बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली विकास बैंक घोटाला प्रकरण

एमालेका केन्द्रीय सदस्य मिश्रबाट बैंककै निक्षेप अपचलन गरेर हकप्रद सेयरको रकम जम्मा

शुक्रबार, १६ साउन २०८२, १६ : ००
शुक्रबार, १६ साउन २०८२

सारांश

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रले बैंकको बचत अपचलन गरी हकपद शेयर लिने क्रममा रकम जम्मा गर्दा अनियमितता गरेको आरोप लागेको छ।
  • बैंकको अनियमितता प्रकरणमा मिश्रसहित १ सय ९ जनालाई प्रतिवादी बनाउँदै ८२ करोड बढी बिगो दाबीसहित मुद्दा दायर भएको छ।
  • सञ्चालक समितिको निर्णयअनुसार राजेन्द्रवीर राय र विष्णुप्रसाद कक्षपतिको मिलेमतोमा रकम हिनामिना गरी हकपद शेयर लिएको पाइएको छ।

काठमाडौँ । कर्णाली विकास बैंकका पूर्व अध्यक्षसमेत रहेका एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले बैंकको बचत अपचलन गरी  हकप्रद सेयर  लिने क्रममा रकम जम्मा गर्दा प्रयोग भएको भौचरहरूमार्फत २० लाख रुपैयाँ संस्थाकै निक्षेप अपचलन गरी हकप्रद सेयर बापत रकम जम्मा गराएको पाइएको छ ।

बाँकेको नेपालगन्जमा रहेको कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा जोडिएका मिश्रलाई ८२ करोड ४६ लाख २९ हजार बिगो दाबी गर्दै उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दायर भएको छ ।  मिश्रको आज (शुक्रबार) अदालतमा बयान भइरहेको छ । उनीसहित १ सय ९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

सञ्चालक समितिको निर्णयअनुसार राजेन्द्रवीर रायले बैंकको बचत हिनामिना गरी सोही रकम प्रयोग गरी हकप्रद सेयर लिएको पाइएको छ । राजेन्द्रवीर रायको नाममा रहेको हिमालयन बैंक लिमा रहेको खाता नं 02********17 को स्टेटमेन्ट विश्लेषण गर्दा कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत रहेका कर्मचारीहरूबाट रु.६,७६,६२,१२६ (छ करोड छयत्तर लाख बैसठ्ठी हजार एक सय छब्बीस रुपैयाँ ) जम्मा गरेको पाइएको छ । सोही रकम मध्येबाट नीरजविक्रम शाहले रु.१,६७,००० (एक लाख सत्तसठ्ठी हजार) लिएको पाइएको छ । 

सञ्चालक समितिको निर्णयअनुसार विष्णुप्रसाद कक्षपतिको नाममा २० लाख रुपैयाँसमेत गरी ६३ लाख २५ हजार रुपैयाँ जम्मा गरेको देखिन्छ । कर्णाली डेभलपमेन्ट बैंक लि.को हिमालयन बैंक लि.मा रहेको खाताबाट रकम नगदै झिक्नका लागि नीरजविक्रम शाह समेतले चेकमा दस्तखत गरी रकम निकालिएको देखिन्छ । सोही रकम बैंकमा ल्याएपश्चात् सिस्टममा समेत नचढाई हकप्रद सेयरको लागि प्रयोग गरेर बैंकमा जम्मा भएको बचत रकम हिनामिना गरेको पाइएको छ ।

साथै संस्थाका संस्थापकहरूको आफ्नो हिस्सामा पर्न जाने सेयर बापतको रकम माग गरी Call In Advance अन्तर्गत राखी हिसाब मिलान हुने गरी १ः२.२५ का दरले हकप्रद सेयर बापतको रकम जम्मा गर्नका लागि सूचना प्रकाशन भएको देखिएको छ । सोही बमोजिम २०७४ असार २६ गते संस्थाको खजुरा शाखाबाट ५० लाख रुपैयाँ ल्याएको देखिएको अभियोगपत्रमा उल्लेख छ।

असार २६ गते नै भालुवाङ शाखामा १ करोड रुपैयाँ पठाएको र सोही दिन बाँसगढी शाखामा १ करोड पठाएको देखाएर जम्मा २ करोड ५० लाख रकमको कृत्रिम अभिलेख देखाई अपचलन गरेको बैंकको नगद रकम Call In Advance को खातामा जम्मा गरेको अभियोगपत्रमा उल्लेख छ । सो रकम जम्मा गर्ने क्रममा सेयर सदस्यहरूको नाम समेत उल्लेख नगरी एकमुष्ट रकम जम्मा गरेको वा गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।

134

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप