भारतमा भौँतारिएर फर्केको भोलिपल्ट
‘हजुर दिल्लीमै हो ?’ सिनामंगलकी सुकन्याले सोधिन् ।
‘म त काठमाडौँ आइसकेँ, यता आएको पनि एक रात भइसक्यो ।’
‘ए, हो र ? मैले त हजुरको फेसबुकमा इन्डिया गेटको भिडियो भर्खर देखेँ । अनि कल गरेको नि ।’
‘किन ? केही थियो र ?’
‘सामान ल्याइदिनुहुन्थ्यो कि भनेर नि ! मेरी बहिनीको घर दिल्लीमै हो ।’
‘पहाडगञ्ज ?’
‘होइन, द्वारिकामोड ।’
‘ज्वाइँ उतैको ?’
‘हो ?’
‘पहाडिया हो ?’
‘होइन, उतैको होइसिन्छ ।’
‘ओके ।’
यसरी म यात्रा अगाडि, यात्रामा र यात्रापछि पनि प्रश्नहरूले घेरिएको छु । मलाई प्रश्नहरूले स्कर्टिङ गरिरहेका छन् । यी प्रश्नहरूले मलाई उत्तर भन्छन् । म तिनलाई हिप्पी स्टाइलमा टिपोट गर्नेछु र क्रमशः रातोपाटीमा ट्रान्सक्राइब गर्नेछु ।
‘बहिनी–ज्वाइँको ठुलो गार्मेन्ट फ्याक्ट्री छ । हजुरलाई फ्याक्ट्री भिजिट गर्न पनि हुन्थ्यो अनि ज्वाइँको फ्याक्ट्रीबाट हजुरले केही जोर कपडा पनि ल्याइदिनुहुन्थ्यो कि भनेर कल गर्या थिएँ ।’
‘हुन्थ्यो नि,’ मैले त्यति मात्र भनिनँ, थपेँ, ‘फ्याक्ट्री भिजिट पनि पार्ट अफ दिल्ली टुर हो नि । दिल्ली टुर भन्या इन्डिया गेट, लालकिल्ला, चाँदनी चोक, राजघाट, अक्षरधाम र यस्तै चर्चित प्वाइन्ट जानु र त्यहाँ फोटो खिच्नु मात्र होइन । यो भन्या त अनेक खालका फ्याक्ट्री भिजिट गर्नु हो, दौडिरहेका असंख्य गाडीहरूबिच सडक पार गर्नु हो, सडकपेटीमा उभिएर गाडीहरूको गति र गाडीभित्रका मान्छेका मति नियाल्नु हो, गल्लीहरूमा हिँड्नु हो, हराउनु हो र भेटिनु पनि हो । तर, यो पटक माछो झैं यो मौका हातबाट उम्किसक्यो । म काठमाडौं आइसकेँ । अर्कोपटक जाँदा नबिर्सी खबर गरौँला । हस् !’
‘अब कहिले गइसिन्छ ?’
‘भर्खर त फर्केको छु । दिल्ली दुर नहीँ हे भाइ । हाहाहा ! के थाहा, भोलि नै उड्छु कि ? गुड्छु कि ? हिँड्छु कि ? म त खास उद्देश्य र योजनाविना पनि ह्वात्तै हुत्तिदिन्छु । यसपालि पनि त्यसरी नै म दिल्ली पुग्या हुँ, बल्खुबाट भीमफेदी हुँदै हेटौँडा निस्केर वीरगञ्ज, रक्सौल, दरभंगा, पटना, गया, बोधगया, औरगंवाद, आग्रा, वृन्दावन, मथुरा, जयपुर डुल्दै । कहीँ ट्रेनमा, कहीँ बसमा, कहीँ अटोमा, कहीँ ट्याक्सीमा ।’
‘तिमीले बेलैमा भनेको भए म सुटकेस र एक सुटकेसै सामान ल्याइदिन्थेँ । किनभने यो यात्रामा म सुटकेसविनै गएको थिएँ,’ ऊ सुन्दै थिई ।
‘त्यो त मैले देख्या हो, हजुरको कुनचाहिँ भिडियोमा हो ! केटाहरू यात्रामा जाँदा खासै केही बोक्दैनन् । हामीजस्तो कहाँ हो र केटाहरू !’ कतै लामो यात्रामा केटा वा केटी भएर हिँड्नुको उसको बुझाइको फरक बुझाउँदै उसले भनी ।
मैले ब्याग बोकेको कुनै भिडियो बनाएको थिइनँ, न त कतै पोस्ट नै गरेको थिएँ तर मैले कुनै प्रतिक्रिया जनाइनँ । अचेल ऊ, म र हामीजस्ता धेरैको जिन्दगीको यथार्थ हो भर्चुअल भ्रम । भर्चुअल भ्रमबारे कतै चर्चा गरौँला ।
‘हो, खासै केही बोक्या थिइनँ ।’
सामान्य ट्रेकिङ ब्यागमा थिएँ । जयपुरबाट हल्कावाला लेदर चप्पल, चाँदनी चोकबाट स्पिनर र दिल्ली एयरपोर्टबाट एउटा रेडलेबलबाहेक केही ल्याइनँ । खालीखाली आएँ तर अनेक अनुभव, अनुभूति, स्मृतिहरू लिएर म नेपाल आएको छु । र आएको छु त्रिशानको प्रश्नको उत्तर भएर ।
इन्डिया हिँडेको दिनदेखि हरेक दिन उसको एउटै प्रश्न थियो, ‘बाबा ! कहिले आउने ?’
ऊ स्कुल जाने बेला भइसक्यो । बिहानको ७ः४५ मा मिलिजुली चोकमा स्कुल बस आउँछ । चोक घरबाट पाँच मिनेटको पैदल दूरीमा छ । यत्तिका दिनपछि अर्थात् इन्डिया यात्राको सात रात आठ दिनपछि मलाई ऊ स्कुल बस चढेको हेर्नु छ । उसको स्कुल ब्याग एक हातमा बोकेर अर्को हातले उसका औँला समाएर हिँड्नु छ । बाउछोराले बाउछोराको कुरा गर्नु छ ।
घरबाट निक्लनुअघि मेसेन्जरमा एकजना केटी कविको फोन आउँछ, तर उठाउने जाँगर चल्दैन । मोबाइल साइलेन्स मोडमा राखिदिन्छु । तत्काल अनसेभ्ड नम्बरबाट कल आउँछ ।
शंका लाग्छ, यो उसैको कल हो । शंकालाई यथावत् राख्दै कल उठाउँछु, न केही इमर्जेन्सी पर्यो कि !
सानो मसिनो स्वरमा ‘हेलो’ आउँछ ।
‘को बोल्या ?’
‘ऊ नाम भन्दिनँ,’ उसको नाम सरिष्मा हो ।
‘अझै नचिन्या ?’ सरिष्मा स्वर चर्को पार्छे ।
‘हो त,’ मैले चिनेर पनि नचिन्या भन्दिन्छु ।
‘नम्बर सेभ्ड छैन ?’
‘छैन रैछ ।’
‘थियो त ?’
‘थियो ।’
‘अनि ?’
‘डिलिट भएछ ।’
‘डिलिट भा हैन, गर्या होला ।’
‘गर्या होइन, भएछ ।’
‘नम्बर पनि डिलिट गर्दिने ! अनि स्वर पनि बिर्सने ! ठिकै छ,’ ऊ हल्का लाडिँदै ठुस्किन्छे ।
‘स्वर मात्र होइन, अचेल म धेरै कुरा बिर्सन्छु’, त्यसो भनिरहँदा साँच्चै म सम्झनाहीन भएको थिएँ । सायद म मसँग थिएँ, मात्र तत्बेलाको मसँग । सायद म ऊसँग थिएँ, मात्र तत्बेलाको ऊसँग । तर त्यो एक निमेषको मात्र अवस्था थियो । त्यसपछि फेरि म स्मृतिलोकतिर आइहालेँ ।
‘ए साँच्ची ! बोधगयाबाट मैलै तिमीलाई सुन्न भनेर कल गर्या थिएँ, किन हो, मलाई त्यतिबेला तिम्रो कवितामा तिम्रो स्वर सुन्न मन लाग्या थियो तर मेसेन्जरको कल उठाइनौ !’
‘ओ हो ! हामीले एक अर्कामा मेसेज पनि गर्या थियौँ । तिमीलाई त्यसपछि पो कल गर्या हो तर तिमीले उठाइनौ । अनि मेसेन्जरमा भनेकी थियौ, केही दिनदेखि घाँटीमा प्रब्लम छ’, मैले थप स्मृति सुनाएँ ।
‘खासमा मैले तिम्रो पुराना चल्तीका होइन, कतै नछापिएका, रिसाइट नगरिएका भर्जिन कविता सुन्न खोजेको थिएँ, जहाँ तिमी बुद्धका गीत गाउ, शान्ति गाउ, त्याग गाउ, आफैँलाई गाउ, निर्वाण गाउ, अप्प दीपो भवः गाउ ।’
‘त्यो सब बिर्सेंछु’, सारमा भनेँ ।
‘त्यो त राम्रो नि यार !’
मलाई यार भन्ने कमरेड कविले राम्रो भनेर साँच्चै राम्रो भनिरहेकी थिई कि नराम्रो म राम्ररी भन्न सक्दिनँ, तर उसको कुरा गर्ने शैली मलाई यात्राजस्तै मिठो लाग्छ ।
‘काठमाडौँ आइपुग्या हो र ?’
‘हो नि, केही दिन इन्डिया बरालिएर ।’
‘मस्ती छ यार तपाईंलाई ! मैले त बाटैमा हुनुहोला भन्ठान्दै तैपनि एकपटक गरिहालुँ भनेर कल गरेकी थिएँ । बाटोमा जुत्ता छोड्दै हिँड्नुभाथ्यो जयपुरमा । त्यसरी जुत्ता छोड्न भए नि यार !’ म सुन्दै थिएँ कमरेड कविलाई, त्रिशान पुलुकपुलक आँखा मतिर उकाल्दै थियो ।
केही वर्षअघि जयपुर लिटरेचर फेस्टिभल जाँदाका उसका अनुभव एक दिन सुनाउँछु भन्दै थिई, ‘अरु के छ कमरेड ?’
‘नयाँ खास केही छैन । पुराना सब त्यही छन् । ती पनि प्रायः बिर्सन्छु । जस्तो कि तिम्रो स्वर । बिर्सिनु, बरालिनु, यस्तै छ जिन्दगी !’
‘मस्ती छ यार तपाईंलाई !’
‘हो, तर के मस्ती भन्नु ! अनि के मस्ती होइन भन्नु ! किन हो केही छुँदैन, केहीले छुँदैन । छोए पनि डोजै पुग्दैन । के यो फ्रस्टेसन हो ? के यो उक्लँदो उमेरको असरदार असर हो ? वा यो मोक्षपथको प्रथम पाइला ? पछिल्लो स्टेटमेन्ट तथाकथित सुनिएला, तर प्र्रश्न गर्न त पाइयो नि । न हो ! के थाहा ? जेसुकै होस्, म ठुला र असंख्य प्रश्नहरूले घेरिएको छु ।’
एउटा समय थियो, विचारले छुन्थ्यो, विवेचनाले छुन्थ्यो, कथाले छुन्थ्यो, कविताले छुन्थ्यो, गीतले छुन्थ्यो । अचेल पनि गीतले चाहिँ छुन्छ तर खासगरी शब्द नबुझिने गीतले ।
म ऊसँग बग्दै छु । यस्ता थोरै मान्छे हुन्छन्, जोसँग बग्न कुनै बाढी चाहिन्न, जोसँग बग्न कुनै मौसम चाहिन्न, जोसँग अनायास बगिन्छ, ऊसँग म त्यसरी बगिदिन्छु, जसरी गुडिरहेको ट्रेनको झ्यालबाट परपरका रुखहरू नबगेरै बगिरहेका हुन्छन् । पानीविनाको फाल्गु नदीजस्तो जो सीताश्रापित छ र पनि पितृ पिण्डदानका लागि प्रसिद्ध छ, म त्यहीँ पनि बगिदिन्छु ऊसँग । फाल्गुबारे पछि फलाकौँला ।
‘अचेल किन न्युजले छुँदैन मलाई ? अचेल किन कुनै तर्कले छुँदैन मलाई ? अचेल किन कविताहरूले छुँदैन मलाई, यत्तिसम्म कि भूपिका कविताहरूले, यत्तिसम्म कि देवकोटाका कविताहरूले, यत्तिसम्म कि रिमालका कविताहरूले !’
उनीहरूका कविता धेरै सुनियो नि, धेरैपटक । त्यसैले ती नयाँ लाग्दैनन् र तान्दैनन् मलाई । बरु यमबुद्ध, भिटेन, गिरिश, लाहुरे, बालेन वा जी–बबहरू मन पर्छन् । बरु डाङडुङवाला र्याप मन पर्छन्, व्याकरण नमिलेका, भाषा नमिलेका, मल्टी रिलिकल, मल्टी मिनिङवाला ।
सबै र्याप त्यस्ता हुन्छन् भन्या होइन र हुँदैनन् पनि तर पनि ती मनपर्छन् । किनभने ती प्रांगारिक लाग्छन् मलाई । बरु तिनले रोक्छन् मलाई । बरु तिनले तान्छन् मलाई । बरु अरु भाषाका गीत मन पर्छन् । जस्तो कि चाइनीज वा स्पेनिस वा ती भाषाका गीत जो म शब्दले बुझ्दिनँ, मलाई ती गीत मन पर्छन्, जहाँ म संगीत मात्र बुझ्छु ।
तिनले ‘मेरो दुनियाँ’मा लैजान्छन् मलाई । जहाँ अरु केही पाउन्न, पाउँछु शान्तिको महाशासन ।
शब्दभन्दा संगीतले तान्छ अचेल । संगीत चाहे संगीतयन्त्रको होस् वा चराचुरुङ्गीको होस् वा होस् नदी, झरी, झरना वा हावाको ।
बरु अट्टहास मन पर्छ, बरु मन पर्छ इन्डियामा जहाँजतै सडक र चोकहरूमा बज्ने ननस्टप असंख्य हर्नहरू ।
यस्तै यस्तै ।
मलाई किन यस्तो हुन्छ ? म होचै छु तर मभन्दा अग्ला प्रश्नहरू मवरिपरि ! मलाई प्रश्नैप्रश्नले स्कर्टिङ गर्छन् र प्रश्नहरूले घेरिएर, छोपिएर कहिले यता कहिले उता अनि कहिले त्यता र कताकता पुग्छु ।
भर्खरै म इन्डियाबाट फर्केको छु ।
‘मलाई अचेल प्रश्नहरू नै असलमा सबभन्दा असल उत्तर लाग्छन् ।’
‘तपाईंको कुरा सुन्दा तपाईंलाई मैले नभेटी सुखै छैन । कहिले भेट्ने हो कमरेड ? भेटिहालौँ’, ऊ भन्छे ।
‘ओके, एक दिन चाँडै हाइक गरौँला, शिवपुरीतिर अनि मज्जाले गफ गरौँला । हुन्न ?’
‘ओके छ त !’
स्कुलबस आइपुग्या छैन । त्यही स्टेसन भएर स्कुल जानेहरूसँग १ कक्षे छोरो के–के कुरा गर्दै छ ! आ–आफ्ना साथी हुन्छन् नि ! फोन काटिएपछि ऊ सीधै मतिर, मेरो मोबाइलतिर आउँछ र सोध्छ, ‘तिमी इन्डिया गएर आएको होइन ?’
‘हो, हेर फोटो’ भन्दै ग्यालरी खोलिदिन्छु ।
‘यो कहाँ हो ?’ ग्यालरी स्क्रोल गर्दै गर्दा एउटा फोटोमा अड्किएर उसले सोध्यो ।
‘मथुरा । कृष्ण जन्मेको ठाउँ ।’
‘तिम्ले कृष्णलाई भेट्यौ ?’ हरेक कृष्णाष्टमीमा बालकृष्ण रूप धारण गर्ने त्रिशानले सोध्यो ।
उसको प्रश्न साधारण । उसको प्रश्न असाधारण !
अघि मैले भनेँ नि, म प्रश्नले घेरिएको छु अचेल । घरमा, वनमा, मनमा ।
कहिले त्यो प्रश्न त्रिशान रूपमा आउँछ । प्रश्न कहिले अघि फोनको कवि साथी बनेर आउँछे । प्रश्न कहिले रक्सोलदेखि राजस्थानसम्मको रेल रूपमा आउँछ ।
प्रश्न कहिले दिल्लीको केएफसी बनेर आउँछ । प्रश्न कहिले कवाडीको सानदार बिजनेस चलाएर धादिङबेसी बस्ने दरभंगाको बलराम बनेर आउँछ । प्रश्न कहिले विहारबाट दिल्ली पुगेर अटो चलाउँदै गरेको रविनाथ बनेर आउँछ । प्रश्न कहिले जयपुरको ढावामा भेटिएका दुई नेपाली सुन्दरीहरू भएर आउँछ । एउटीको ओठमाथिको कोठी झन् ठुलो प्रश्न !
प्रश्न कहिले हावामहल अगाडिको जुत्ता पसल भएर आउँछ, बोधगयाबाट औरंगावाद जाँदा बसमा सँगै परेको पछिल्लो दश वर्षदेखि सिक्किममा मिडिया टेक्निसियनका रुपमा कार्यरत विहारी सञ्जीव भएर आउँछ, मध्यरात पटना रेल स्टेसनबाहिर भेटिएका ट्याक्सी ड्राइभरहरू भएर आउँछ, ताजमहल प्रश्न बन्छ कहिले र इन्डिया गेट प्रश्न बन्छ कहिले ।
यसरी म यात्रा अगाडि, यात्रामा र यात्रापछि पनि प्रश्नहरूले घेरिएको छु । मलाई प्रश्नहरूले स्कर्टिङ गरिरहेका छन् । यी प्रश्नहरूले मलाई उत्तर भन्छन् । म तिनलाई हिप्पी स्टाइलमा टिपोट गर्नेछु र क्रमशः रातोपाटीमा ट्रान्सक्राइब गर्नेछु ।
(नोटः शीर्षकमा ‘भारत’ लेखे पनि मेरो पछिल्लो यात्राको ‘नियात्रा’ सुरु गर्नुअघि सुरुमै अलमल मलाई भारत भनौँ कि इन्डिया ? वा भनौँ हिन्दुस्तान ? यसबारे कुनै अर्को च्याप्टरमा चर्चा गरौँला । यहाँचाहिँ इन्डिया नै भन्दिउँ ।)
(घुम्ने–घुमाउने, लेख्ने–लेखाउने र पढ्ने–पढाउने स्वतन्त्र पत्रकार अशोक सिलवाल लाङटाङ सद्भावनादूत तथा ‘अप्प दीपो भवः’, ‘श्रीलंका स्मृति’, ‘लेखक दुनियाँ’ र ‘कलम’का सर्जक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण