सामाजिक सञ्जालमार्फत आलोचकलाई प्रतिकार गर्न खुमलटारमै ‘वार रूम’ सञ्चालन !
सारांश
- प्रचण्डको खुमलटारस्थित निवासमा सामाजिक सञ्जाल रणनीति बनाइएको स्रोतको दाबी छ।
- गोकर्ण भट्ट र विश्वदीप पाण्डेलाई सामाजिक सञ्जाल सामग्री उत्पादन र प्रवाहको जिम्मेवारी दिइएको छ।
- प्रचण्डका पूर्व प्रेस संयोजकले आरोपको खण्डन गर्दै नेतृत्व कमजोर बनाउन प्रोपोगाण्डा रचिएको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सामाजिक सञ्जाल रणनीति अनुसार ‘वार रूम’ बनेको स्रोतले दाबी गरेको छ ।
अहिले प्रचण्डको सचिवालयमा रहेका गोकर्ण भट्ट र हालै माओवादी केन्द्र प्रवेश गरेका विश्वदीप पाण्डेलाई सामाजिक सञ्जालका लागि सामग्री उत्पादन र प्रवाहको मुख्य जिम्मेवारी दिइएको बुझिएको छ ।
पाण्डे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा कार्यरत रहिसकेका छन् भने गोकर्ण भट्ट शान्ति प्रक्रियापछि मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट प्रवेश गरेका हुन् ।
स्रोतका अनुसार उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाका भतिज तथा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’, हाल होटल व्यवसायमा सक्रिय निर्मल ज्ञवालीलाई अध्यक्ष प्रचण्डको पक्ष र विरोधीविरुद्ध ‘वार लड्ने’ औपचारिक जिम्मेवारी दिइएको छ ।
‘सचिवालयको यो रणनीति केही हदसम्म माओवादीकै पुरानो प्रचार शैलीको परिमार्जित रूप हो, जसमा युद्धकालमा प्रयोग हुने ‘प्रति–प्रचार’ विधिको डिजिटल संस्करण देखिन्छ’, स्रोतले भन्यो, ‘खुमलटार अब माओवादी केन्द्रका अध्यक्षको निवास मात्र होइन, एउटा गुटको सामाजिक सञ्जाल रणनीतिको सक्रिय युद्धभूमि बनेको छ । प्रचार र प्रतिप्रचारको यो डिजिटल मोर्चामा समग्र पार्टी र अध्यक्ष स्वयंलाई कति फाइदा गर्छ त्यो त हेर्न बाँकी छ ।’
तर प्रचण्डका पूर्व प्रेस संयोजक सापकोटाले यस आरोपको खण्डन गरेका छन् । यो सबै नेतृत्वलाई कमजोर बनाउने प्रोपोगाण्डा मात्र भएको बताए । पार्टी नीति र नेतृत्वको पक्षमा उभिनु सिङ्गो पार्टीको कर्तव्य भएको भन्दै अध्यक्ष प्रचण्डलाई कमजोर बनाउन भ्रामक प्रचार गरिएको उनले जिकिर गरे ।
‘समग्र पार्टीको नेतृत्व गरेको व्यक्तिलाई गुट बनाएको, निवासमै ‘वार रुम’ बनाएको भन्ने आरोप नेतृत्वलाई कमजोर बनाउन रचिएको ‘प्रोपोगाण्डा’ हुन् । सिङ्गो पार्टी नीति र नेतृत्वको पक्षमा उभिनु कर्तव्य हो । पार्टी र नेतृत्वको पक्षमा जनआकर्षण बढ्दै गएको बेला भ्रामक प्रचार गरिनु राम्रो होइन । यस्ता प्रचारको पछि लाग्नु आवश्यक छैन’, उनले भने ।
पार्टीभित्र र बौद्धिक वर्गमा भने यसले मिश्रित प्रतिक्रिया पाएको छ । कतिपयले नेताको छविलाई उँचो देखाउने रणनीति आवश्यक भनेका छन् भने कतिपयले सामाजिक सञ्जालमा अन्धभक्त उत्पादन र आलोचकहरूप्रति दुश्मनीपूर्ण व्यवहार देखिएको भन्दै आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा सशक्त उपस्थिति देखाउन खोजिरहेको प्रचण्डको सचिवालयले आफ्ना टिममार्फत अध्यक्षको प्रशंसा, प्रतिपक्षी वा आलोचकहरूमाथि कटाक्ष गर्ने अभियान सञ्चालन गरिरहेको स्रोतले बतायो ।
यस्ता गतिविधिहरूको नेतृत्व गर्ने सामाजिक सञ्जाल टोलीले अहिले फेसबुकलाई मुख्य हतियार बनाएको छ । सार्वजनिक पोस्टहरू, कमेन्टमार्फत हस्तक्षेप, भिडियो क्लिपहरू बनाउने र ट्रेन्डिङ गराउने काममा सक्रिय रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण