१२ बजे १२ समाचार: नाउपामा नयाँ नेतृत्व, एनपीएल पहिलो सिजनबाट २८ करोड आम्दानी
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर आएका छौँ–
१. नाउपामा नयाँ नेतृत्व
नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन । पार्टीभित्र विवाद बढिरहेको बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो।
२. घेराबन्दीमा लामा
नेपाली कांग्रेसको बागमती प्रदेश सभाा संसदीय दलको नेतामा पराजित भएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा चौतर्फी घेराबन्दीमा परेका छन । उनलाई संसदीय दल र पार्टीले राजीनामाको दबाब बढाइरहेको छ भने सत्ता साझेदार दल एमालेबाट पनि घेराबन्दी सुरु भएको छ ।
३. मैना सुनुवार हत्या प्रकरण:
२०६० सालमा सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको हत्या मुद्दामा सर्वोच्चले आगामी भदौ ८ गते निर्णय सुनाउँदैछ । सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै भदौ ८ गतेलाई निर्णय सुनाउने मिति(निसु) राखेको हो ।
४. एकीकृत समाजवादी
गत साउन २ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता बामदेव गौतमलाई जिम्मेवारी दिने विषयमा कुरा नमिल्दा सचिवालय बैठक बस्न ढिलाइ भएको छ ।
तर, पार्टीका नेताहरू भने धेरै नेताहरू बाहिर भएकाले बैठक बस्न नसकेको बताउँछन । गौतम एकीकृत समाजवादीमा प्रवेश गरे लगत्तै सचिवालय बैठक बसेर जिम्मेवारी टुङ्ग्याउने नेताहरुबिच सहमति भएको थियो ।
५. राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला स्थानीय तहहरूको अधिवेशन गराउन नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीको जिल्ला स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढङ्गबाट निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि जिल्लाहरूमा केन्द्रीय पर्यवेक्षक तोकेको उल्लेख छ । पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको उनको भनाइ छ ।
६. मन्त्रिपरिषद् निर्णय
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन । बिहीबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन ।
बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनस्र्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
७. बालुवाटार बैठक
मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न सत्ता साझेदार एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार छलफल सकिएको छ । दुई दलका शीर्ष नेता सहभागी बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नै नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
८. क्यानको आय व्यय
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट २ करोड ४६ लाख ४० हजार ७८९ नाफा भएको छ ।
बिहीबार मूलपानीमा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलको पहिलो संस्करणको आय व्यय सार्वजनिक गरेको हो ।
९. मधेसको खडेरी
सिंहदरबारको एसी कोठादेखि मधेसको सुक्खा खेतसम्म, अहिले एउटै शब्दको चर्चा छ ‘बोरिङ’ । तर यो शब्दको अर्थ र अनुभूतिमा भने आकाश–जमिनको फरक छ । दरबार (सिंहदरबार)मा खानेपानी र सिँचाई संकट टार्न बोरिङलाई अल्पकालीन समाधान मान्दै दीर्घकालीन योजनामाथि ‘बोरिङ’लाग्दो बहस चलिरहेको छ ।
उता देहात (मधेसको गाउँ)मा भने त्यही बोरिङ चलाउन बिजुली नआउँदा किसानको जीवन कष्टकर बनेको छ ।
बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकको मुख्य एजेन्डा मधेस प्रदेशमा देखिएको खानेपानी संकट बन्यो । बैठकमा सांसदहरुले मधेसको खडेरी र खानेपानी अभावलाई तत्काल सम्बोधन गर्न बोरिङजस्ता अल्पकालीन उपाय आवश्यक भए पनि सरकार दीर्घकालीन र दिगो योजनामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
१०. सेयर
साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावटको यात्राले निरन्तरता पाएको छ । बुधबारदेखि घट्न सुरु भएको बजारमा आज थप ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो ।
११. खुमलटारमा वार रुम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सामाजिक सञ्जाल रणनीति अनुसार ‘वार रूम’ बनेको स्रोतले दाबी गरेको छ ।
अहिले प्रचण्डको सचिवालयमा रहेका गोकर्ण भट्ट र हालै माओवादी केन्द्र प्रवेश गरेका विश्वदीप पाण्डेलाई सामाजिक सञ्जालका लागि सामग्री उत्पादन र प्रवाहको मुख्य जिम्मेवारी दिइएको बुझिएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो ।
१२. एमालेलाई विधान महाधिवेशनको चटारो
औपचारिक रूपमै नेकपा एमाले विधान महाधिवेशनमा होमिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नवौँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै एमाले दोस्रो विधान महाधिवेशनमा होमिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण