शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पूर्वाधार

नाम फास्ट ट्रयाक, काम सुस्त

के-के भए काम, केके बाँकी छन् ?
बिहीबार, १५ साउन २०८२, १० : ००
बिहीबार, १५ साउन २०८२

सारांश

  • काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ र समयमै सम्पन्न हुन सकेको छैन।
  • सेनालाई जिम्मा दिइएको यो आयोजना ८ वर्ष बित्दा आधा काम पनि पूरा भएको छैन, जग्गा विवादले काममा बाधा पुगेको छ।
  • विभिन्न खण्डमा जग्गा अधिग्रहण र रूख कटानको कार्य भइरहेको छ, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ।

काठमाडौँ । हतारमा आयोजना घोषणा गर्ने तर कार्यान्वयन र समस्या समाधानमा चुक्ने सरकारी शैलीको ज्वलन्त उदाहरण बनेको छ– काठमाडौँ–तराई/मधेस द्रुतमार्ग । यसरी अलपत्र हुँदा न आम नागरिकले लाभ पाउने समयमा सम्पन्न हुन नसक्दा लागत बढेर राज्यलाई भार थपिँदै गएको छ । 

सम्झौताअनुसार चार वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना ८ वर्षसम्म आधा काम पनि हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ साउन २७ गते यो आयोजना निर्माणका लागि नेपाली सेनालाई औपचारिक रूपमा जिम्मा दिएको थियो ।

आयोजनको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड हो । हालसम्म ८० अर्ब ५४ करोड रुपैयाँ  खर्च भइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए । 

उनका अनुसार २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेसन सहित) रहेको छ । खोकनाको जग्गा विवादका कारण काम बढ्न नसकेको यो आयोजना नीतिगत सुधारका लागि रक्षा मन्त्रालयले समन्वय गरिरहेको छ । 

‘पछिल्लो समय यो आयोजनामा हाम्रो मन्त्रालयबाट नै सबै समन्वय भइराख्या छ,’ उनले भने, ‘विशेष गरी यो नीतिगत विषयहरू सबै मन्त्रालयले हेरेको छ ।’ 

  • के कसरी भइरहेको छ काम ? 

सेनाकाअनुसार समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८‘क’, ८‘ख’, ९‘क’, ९‘ख’ र १० निर्माणाधीन चरणमा छन् । 

प्याकेज नं. ११ अन्तर्गत खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको छ । उक्त खण्डमा पर्ने जग्गाहरूको मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको छ । 

साथै, जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पहरूको डिजाइन कार्यको अगाडि बढिरहेको आयोजनाले जनाएको छ । 

हालसम्म स्वीकृत डीपीआरबमोजिम खोकना–डुकुछाप इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १६०–०–२–१.६७ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ । द्रुतमार्गको सुरु बिन्दु यकिन तथा अन्य डिजाइन परिमार्जन बमोजिम अधिग्रहण बाँकी जग्गाको परिमाणमा परिमार्जन हुनसक्ने देखिएको छ ।

यस आयोजनाअन्तर्गत ७ वटा सुरुङमार्ग हुनेछन् । जसको कुल लम्बाई १०.९७९ किलोमिटर रहेको छ । 

कुल ३ हजार ३ सय ५५ मिटर रहेको महादेवटार सुरुङको बायाँ टनेल ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । यो टनेल कुल ३ हजार ३ सय ८६ मिटर लम्बाइ रहेकोमा हालसम्म २ हजार २ सय ८८ मिटर खन्ने कार्य सकिएको छ । ३ हजार ३ सय २२ मिटर कुल लम्बाइ रहेका दायाँ टनेल ६१ प्रतिशत अर्थात् २०२९ मिटर खन्ने कार्य सम्पन्न भएको छ । 

यस्तै धेद्रे सुरुङ कुल १ हजार ६ सय ९० मिटर, १ हजार ६ सय २२ मिटरको लेनडाँड सुरुङ  ब्रेकथ्रु भइसकेको छ । चन्द्राम भीर सुरुङ २ हजार २ सय ५० मिटरमध्ये १ सय ९९ मिटर खन्ने कार्य भएको छ, देवीचौर सुरुङ १ हजार मिटर, सिसौटार सुरुङ, मौरीभीर सुरुङ पोर्टलको कार्य भइरहेको छ । 

सडकतर्फ ९ दशमलव ३ किलोमिटरको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । विभिन्न स्थानहरूमा स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट,  अप्टिकल फाइबर डक्ट, इलेक्ट्रिफिकेसन एसेसरिड डक्ट लगायतका संरचनाहरू निर्माण कार्य भइरहेको छ ।  निजगढ इलाकामा एनिमल अन्डरपासको सबस्ट्रक्चर सम्मको कार्य सम्पन्न भएको छ, निजगढ इलाकामा टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको छ ।

आयोजनाअन्तर्गत ८९ वटा पुलमध्ये ८५ वटा निर्माणका लागि खरिद सम्झौता भई निर्माणको चरणमा छन् । निर्माणाधीन अधिकांश पुलहरूको फाउन्डेसनको कार्य सकिएको र सुपरस्ट्रक्चरको कार्य भइरहेको छ । ५१ स्थानका पुलहरूको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । २६ स्थानका पुलहरूको सबस्ट्रक्चर तथा ६ स्थानका पुलहरूको सुपरस्ट्रक्चर सम्मको कार्य सम्पन्न भएको छ । 

  • यी स्थानमा जग्गा अधिग्रहण बाँकी 

द्रुतमार्गको २४ दशमलव ८ किलोमिटरदेखि ७० दशमवल ९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ । ६ दशमलव ५ किलोमिटरदेखि २४ दशमलव ८ किलोमिटर खण्डमा सुरुङमार्ग, स्लोप प्रोटेक्सन रिभर टर्निङ निर्माण कार्यका लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणका लागि नेपाल सरकारको स्वीकृति भई मूल्य निर्धारणको क्रममा रहेको आयोजनाले जनाएको छ । 

काठमाडौँमा रेखाङ्कन परिवर्तन तथा स्लोप स्टाब्लाइजेसनका संरचनाहरू निर्माणको लागि थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गाहरूमा निर्मित भौतिक संरचनाहरूको क्षतिपूर्ति दिनुपर्ने देखिएको छ । 

ललितपुर जिल्लामा सुरुङमार्ग तथा स्लोप स्टाब्लाइजेसनका संरचनाहरू निर्माणको लागि थप आवश्यक ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा अधिग्रहण गर्नुपर्ने छ । मकवानपुर जिल्लामा सुरुङमार्ग तथा संरचनाहरू निर्माणको स्लोप स्टाब्लाइजेसनका लागि थप आवश्यक २८–१५–३–१.१९ रोपनी नम्बरी जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

  • ५९ हजार भन्दा बढी रूख कटान

२०८१/८२ मा १७ हजार ८ सय ९५ वटा रूख कटानको कार्य भई हालसम्म ४९ हजार ६ सय ३४ वटा रूख कटान सम्पन्न भएको छ । निर्माणको क्रममा रेखाङ्कन अनुकूलन तथा परिमार्जित डिजाइनबमोजिम पूर्वनिर्धारित मार्गाधिकारभन्दा बाहिरको थप जग्गा अधिग्रहण तथा रूख कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति गरिएको छ । 

द्रुतमार्गको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८१ वैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको छ । 

त्यसै गरी, मिति २०८१ भदौ २० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम उक्त सडक खण्ड निर्माणको मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१, हेटौँडा उपमहानगरपालिका वडा–१८ र बकैया गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ५१ दशमलव ८७१ हेक्टर जग्गा प्रयोग गर्न दिने, सो वनमा रहेका विभिन्न प्रजातिका २७ हजार ७४८ गोटा रूख/पोल कटान गर्ने स्वीकृति दिने निर्णय भएकोमा हालसम्म १७ हजार ८४६ रूखहरू कटान सम्पन्न भइसकेको छ ।

त्यसै गरी द्रुतमार्गको ६ दशमलव ५ किलोमिटरदेखि २४ किलोमिटरमा पर्ने मख्खुबेशी, देवीचौर, सिसौटार, सिस्नेरी र महादेवटार खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८२ असार १ गतेको वन तथा वातावरण मन्त्रालयको निर्णयबमोजिम स्वीकृत भई जग्गा भोगाधिकार तथा रूख कटान स्वीकृतिका लागि प्रक्रियामा रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप