बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बामदेवले मागे सङ्गठन विभाग, माधवले भने– वेदुरामजीसँग सल्लाह गर्नुस्

बिहीबार, १५ साउन २०८२, २३ : १६
बिहीबार, १५ साउन २०८२

सारांश

  • बामदेव गौतमलाई जिम्मेवारी दिने विषयमा कुरा नमिल्दा नेकपा एसको सचिवालय बैठक ढिलाइ भएको छ।
  • गौतमले संगठन विभागको जिम्मेवारी मागेका छन्, तर वेदुराम भुसालले उक्त विभाग छाड्न मानेका छैनन्।
  • पार्टीभित्र गौतमलाई संघीय तथा प्रादेशिक मामिला विभाग उपयुक्त हुनसक्ने चर्चा चलिरहेको छ।

काठमाडौँ । गत साउन २ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता बामदेव गौतमलाई जिम्मेवारी दिने विषयमा कुरा नमिल्दा सचिवालय बैठक बस्न ढिलाइ भएको छ । 

तर, पार्टीका नेताहरू भने धेरै नेताहरू बाहिर भएकाले बैठक बस्न नसकेको बताउँछन् । गौतम एकीकृत समाजवादीमा प्रवेश गरे लगत्तै सचिवालय बैठक बसेर जिम्मेवारी टुङ्ग्याउने नेताहरुबिच सहमति भएको थियो ।

त्यसअघि नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले पार्टी एकता गर्ने गरी हस्ताक्षर गरेका थिए । सहमतिमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै एकता गर्न लागिएको बताइएको थियो । 

‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. बामदेव गौतम सहितका नेताहरूबिच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो’, सहमतिमा भनिएको थियो, ‘साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा १७ गतेसम्म पार्टी नेताहरू काठमाडौँ बाहिर नै रहने भएकाले त्यसपछि बैठक बसेर गौतम लगायत उनीसँग पार्टी प्रवेश गर्नेहरूको जिम्मेवारीबारे छलफल हुने बताउँछन् ।

‘पार्टी अध्यक्ष पनि शनिबार(१७ गते) सम्म बाहिर नै हुनुहुन्छ, हामी पनि बाहिर नै छौँ’, खतिवडाले भने, ‘१७ गतेपछि बैठक बसेर टुङ्गिन्छ ।’ कुनै सर्त नराखी प्रवेश गरेका गौतमले सङ्गठन विभाग मागेका छन् । उनले सङ्गठन विभागको जिम्मेवारी पाए आफूले आगामी निर्वाचनमा पार्टीलाई अहिलेको तुलनामा शक्तिशाली बनाउने बताउने गरेका छन् ।

स्रोतका अनुसार गौतमले सङ्गठन विभाग मागेपछि अध्यक्ष नेपालले हाल सङ्गठन विभाग प्रमुख रहेका पार्टी उपाध्यक्ष वेदुराम भुसालसँग सल्लाह गर्न भनेका छन् । सोही अनुसार गौतमले भुसालसँग छलफल समेत गरेको बताएका छन् ।

तर भुसाल सङ्गठन विभाग छोड्न तयार छैनन् । उनले सार्वजनिक रूपमै विभाग नछोड्ने बताउँदै आएका छन् । ‘बेदुराम भुसालसँग कुरा पनि भयो तर उहाँले उक्त विभाग छाड्न सक्दिनँ भन्नुभयो’, गौतमले भने, ‘उहाँले मान्नुभएन । तपाईँले सङ्गठन विभागबाट पार्टी चलाउन खोज्नुभएको हो भनेर सोध्नुभयो’, भुसालको भनाइ उद्धृत गर्दै गौतमले भनेका छन्,‘विभागबाट पार्टीलाई शक्तिशाली बनाउन सकिन्छ भनेको हो किनभने मेरो पनि अनुभव छ काम गरेको छु ।’

उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि गौतमले सङ्गठन विभाग दिए राम्रोसँग चलाउँछु भनेर अध्यक्ष माधव नेपालसँग भनेको बताए ।‘उहाँले सङ्गठन विभाग दिए राम्रोसँग चलाउँछु भनेर अध्यक्षसँग भन्नुभएको रहेछ । भएको कुरा त्यतिमात्रै हो’, खतिवडाले भने ।

एकीकृत समाजवादीका अर्का एक नेताका अनुसार गौतमलाई सङ्घीय तथा प्रादेशिक मामिला विभाग उपयुक्त हुनसक्ने चर्चा पार्टीभित्र चलेको छ ।

जुन विभागको प्रमुख उपाध्यक्ष जगन्नाथ खतिवडा छन् । ‘बामदेवले सम्हाल्न चाहे जगन्नाथ खतिवडाजी त्यो विभाग छोड्न पनि तयार नै हुनुहुन्छ भन्ने बुझिएको छ’, ती नेताले भने,‘खतिवडाले बामदेवका लागि त्याग गर्न तयार छु भन्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप