गुगल स्ट्रिट भ्यूमा एक व्यक्ति नग्न देखिएपछि गुगलले क्षतिपूर्ति तिर्नुपर्ने
सारांश
- गुगल स्ट्रिट भ्यूमा नग्न तस्बिर सार्वजनिक भएपछि अर्जेन्टिनाका एक व्यक्तिले गुगलविरुद्धको मुद्दा जिते।
- २०१७ मा खिचिएको तस्बिरमा व्यक्तिको नितम्ब देखिएपछि उनी सहरमा हाँसोको पात्र बनेका थिए।
- अदालतले गुगललाई पीडितको गोपनीयताको उल्लङ्घन गरेको भन्दै क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
ब्युनोस आयर्स । आफ्नै आँगनमा नग्न अवस्थामा खिचिएको तस्बिर गुगल स्ट्रिट भ्यूमा सार्वजनिक भएपछि अर्जेन्टिनाका एक व्यक्तिले प्राविधिक कम्पनी गुगलविरुद्धको कानुनी लडाइँ जितेका छन्।
नाम नखुलाइएका ती व्यक्तिको मुद्दा हालै सकिए पनि यो घटना सन् २०१७ को हो। त्यसबेला, ब्यूनस आयर्सबाट करिब २ सय किलोमिटर टाढा रहेको अर्जेन्टिनाको सानो सहर ब्रागाडो हुँदै गुगल स्ट्रिट भ्यूको कार गुडिरहेको थियो। त्यही समयमा एक स्थानीय व्यक्ति आफ्नो सम्पत्तिमा पूर्ण रूपमा नग्न अवस्थामा थिए।
कारको अत्याधुनिक क्यामेरा प्रणालीले पछाडिबाट उनको तस्बिर खिचेको थियो, जसमा उनको नितम्ब स्पष्ट देखिन्थ्यो। ती व्यक्तिको अनुहार नदेखिए पनि, खिचिएका तस्बिरहरूमा स्पष्ट सडक ठेगाना देखिने भएकाले उनी सहरभरि हाँसोको पात्र बने।
यस उपहासबाट दिक्क भएर, उनले आफ्नो गोपनीयता उल्लङ्घन गरेको भन्दै गुगलविरुद्ध मुद्दा दायर गरे। गत वर्ष तल्लो अदालतले यो मुद्दा खारेज गर्दै ती व्यक्ति आफै परिस्थितिका लागि जिम्मेवार भएको ठहर गरेको थियो । उनी ‘आफ्नो आँगनमा अनुपयुक्त अवस्थामा हिँडिरहेको’ अदालतको भनाई थियो ।
तर, पुनरावेदनमा, अदालतले वादीको पक्षमा फैसला गर्यो । फैसलामा गुगलले वादीको निजी क्षेत्रमा ‘घुसपैठ’ गरी उनको ‘गरिमामा आँच पुर्याएको’ भनिएको छ।
गुगलले ती व्यक्तिको पर्खाल उनको नग्नता लुकाउन पर्याप्त अग्लो नभएको दाबी गरे पनि, अनुसन्धानले ६ फिट अग्लो पर्खाल पर्याप्त अग्लो रहेको खुलासा गर्यो । यसले गर्दा गुगलको त्यो तर्क खारेज भयो।
‘कसैले पनि आफूलाई भगवान्ले सिर्जना गरेजस्तै संसारमा देखाउन चाहँदैन,’ फैसलामा भनिएको छ। यसमा थपिएको छ, ‘गुगलले मानिसहरूको गोपनीयताको रक्षा गर्ने आफ्नो दायित्वबारे पूर्ण रूपमा सचेत थियो, जुन गुगल स्ट्रिट भ्यूमा अनुहार र लाइसेन्स प्लेटहरू धमिलो पार्ने नीतिले प्रमाणित गर्छ। तर यस अवस्थामा, प्लेटफर्ममा स्पष्ट देखिएको सडक नम्बरले नग्न व्यक्तिलाई चिनाउन धेरै सजिलो बनाएको थियो।’
ब्यूनस आयर्सको राष्ट्रिय सिभिल अपिल्स चेम्बरले गुगल अर्जेन्टिना र गुगल इंकलाई पीडितको गरिमामा पुगेको क्षतिका लागि १ करोड ६० लाख पेसो (१२ हजार युरो भन्दा बढी) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
पीडित, जो एक प्रहरी पनि अधिकारी हुन्, ले यस घटनाका कारण आफूलाई काममा र आफ्नो छिमेकमा उपहास गरिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण