बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कस्ता छन् एमालेविरुद्ध ‘गोयबल्स शैली’मा उत्रेका चार प्रकारका शक्ति ?

बुधबार, १४ साउन २०८२, १७ : ००
बुधबार, १४ साउन २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कमजोर बनाउन लागिपरेका चार शक्तिलाई परास्त गर्न निर्देशन दिएका छन्।
  • एमालेले देशभक्तिपूर्ण अडान मन नपराउने, राजसंस्था पुनःस्थापनाको चाहना राख्ने, माओवादी केन्द्र र वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोक्ने शक्तिहरूलाई विपक्षीको रूपमा लिएको छ।
  • एमालेले यी शक्तिहरूले पार्टीविरुद्ध गरिरहेको 'षडयन्त्रपूर्ण र नियोजित हमला'को प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ, र मिसन ८४ को लागि आधार तयार पार्ने जनाएको छ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कमजोर बनाउन चार प्रकारका शक्ति लागिरहेको भन्दै त्यस्ता शक्तिलाई परास्त गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

साउन पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूविरुद्ध लागेका चार प्रकारका शक्तिको व्याख्या गरेका हुन् । भदौ २० देखि सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको अन्तरवस्तुमा आधारित रहेर अध्यक्ष ओलीले एमाले र नेतृत्व विरुद्ध लागेका शक्तिका प्रकारबारे व्याख्या गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘पछिल्लो समयमा हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको छ । यस्तो किन भइरहेको छ ? भन्ने कुरा पार्टीपंक्तिले बुझ्नुपर्छ र त्यसको सशक्त प्रतिवाद गर्नुपर्छ,’ ओलीले केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै भनेका थिए ।

बैठकपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन १२ मा पनि सोही विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

‘यतिबेला हाम्रा विरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कूप्रचारमा लागेका छन्’, ओलीले हस्ताक्षर गरेर साउन १२ गते जारी भएको अपानिमा भनिएको छ, ‘उनीहरू गोयबल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरुद्धमा दुरूपयोग गरिरहेका छन् ।’

एमालेले आफूविरुद्ध कूप्रचारमा लागेको पहिलो शक्तिका रुपमा आफ्नो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउनेहरु रहेको पनि जनाएको छ ।

‘हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति । जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ’, एमालेले भनेको छ ।

त्यस्तो शक्तिले आफ्नो प्रभावलाई एमालेविरुद्ध परिचालित गरेको देखिएको भन्दै एमालेले त्यसलाई सुरुदेखि नै प्रतिवाद गरेर पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको जनाएको छ । तर ती को-को हुन् भन्नेबारे एमालेले स्पष्ट नखुलाए पनि एमालेका कामकारबाहीहरुको विरोध गर्नेहरुतर्फ लक्षित गरेको देखिन्छ ।

एमालेले आफूविरुद्ध लागेको दोस्रो प्रकारको शक्तिका रुपमा नेपालमा राजसंस्था पुनःस्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू रहेको बताएको छ ।

‘उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पूरा नभएको ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन्’, एमालेले राजा र राजसंस्थाको पुनर्स्थापनामा आन्दोलन गरिरहेका शक्तितर्फ लक्षित गरेको छ । विगत केही समययता राप्रपा र केही राजावादी संघसंगठनहरु राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएका छन् ।

त्यसैगरी एमालेले हाल संसदको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र पनि आफ्ना विरुद्ध लागेको ठहर गरेको छ । ‘नेकपा (एमाले) नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विक्षिप्त छन्’, एमालेले अपानिमार्फत नै भनेको छ, ‘उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र आपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन् ।’ 

आफूविरुद्ध लाग्ने चौथो प्रकारको शक्तिमा एमालेले नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोक्ने शक्तिहरु रहेको बताएको छ ।

‘नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पूरा गर्नका लागि नेकपा (एमाले)ले बाधा पुर्‍याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन्’, एमालेले रास्वपाको नाम नलिएपनि उक्त पार्टीतर्फ संकेत गरेको देखिन्छ । जसलाई एमालेले नीतिविहीन र लोकप्रियतावादको संज्ञा दिएको छ । एमालेले त्यस्तो शक्तिले समाजमा पुर्‍याउन सक्ने क्षतिका बारेमा स्पष्ट रहेको पनि बताएको छ ।

‘नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्‍याउन सक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ’, एमालेले भनेको छ, ‘पार्टी र नेतृत्वका विरुद्धमा रहेका यस प्रकारका शक्तिहरूले गरिरहेको षड्यन्त्रपूर्ण र नियोजित हमलाको सिंगो पार्टीपंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।’

सारमा एमालेले यस्ता गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट मात्रै ‘मिसन ८४’ का लागि अनुकूल आधार तयार पार्न सकिने निष्कर्ष निकालेको छ । एमालेले आगामी २०८४ मा हुने निर्वाचनमार्फत पार्टीलाई बहुमतसहित राष्ट्रिय निर्णायक शक्ति निर्माण गर्ने बताउँदै आएको छ ।

एमाले प्रचार विभाग प्रमुख गौतमले देशभक्त शक्तिविरुद्ध विकसित शक्ति र ट्रेनका सवालमा व्याख्या गरेको बताए ।

तर एमालेले प्रमुख ‘दुश्मन शक्ति’ भने किटान गर्न सकेको छैन । प्रचार विभाग प्रमुख गौतम प्रमुख दुश्मन शक्ति किटान गर्ने समय अहिले नभएको बताउँछन् ।

‘समय आएपछि प्रमुख दुश्मन शक्तिको पनि व्याख्या र किटान होला । तर अहिले हामीले कस्ता कस्ता शक्ति र ट्रेनहरुको विकास भइरहेको छ भनेर देखाउन खोजेको हो’, गौतमले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप