‘गर्भ बस्दैमा मर्नु पर्दैन भन्ने थाहा पाएकी भए सायद मेरी छोरी बाँच्थी होला’
सारांश
- कैलालीकी एक किशोरीले विवाह अघि गर्भ रहेपछि आत्महत्या गरिन्, जसको कारण सामाजिक बहिष्कारको डर थियो।
- बर्दियाकी एक किशोरीले पनि विवाह अघि गर्भ रहेपछि बच्चा जन्माउन बाध्य भइन् र अहिले बच्चाको पिता खोज्दैछिन्।
- स्वास्थ्यकर्मीहरूले किशोरकिशोरीहरूलाई प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनबारे सचेत गराउनुपर्ने बताएका छन्।
धनगढी । ‘बिहे नगरेका महिलाले गर्भ बसे मर्नु पर्दैन’ भन्ने कुरा आफ्नी छोरीले थाहा पाएको भए सायद ऊ बाँच्ने थिइ होला भन्ने लाग्छ कैलालीकी मनसरा (नाम परिवर्तन)लाई ।
उनकी १५ वर्षीय छोरी रजनीले बिहे नहुँदै गर्भ बसेका कारण एक वर्षअघि आत्महत्या गरेकी थिइन् । कक्षा ९ मा पढ्ने उनको घर–परिवारको आर्थिक अवस्था कमजोर थियो । मनसराका अनुसार उमेर परिपक्व नहुँदै एक जना ट्रक चालकसित रजनी प्रेममा परेकी थिइन् ।
ती चालकले रजनीको प्रेमको फाइदा उठाए । रजनी गर्भवती बनिन् । आफू गर्भवती भएको कुरा रजनीले दुई महिनापछि थाहा पाइन् । त्यो वेला उनी निकै तनावमा रहिछन् । परिवार र समाजको डरले उनले आफ्नो अवस्थाबारे कसैलाई भन्ने आँट गरिनन् ।
आमा मनसराले पनि यो कुरा थाहा पाउन सकिनन् । ट्रक चालक रजनीको सम्पर्कमा थिएनन् । अन्ततः रजनीले मृत्युको बाटो रोजिन् ।
पोस्टमार्टम रिपोर्टमा रजनी तीन महिनाकी गर्भवती रहेको तथ्य प्रकाशमा आयो । गर्भ बसेका कारण सामाजिक बहिष्कार हुने डरले रजनीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो ।
‘मेरी फूलजस्ती छोरी बचाउन सकिनँ । पढाईमा राम्री थिइ । ऊ अञ्जानमै आफूलाई यति ठुलो सजाय दिएर बिदा भइ,’ मनसराले भनिन् ।
रजनीलाई गर्भवती बनाउने मान्छेका बारेमा आफूहरूले थाहा नपाउँदा आत्महत्या दुरुत्साहन र जबर्जस्ती करणीको मुद्दा पनि लगाउन नसकिएको मनसरा बताउँछिन् ।
‘मेरी फूलजस्ती छोरी बचाउन सकिनँ । पढाईमा राम्री थिइ । ऊ अञ्जानमै आफूलाई यति ठुलो सजाय दिएर बिदा भइ,’ मनसराले भनिन् ।
सुरक्षित गर्भपतनको बारेमा रजनीले थाहा पाएको भए सायद उसले मर्नु पर्दैन थियो होलाजस्तो मनसरालाई लागिरहन्छ । आफूले पनि छोरीसँग नजिक भएर उसको मनका कुरा बुझ्ने कोसिस गरेको भए हुन्थ्यो होला भन्ने पनि मनसरालाई लाग्छ ।
‘उसले प्राण गुमाउनुमा म पनि दोषी छु भन्ने लाग्छ । किशोर अवस्थामा उसले के गर्ने, कोसँग सङ्गत गर्ने, कसैले गलत गरे के गर्ने भन्नेबारे सही निर्णय लिन सकिन,’ मनसराले भनिन्, ‘गर्भ बसिहाले पनि गोपनीयता अपनाएर सुरक्षित गर्भपतन सेवा उपभोग गरेर छोरीलाई बचाउन सकिन्थ्यो, तर त्यसो गर्न सकिएन ।’
रजनीजस्तै गर्भ बसेर सामाजिक बहिष्कारको डरले अन्य किशोरीहरूले पनि गलत बाटो रोज्ने गरेका धेरै घटना छन् । यद्यपि पछिल्लो समय यस्ता कुरामा किशोरीहरू सचेत भएको स्वास्थ्य स्वयंसेविका राधा चौधरीले बताइन् ।
चौधरीका अनुसार अहिले पनि कतिपयले गर्भ बसे पनि सामाजिक डरका कारण समयमै सुरक्षित गर्भपतन सेवा लिन नसक्दा समस्या झेलिरहेका छन् । यसको उदाहरण बनेकी छन् बर्दिया, बाँसगढीकी १७ वर्षीय किशोरी दीप्ति (नाम परिवर्तन) । दुई महिना अघि उनी न्याय माग्दै धनगढीको एक सामाजिक संस्थाको शरणमा आइपुगेकी थिइन् । उनको साथमा एक महिनाको बच्चा थियो ।
समयमै सुरक्षित गर्भपतन गरेको भए सामाजिक बहिष्कारसँगै आमाको जिम्मवारी निर्वाह गर्नुपर्ने र बच्चाको पिता खोज्न यसरी भौँतारिनुपर्ने थिएन भन्ने दिप्तीलाई लाग्छ ।
एक वर्ष अघि दिप्तीको धनगढीकै एक युवकसँग फेसबुकबाट प्रेम बस्यो । ती युवक दिप्तीलाई भेट्न धनगढीबाट बाँसगढीमा पुगे । उनीहरूको त्यही भेटमा शारीरिक सम्बन्ध कायम भयो । दिप्तीले आफू गर्भवती भएको थाहा पाएपछि ती युवकलाई सुनाइन् । युवकले गर्भ फाल्ने औषधि किन्न लाज लाग्ने भन्दै दिप्तीलाई आफैँ किनेर खान सल्लाह दिए । दिप्तीले गाउँकै मेडिकलबाट औषधि किन्ने आँट गरिनन् । समय बित्दै गयो । अन्ततः सुरक्षित गर्भपतन गर्ने समय कटेपछि उनी बच्चा जन्माउन बाध्य भइन् ।
बिहे नगरी बच्चा जन्माएको भन्दै गाउँमा दिप्तीका परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलियो । सुरक्षित गर्भपतन सेवा लिन नसकेकोमा दीप्ति पछुतो मान्दैछिन् । उनी बच्चालाई बाउको नाम दिन ती युवकको खोजीमा धनगढी आएकी हुन् ।
समयमै सुरक्षित गर्भपतन गरेको भए सामाजिक बहिष्कारसँगै आमाको जिम्मवारी निर्वाह गर्नुपर्ने र बच्चाको पिता खोज्न यसरी भौँतारिनुपर्ने थिएन भन्ने दिप्तीलाई लाग्छ । ती युवकले अहिले बच्चा स्वीकार नगर्ने र दिप्तीसँग बिहे पनि नगर्ने भनिरहेका छन् । यसबारे प्रहरी कार्यालयमा समेत उजुरी परिसकेको छ ।
‘पढाई छोड्नु पर्यो । परिवारको बेइज्जत भयो । अब यो बच्चा कसरी हुर्काउँ ? कहाँ जाउँ ?’ दिप्तीले रुँदै भनिन् ।
कैलालीको चुरे गाउँपालिकाकी १६ वर्षीय एक किशोरी बिहे नहुँदै आमा बनेपछि ६ महिना अघि वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनी गर्भवती भएको कुरा गाउँका मान्छेले थाहा पाए । केटो पनि गाउँकै भएकाले दुवैको परिवार मिलेर बिहे गराइदिए । अहिले ती किशोरी आमा बनिसकेकी छन् । सँगैका साथीहरू किताब–कपी च्यापेर पढ्न गइरहेका छन् भने उनीचाहिँ बच्चा काखमा च्यापेर बस्न बाध्य भएकी छन् ।
बजारका क्लिनिकमा जथाभाबी औषधि सेवन गरेर जोखिम भएपछि सरकारी अस्पतालमा आउने किशोरीहरू पनि धेरै रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश विष्टले बताए ।
आगामी दिनमा यस्तो समस्या आउन नदिन ‘प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका बारेमा सिकाउन आवश्यक रहेको स्वास्थ्यकर्मी मीना विकले बताइन् । उनका अनुसार सबैभन्दा पहिला स्कुल पढ्ने किशोरीहरूलाई २० वर्ष नपुञ्जेल कुनै पनि हालतमा शारीरिक सम्पर्क नराख्ने, कसैले जबर्जस्ती गर्न खोजिरहेको छ भने शिक्षक, शिक्षिका र घरका मान्छेलाई भन्नुपर्छ भन्ने कुरा सिकाउन अति आवश्यक छ । यदि कुनै कारणमा गर्भ बसिहाले पनि ठुलो जोखिमबाट बच्न सुरक्षित गर्भपतनबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।
स्वास्थ्यकर्मी हिमा उपाध्यायका अनुसार स्कुलमा किशोर–किशोरीहरूलाई प्रजनन तथा यौन स्वास्थ्यबारे हरेक हप्ता अनिवार्य पढाउन र बुझाउन आवश्यक छ । घरमा पनि ठुलाले सानालाई यस्ता कुरा सिकाउन जरुरी रहेको उनको भनाइ छ ।
‘बिहे नगरेका महिलाले गर्भ बसे मर्नु पर्दैन,’ उपाध्यायले भनिन्, ‘कतिपयले यही कुरा थाहा नपाएर ज्यान गुमाएका पनि छन् । अहिले त विभिन्न सुविधा छन् । त्यसरी ज्यानै फाल्नुपर्ने अवस्था छैन भन्ने कुरा किशोरीहरूलाई बुझाउन आवश्यक छ ।’
उनका अनुसार सुरक्षित गर्भपतन सेवाले धेरै किशोरीको ‘करिअर’मा सहयोग पुर्याएको छ । ‘प्रजनन स्वास्थ्यबारे चेतनाको अभावमा कतिपय किशोर उमेरमै आमा बनेका छन्,’ उनले भनिन्, ‘पढ्ने उमेरका छोरी आमा बनेपछि उनीहरू झन् समस्या पर्छन् ।’
बजारका क्लिनिकमा जथाभाबी औषधि सेवन गरेर जोखिम भएपछि सरकारी अस्पतालमा आउने किशोरीहरू पनि धेरै रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश विष्टले बताए । जथाभाबी औषधि सेवन गरेर जोखिम निम्त्याउनभन्दा सुरक्षित गर्भपतन सेवा लिनु उत्तम हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण