बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी गम्भीर सङ्कटबाट गुज्रिरहेकाे छ, पुनर्गठन गराैँ : जनार्दन शर्मा

मङ्गलबार, १३ साउन २०८२, १९ : ०७
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारेको भ्रम बुझ्न आग्रह गर्दै पुनर्गठनमा जोड दिए।
  • उनले पार्टीभित्रको वैचारिक अस्पष्टता हटाउन, नयाँ पुस्ताको भावना सम्बोधन गर्न सुझाव दिए।
  • शर्माले देशको संकट समाधानका लागि संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टी पुनर्गठन आवश्यक रहेको बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले चार बुँदामा भ्रम र तथ्यहरू बुझ्न आग्रह गरेका हुन् । 

विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्य योजना तयार पार्न पार्टीको पुनर्गठन गर्नुपर्ने उनले सुझाव दिए । 

विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिवेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन उनले आग्रह गरेका छन् ।

गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार असारदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गर्न आग्रह गरेका छन् । यसो हुँदा पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उनको विश्वास छ । 

पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन समेत उनले आग्रह गरेका छन् । 

'यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर सङ्कटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन,अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो ।शर्माले फेसबुकमा लेखेका छन्,'अर्थतन्त्रको पुनर्संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले सङ्कटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ ।'

देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने उनले बताए । 

संविधान संशोधन,शासकीय स्वरूप,चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरूमा राष्ट्रलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप