बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेलाई विधान महाधिवेशनको चटारो, प्रतिनिधि यकिनदेखि सुझाव सङ्कलनसम्म खटाइए नेता

बिहीबार, १५ साउन २०८२, १८ : ००
बिहीबार, १५ साउन २०८२

सारांश

  • नेकपा एमालेले भदौ २०-२२ गते दोस्रो विधान महाधिवेशन गर्दैछ, जसले पार्टीको विधि र नीति तय गर्नेछ।
  • महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव र राजनीतिक सांगठानिक प्रतिवेदन तयार पारिनेछ, जसमा विभिन्न धाराहरूमा परिवर्तन हुनेछ।
  • महाधिवेशनमा प्रतिनिधिहरूको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मेवारी दिइएको छ, जसमा साउन अन्तिमसम्म विवरण तयार हुनेछ।

काठमाडौँ । औपचारिक रूपमै नेकपा एमाले विधान महाधिवेशनमा होमिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नवौँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै एमाले दोस्रो विधान महाधिवेशनमा होमिएको बताए ।

‘महाधिवेशनलाई भव्य र सभ्य बनाउन जिम्मेवारी बाँडफाँट गरिएको छ’, गौतमले भने, ‘यो बिचमा विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गर्नेदेखि आएका सुझावहरूलाई प्रस्तावमा समेट्नेसम्म काम गर्छ ।’

महाधिवेशनले पार्टीको आगामी विधि र नीति तय गर्ने भएकाले एमाले नेता–कार्यकर्ताहरूले विधान महाधिवेशनलाई महत्त्वका साथ हेरेका छन् । अब तय हुने विधि र नीतिका आधारमा आगामी नेतृत्व समेत चयन हुने हुँदा एमाले पङ्क्तिले विधान महाधिवेशनलाई चासोका साथ हेरेको एमाले केन्द्रीय सदस्य नीरज आचार्यको भनाइ छ ।

‘विधान महाधिवेशन भनिए पनि यो नीति महाधिवेशन हो । कस्तो नीति बन्छ भन्ने स्वाभाविक चासो हुन्छ’, आचार्यले भने ।

त्यसबाहेक नेताहरूले राजनीतिक सांगठानिक प्रतिवेदन तयार गर्ने प्रचार विभाग प्रमुख गौतमले प्रस्ट पारे ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन आयोजना गर्दैछ । त्यसअघि प्रतिनिधिहरूको सङ्ख्या यकिन गर्न संगठन विभागलाई जिम्मेवारी तोकिसकेको छ ।

सचिवालय, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकमार्फत विधान संशोधन प्रस्तावसहित राजनीतिक सांगठानिक प्रतिवेदन अघि बढाएको एमालेले भदौ १० भित्र विधान मस्यौदा प्रतिवेदनमाथि लिखित सुझाव पठाउन पार्टी कमिटीलाई निर्देशन दिइसकेको छ ।

एमालेले विधान महाधिवेशनअघि खासगरी विधान संशोधन प्रस्तावसहित राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्ने र अन्य व्यवस्थापकीय कामलाई जोड दिने जनाएको छ । विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल तथा राजनीतिक सांगठानिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पार्ने छन् ।

त्यस्तै महासचिव शंकर पोखरेल नेतृत्वको एमाले केन्द्रीय कार्यालय बैठकले विभिन्न नेतालाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।

एमाले केन्द्रीय कार्यालय अन्तर्गत ३ उपमहासचिव र ७ सचिव छन् । महाधिवेशन प्रतिनिधिको सङ्ख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको एमालेले जनाएको छ ।

संगठन विभागको नेतृत्व नेता काशीनाथ अधिकारीले गर्छन् ।

१० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो र कतिले पार्टी छोडे भन्ने विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।

साउन अन्तिमसम्म प्रतिनिधिको यकिन विवरण तयार गर्ने संगठन विभाग प्रमुख अधिकारीको भनाइ छ । ‘हामी सबै प्रतिनिधिहरूको अभिलेख हेरेर साउन महिनाको अन्तिमसम्म प्रनिनिधि यकिन गरेर सचिवालयलाई बुझाउँछौँ’, अधिकारीले भने, २ हजारदेखि २१ सयको हाराहारी पुग्न सक्छन् ।’

एमालेमा राष्ट्रिय महाधिवेशनकै प्रतिनिधि विधान महाधिवेशनका प्रतिनिधि कायम रहने व्यवस्था छ । ‘राष्ट्रिय महाधिवेशनकै प्रतिनिधि विधान महाधिवेशनका प्रतिनिधि हुने व्यवस्था छ’, उनले भने ‘राष्ट्रिय महाधिवेशनमा २२ सय ७९ जना प्रतिनिधि थिए ।’

राष्ट्रिय महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्यहरूलाई पनि विधान महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्नुपर्ने आवाज उठे पनि एमालेले उनीहरूलाई पर्यवेक्षकका रूपमा मात्रै सहभागी गराउने भनेको छ ।

यसबाहेक स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठले पाएका छन् । महाधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मा पार्टी जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पाएका छन् । सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा.अधिकारीलाई जिम्मा दिइएको छ ।

बैठकले यातायात तथा मञ्च व्यवस्थापन गर्न केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको छ । महाधिवेशनको प्रचार गर्न प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जिम्मेवारी पाएका छन् भने स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राई प्रमुख तोकिएका छन् ।

महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्थ आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका हकमा सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । एमालेले पहिलो विधान महाधिवेशन २०७८ साल असोजमा सम्पन्न गरेको थियो ।

  • विधानको कुन कुन धारा चलाउँदैछ एमालेले ?

एमालेले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा मातहतका कमिटीमा पठाइसकेको छ । यसक्रममा एमालेले मौजुदा विधानको प्रस्तावनादेखि नै संशोधन प्रस्ताव अघि बढाएको छ ।

प्रस्तावनाको चौथो अनुच्छेदमा ‘समाजवादको आधार निर्माण गर्न र’ भन्ने वाक्यांशपछि ‘नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने वाक्यांश थप्न प्रस्ताव गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा मात्र नभएर, सचेत र संगठित प्रयासबाट हासिल हुने राष्ट्रिय गन्तव्य भएकाले प्रस्तावनाको सातौँ अनुच्छेदमा उल्लिखित ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’ भन्ने वाक्यांशपछि ‘एवम् राष्ट्रिय गन्तव्य’ भन्ने वाक्यांश थप्ने प्रस्ताव गरेको छ ।

एमालेले २ प्रकारका पार्टी सदस्यता कायम गर्ने प्रस्ताव गरेको छ जसमा विधानको धारा अन्तर्गत पार्टी सदस्य र संगठित सदस्य कायम गर्ने प्रस्ताव गरिएको छ । त्यस्तैगरी धारा ११, १२, १६, १७, १९, २१, २२, २३ को व्यवस्थामा पनि केही परिवर्तन गर्ने भएको छ । त्यस्तै विधानको धारा २७, २८, ३१, ३२, ३७ तथा ३९ देखि ४८ सम्मका केही प्रावधान फेरबदल गर्ने भएको छ । धारा ५०, ५३, ५४, ५६, ५८, ५९, ६१, ६३, ६४, ६५ र ६८ मा संशोधन प्रस्ताव गरेको छ । जसमा ७० वर्षे उमेरहददेखि नेतृत्वमा २ कार्यकाल र केन्द्रीय पदाधिकारी सङ्ख्या घटाउनेसम्मका प्रस्ताव छन् ।

त्यस्तै एमालेले विधानको धारा ६८ मा रहेको पदपूर्ति सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाएर ‘पहिलो वरीयताको उपाध्यक्ष’ राख्ने प्रस्ताव गरेको छ । हाल एमालेमा वरिष्ठ उपाध्यक्षको हैसियतमा ईश्वर पोखरेल छन् भने अन्य ६ जना उपाध्यक्ष छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप