्दैन थियो होला । देश भूगोल मात्रै होइन, यो त भावना पनि हो र भावना त झनै हो ।
म झुक्किँदा के उसले मलाई देश देख्यो होला ? म झुक्किँदा उसले यो देशलाई कस्तो देख्यो होला ?
सब्जीवाला, कवाडीवाला, हजामवाला, जुत्तावाला र अरु यस्ता थुप्रै पेसा व्यवसायमा यहाँ इन्डियनको बाहुल्य होला तर यसको मतलब यो होइन कि ती पेसामा लागेका सबै नेपाली होइनन् । समस्या स्थितिमा छ कि मनस्थितिमा ? सोच्छु, सोचिरहन्छु ।
तर त्यो नेपाली मान्छीले के सोच्यो होला ? र, अझै सोच्दै पो होला कि ? म सोच्दै थिएँ ऊ सोच्दै होला यस्तो, ‘मलाई नेपालीले नै किन नेपाली ठान्दैनन् ? के म रौतहटको हुनु नेपालको नहुनु हो ? के म हल्का कालो हुनु नेपाली नहुनु हो ? के मैले शुद्धसँग नेपाली भाषा बोल्न नसक्नु म नेपाली नहुनु हो ? के म जुत्ता सिलाउने मान्छी हुनु म नेपाली नहुनु हो ?’
मैले ऊसँग क्षमा माग्नुपथ्र्यो, मागिनँ तर यही पँक्तिमार्फत ऊ र ऊजस्तै मेरो ‘व्यवहार’ व्यहोरेका सबैसँग क्षमा माग्छु । मलाई यो पनि थाहा छ कि हामी सबै नेपाली क्षमाशील छौँ । नेपाल क्षमास्थल हो ।
रातभर निद्रा परेन । कारण काठमाडौँको कपुरधारामा बस्ने रौतहटको नेपाली मान्छी मात्र थिएन । प्रायः लामो यात्राअघिको रात म ननिदाउने गर्छु । अनेक तर्कना आउँछन् । मन लागे तर्कनाबारे एक छिन तपाईं पनि तर्कना गर्नु तर कृपया यो यात्रा वृत्तान्तबाट नतर्किनु । यसमा तपाईं अटुट हुनुपर्छ मसँग । हुनुहुन्छ नि !
ऊ सोच्दै होला यस्तो, ‘मलाई नेपालीले नै किन नेपाली ठान्दैनन् ? के म रौतहटको हुनु नेपालको नहुनु हो ? के म हल्का कालो हुनु नेपाली नहुनु हो ? के मैले शुद्धसँग नेपाली भाषा बोल्न नसक्नु म नेपाली नहुनु हो ? के म जुत्ता सिलाउने मान्छी हुनु म नेपाली नहुनु हो ?’
मैले एकजना नेपालीलाई इन्डियन ठानेको प्रसंग पनि यात्राकै एक हिस्सा लाग्यो मलाई । यात्रा भोलि बिहान सुरु हुँदै छ तर सुरु हुनुअघि नै यात्रा सुरु भइसकेजस्तोे ।
‘अप्प दीपो भवः’ पनि मसँगै यात्रा गर्दै थियो । ऊ पनि मसँग गया, बोधगया जाँदै थियो । बोधगया जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । ज्ञान प्राप्त गरेका थिए, ‘अप्प दीपो भवः ।’
तिब्बतको ल्हासास्थित पोताला दरबारमा सार्वजनिक कैलाश किताब ‘अप्प दीपो भवः’ भाग्यमानी ! त्योभन्दा भाग्यमानी त मेरो ल्यापटप ! अलि अस्ति लाङटाङ र अस्तिभर्खर चीन गएको थियो ऊ, भोलि इन्डिया जाँदै छ ।
डायरी, कलम, ढाका टोपी, कालो क्याप, मन्जन, ब्रस, तेल, पसिना रिमुभर, चप्पल, चार्जर, पावर बैंक, सेभिङ मेसिन, मोजा, पासपोर्ट, केही हजार भारु आदि प्याक गरेँ मध्यरात । बन्दोबस्तीका सामान !
छोरी अर्को कोठामा निदाइरहेकी थिई । यता श्रीमती र छोरो निदाइरहेका थिए । मैले पनि निदाउने प्रयास गरेँ तर घरी पल्लो घरमा मान्छे घुरेको सुनिन्छ त घरी सडकमा कुकुर भुकेको । घरी आफ्नै सास सुन्छु, स्वाँस्वाँ ।
हल्का बनाउने प्रयास गर्दागर्दै पनि ब्याग भारी भयो तर ब्यागभन्दा पनि मन अझ भारी भइरहेको थियो । उत्साहको भारी थियो । प्रेम र परेसानी दुवै दिने–लिने आफ्नै अंगजस्ता परिवारसँग केही दिन बिछोडिनुको नरमाइलोको भारी पनि थियो । र, थियो सम्भावित अज्ञात परिस्थितहरूको भारी !
गर्मी महिनाको इन्डियाको गर्मीको त्रासले सताइरहेको थियो एकातिर । अर्कोतिर, लुटिने खतराको त्रास । त्यसैले सुत्नुअघि नै घाँटीको सुनको सिक्री फुकालेँ तर औँलाको औँठी यथावत् । औँलैबाट त कसले उडाउला र !
नागरिकता र पासपोर्ट दुवै लैजाने विचार ग¥या थिएँ सुरुमा तर मध्यरात नागरिकता नेपालमै राखेर पासपोर्ट लिएर इन्डिया जाने निणर्य गरेँ । पर्सबाट स्वतन्त्र सरकारी प्रेस पास, ड्राइभिङ लाइसेन्स र नाथम कार्ड झिकेँ । ट्रेकिङ गाइड कार्ड पनि झिकेँ । पर्समा टुर गाइड कार्ड मात्र राखेँ । ती भारी थिएनन्, पकेटमारी भइहाल्यो भने कम्तीमा सबै परिचयपत्र नहराउन् भनेर त्यसो गरेको थिएँ ।
यी सामान्यझैँ लाग्ने तर मेरो यात्राअघिको मनस्थिति । मनोविज्ञान !
जानुअघि इन्डियाबारे त्यस्तो इम्प्रेसन थियो । दिउँसो एकजना भेटेको थिएँ, जो भन्दै थियो, ‘दिल्ली गए पनि चोरबजारचाहिँ जाँदै नजानु । त्यहाँ त तिम्रै सामान समेत तिमीलाई नै बेचिदिन्छ । फर्केर आउँदा फेरि त्यो पनि बाँकी रहन्न ।’
किस्साजस्तो सुनिने यस्ता अनेक कथा उपकथा इन्डिया जानुअघि मैले सुनेको थिएँ ।
यात्राका यादहरू लेख्दै गर्दा यसै रमाइलो ! मिठा त यसै मिठा हुने नै भए नमिठा समेत मिठा लाग्छन् सम्झनामा । किनभने तिनलाई भोग्नुपर्दैन । सम्झनामा सकस सुन्दर लाग्छ अनि कथाकहानी, कविता र गीतमा आँसु समेत रोमान्टिक ! दुःख भोग्न गाह्रो, तर दुःखको सम्झना सेक्सपियरका वियोगान्त नाटक हेरेजस्तो, जसले रुवाउन त रुवाउँछ तर त्यसको आनन्द कस्तो हुन्छ, मैले यहाँ व्याख्या गर्नुपर्ला त !
त्यसमाथि अन्तिम दिन काठमाडौँ फर्किंदा दिल्ली एयरपोर्टबाट ल्याएको ड्युटीफ्रीवाला रेड लेबलको लेबल घटाउँदै छु । सुरुमा पानी नहाली पहिलो पेग । त्यो सकाएर दोस्रोमा दौडिन थालिसकेँ । म रमरममा छु र रमाउँदै इन्डिया यात्राका यादहरू तपाईंलाई सुनाउँदै छु ।
यो त्यही दिल्ली एयरपोर्ट थियो, जहाँ सन् २०१८ मा मैले एयरपोर्टभित्रकै होटलमा रात बिताएको थिएँ । कारण हामी थिएनौँ र हाम्रो ढिलाइ थिएन । काठमाडौँबाट जहाज ठिक टाइममै उडेको थियो । दिल्ली अवतरण पनि टाइममै भइएको थियो तर दिल्लीबाट कोलम्बो जाने जहाज निर्धारित समयभन्दा पहिले उडिसक्या रहेछ । त्यसरी सोधभर्नामा हामीलाई मुफ्तमा एक रातको एयरपोर्ट बसाइ मिलेको थियो । श्रीलंका हिँडेका हामीलाई एउटै रुम दिइएको थियो । टन्नै टाइम थियो, त्यसैले घुम्नुसम्म घुम्यौँ एयरपोर्ट । निश्चित समयमैै गन्तव्य पुग्नुपर्ने अनिवार्यता नभएकाले हामीलाई त्यो एक गज्जबको अवसर बन्यो ।
तर नानीदेखि लाग्या यात्राको अघिल्लो रात नसुत्ने वा सुत्न नसक्ने बानीले के भएको थियो भने म काठमाडौँ एयरपोर्टबाटै बिरामीजस्तै भएर उडेको थिएँ । दिल्ली झर्दा टाउकोको एक साइड टनटनी भइरहेको थियो, फुट्लाजस्तो । तैपनि साथीसाथी सल्लाह भो, हल्का त हान्नैपर्छ ।
ह्विस्कीको नाम बिर्सें एयरपोर्टमै किनेर दुई पेग हान्देको ! त्यसपछि त के चाहियो र ! टाउको फुट्न मात्र बाँकी भो । रातभर निदाउन सकिनँ तर अहिले घरमै बसेर पेग हान्न क्या मज्जा आइरा छ ।
रमरम ! रमरम ! रेड लेबलको रमरम ! चियर्स पाठक ब्रो एन्ड सिस् !
एयरपोर्ट विचित्र वा सबै–सबै चित्रको महाचित्र । हाँस्ने त्यहीँ रुने त्यहीँ, आउने त्यहीँ जाने त्यहीँ— अनेक देश–महादेशका मान्छेका अनेक रंग, ढंग, बेढंग र उमंग ।
म बल्ल बल्खु आइपुग्या छु । अर्थात् इन्डिया यात्रा सुरु नै भएको छैन । म नेपालकै राजधानीमा छु । राजधानीको रिङरोडभित्रै छु तर मनले केही दिनदेखि दशगजा पार गरिसक्या छ । त्यो मनको कुरा हो तर मनले मात्र हुने भए किन इन्डिया जानुपथ्र्यो ? किन जानुपथ्र्यो चीन ? वा किन जानुपथ्र्यो फिकुरी ? किन जानुपथ्र्यो लाङटाङ ?
बल्खुको ट्राफिक लाइटमा हकरहरू बिच सडकमै तान्न आए । एउटाले तानेरै लग्यो । तान्दै छ, भन्दै छ, ‘राम्रो जिप, राम्रो सिट । टिकट काटिहाल्नुस् ।’
जानु त छँदै थियो, त्यसैले काटी पनि हालेँ । पछाडिको एक कुनामा मेरो सिट रैछ, बसी पनि हालेँ ।
सुरुमा माग्या थियो, दिइनँ । एक छिनपछि दिएँ, ड्राइभर आगो ! भनभुनाउँदै थियो । तैपनि ल्यापटपलाई काखमा राखेर बाहेकको ब्याग उसलाई दिएँ । ऊ फेरि हुट उक्लियो ।
‘वीरगन्ज पुग्न कति घन्टा लाग्छ ?’
ऊ केही बोलेन । फेरि सोधेँ स्टेरिङ नसमात्दैको ड्राइभरलाई ।
‘पाँच घन्टा,’ बल्लबल्ल बोल्यो ।
टाइममा ब्याग नदिएको झोँकमा ऊ मसँग कालो भइरहेको थियो ।
अघिल्लो सिटमा बसेकी अर्की काली रिसले अझ काली भइरहेकी थिई । खासमा भएको के रहेछ भने ६ः३० मै जिप हिँड्छ भनेर उसलाई टिकट कटाएछन् । ६ः३० भयो, जिप हिँडेन । ७ः०० बज्यो तैपनि हिँडेन । हिँडेको भए त म कहाँ त्यो जिपको लास्ट सिटमा हुन्थेँ त ?
मलाई ७ः०० बजे एरेस्ट गरेका थिए, तपाईं चढ्नेबित्तिकै जिप हिँडिहाल्छ भन्दै बल्खुको ट्राफिक लाइटबाट ।
७ः३० भयो । फेरि पनि जिप जहीँको तहीँ ।
‘कत्ति कुर्नु ? कुर्नको पनि हद हुन्छ नि ? मेरो पैसा फिर्ता देउ,’ कुर्दाकुर्दा हैरान भइसकेकी ऊ छिनछिनमा च्याँट्ठिँदै थिई ।
जिपले रिङरोड छोड्यो ८ बजे । अघिकी हल्लावाली शान्तिदेवी भई । ऊ अब काली रहिन । सबसे पछाडि सिटको मैले कसरी उसको रंग थाहा पाएँ हुँला ?
मान्छेको रंग छालामा मात्र होइन, व्यवहारमा पनि हुन्छ । ऊ अघि छिटो किन नहिँड्या भनेर हल्ला गर्दै थिई र रिसले चुर भइसकेकी थिई । रिसलाई रंगमा हेरेको मैले पछाडिबाटै उसलाई गोरी देख्न थालेँ, किनकि उसमा अब रिस बाँकी थिएन । ऊ हल्ला गरिरहेकी थिइनँ, अघिजस्तो । बरु ऊ त यो वर्षामा पनि हिउँदको नदीजस्तै शान्त थिई । बरु नजिकै चोभारको गल्छीमा बागमती हल्ला गर्दै काठमाडौँबाट बाहिरिँदै थिई ।
ऊ सबभन्दा अघिल्लो सिटमा शान्त । म सबभन्दा पछिल्लो सिटमा शान्त । तर, के हामी साँच्चै शान्त थियौँ ? के जिपमा भए भरका सबै शान्त थिए ? शान्त हुनु र शान्त देखिनुमा कति फरक छ ? शान्त नदेखिनु तर शान्त हुनु सम्भव छ ? शान्त देखिनु र शान्त पनि हुनु सम्भव छ ? वा यी सब बुद्धिविलासका कन्टेन्ट हुन् ?
दोस्रो पेग पनि सकिएछ, तेस्रो पेगमा जाउँ कि नाइँ ? रमरम त बाँकी नै छ ।
पहिलो च्याप्टरका क्यारेक्टरहरू सुकन्या र सरिष्मा ड्रिंक्स गर्छन् वा गर्दैनन् ? उनीहरूसँग सँगै चियर्स् हुन्छ कि नाइँ ?
तेस्रो च्याप्टरका लागि रातोपाटी हेर्दै गर्नुहोला ।
(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावनादूत तथा अप्प दीपो भवः, श्रीलंका स्मृति, लेखक दुनियाँ र कलमका सर्जक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण