बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रिपोर्टरको डायरी

पानीसँगै आँसु पनि सुक्यो, अब के सुक्न बाँकी छ र मधेसमा ?

शनिबार, १७ साउन २०८२, १४ : ३३
शनिबार, १७ साउन २०८२

सारांश

  • लेखकले सुक्खा मधेसको रिपोर्टिङबाट फर्किएपछिका अनुभव र त्यहाँका किसानहरूको पीडालाई व्यक्त गरेका छन्।
  • किसानहरू बिजुली र सिँचाइको अभावमा परेको, र पानीको संकटले वीरगञ्जमा समेत हाहाकार मच्चिएको कुरा उल्लेख छ।
  • लेखकले खडेरीको कारणले भविष्यमा आउन सक्ने ठुलो संकट र सरकारको भूमिकालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

म र सहकर्मी फोटो पत्रकार सुबास श्रेष्ठ सुक्खा मधेसको रिपोर्टिङबाट साउनको १० गते काठमाडौँ फर्कियौँ । 

एक साता भइसक्यो, तर मेरा आँखाबाट चिरा–चिरा परेका मधेसका खेतका दृश्य हट्न सकेका छैनन् । पर्सा, बारा र रौतहटका खेतहरू डुल्दै गर्दा मैले देखेका ती जमिनका धाँजाहरू केवल माटोका चिरा थिएनन्, ती त्यहाँका लाखौँ किसानहरूको मनमा गढेका घाउ थिए । क्यामेराको लेन्सबाट हामीले सुक्खा खेत मात्र कैद गरेनौँ, त्यहाँका मानिसका सुकिसकेका आँखा र अनुहारमा देखिएका गहिरो निराशा पनि महसुस गर्‍यौँ । यो यात्रामा समाचार त संकलन गर्‍यौँ नै एउटा जीवन्त पीडाको साक्षी पनि बन्यौँ । 

khaderi-(14)_KsMqE3Qwxg

मैले सुरुमा सोचेको थिएँ– खडेरीपीडित किसानले सरकारसँग राहत माग्लान्, केही बोरा चामल वा आर्थिक सहयोग माग्लान् । तर, जब म उनीहरूमाझ पुगेँ, मैले एउटा यस्तो माग सुनेँ । उनीहरू दयाको भिख मागिरहेका थिएनन् । उनीहरू भन्दै थिए, ‘हामीलाई राहत चाहिँदैन, पहिला  बिजुली दिनुहोस् ।’ यो मागमा उनीहरूको स्वाभिमान थियो, आफ्नो पौरखले माटो भिजाउने अठोट थियो । मैले बुझेँ, उनीहरू सरकारले दिएको अनुदानमा बाँच्न चाहँदैनन्, बरु आफ्नो खेतमा गाडेको बोरिङबाट पानी तानेर आफ्नै पसिनाले धर्तीलाई हरियाली बनाउन चाहन्छन् । तर, विडम्बना ! जमिनमुनि पानी नै कम छ, तल पुगिसकेको छ । पानी तान्ने मोटर छ, तर त्यो मोटर चलाउने बिजुली छैन । दिनमा मुस्किलले ४–५ घण्टा आउने बिजुली पनि लो–भोल्टेजले मोटर चल्दैन । राज्यको प्रणालीले उनीहरूको त्यो स्वाभिमानलाई हरेक दिन कुल्चिरहेको थियो ।

मैले किसानको आँखामा आँसु मात्रै देखिनँ, सरकारले सिँचाइ पुर्‍याउन नसक्दा खाली हुँदै गरेको अन्नको भण्डार देखेँ । खेतको बिचमा एक वृद्ध किसानले सुकेको धानको ब्याड देखाउँदै भनेका थिए, ‘यो धानको बीउ मात्र मरेको होइन, हाम्रो यो सालको सपना पनि मर्‍यो । उनले भनेको थिए, ‘आकाशतिर हेर्‍यो इन्द्र रिसाएका छन्, सरकारतिर हेर्‍यो भरोसा छैन ।’ प्रकृति र सरकार दुवैबाट एकैपटक ठगिएको महसुस गरिरहेका थिए उनीहरू ।

khaderi-(17)_qluebhRRZd

खेतमा मात्र हाेइन किसानको मनमै गहिरो धाँजा परेको थियो, जुन सायद अब कहिल्यै पुरिने छैन । हरेक धाँजामा उनीहरूको आँसु र पसिना सुकेको थियो । 

यो खडेरी र सुक्खा मधेसको कथा खेतबारीमा सीमित थिएन । वीरगञ्ज महानगरको मुटुमै पानीका लागि मच्चिएको हाहाकारले मलाई झस्कायो । महानगरको वडा नम्बर १६ र २४ का गल्लीहरूमा मानिसहरू रित्तो गाग्री र बाल्टिन लिएर ट्याङ्कर कुरिरहेका थिए । उनीहरूको अनुहारमा तिर्खा र छटपटी प्रस्ट देखिन्थ्यो । धारामा पानी नआएको १५–२० दिन भइसकेको रहेछ । घरमा भएका चापाकल (ट्युब–वेल) सबै सुकिसकेका थिए ।

khaderi-(20)_7jsf6PANeI

त्यहीँकी सीतादेवीले आफ्नो पीडा पोखिन्, ‘पानी नभएपछि नुहाउनु, धुनु त परको कुरा, घरमा पालेको गाईलाई खुवाउन पनि छैन । खाना पकाउन त झन् कहाँबाट पानी ल्याउनु ?’ उनीहरू कहिलेकाहीँ आउने महानगरको ट्याङ्करको भरमा थिए, त्यो पनि कहिले आउँछ, कहिले आउँदैन । ठेगान थिएन । आए पनि एक–दुई बाल्टिन पानीका लागि घम्साघम्सी नै हुन्थ्यो । देशकै आर्थिक राजधानी वीरगञ्जको काकाकुल अवस्थाले निकै ठुलो संकट देखाइरहेको थियो । 

मैले त्यहाँका वृद्ध मानिसहरूसँग कुरा गरेँ । उनीहरू भन्दै थिए, ‘हामीले जीवनमा यस्तो खडेरी कहिल्यै देखेका थिएनौँ । पहिले त चापाकल चलाउँदा पानी आउँथ्यो, अहिले ३०–४० पटक चलाउँदा मुस्किलले एक गिलास आउँछ ।’ घरअगाडि सुक्खा चापाकलहरू फलामका संरचनामा मात्र सीमित थिए । जसलाई उनीहरूले बिहान बेलुका मात्र हेर्न मात्र सक्थे । 

khaderi-(6)_Pr02OSWisf

यही संकट हेर्दाहेर्दै, मैले एउटा अर्को डरलाग्दो भविष्यको चित्र पनि देखेँ । सुकेका चापाकल र रित्ता इनारहरूले एउटा तीतो सत्य बताइरहेका थिए । मधेसको जमिनमुनिको पानीको सतह तीव्र गतिमा घटिरहेको छ । यो खडेरीले पानीको दोहनलाई झन् बढाएको छ । अहिले पानीको अभाव टार्न धमाधम गहिरो बोरिङ गाडिँदैछ, जमिनको छाती चिथोरेर अन्धाधुन्ध पानी तानिँदै छ । यो तत्कालको समाधानजस्तो देखिए पनि यसले भविष्यमा अझ ठुलो संकट निम्त्याउँदैछ भन्ने कुराले मेरो मन चिसो भयो । मैले सोचेँ, केही वर्षपछि यो गहिरो बोरिङको पानीको स्रोत पनि रित्तियो भने के होला ? त्यो वेला न आकाशबाट पानी पर्नेछ न जमिनमुनि पानी हुनेछ ।

अहिलेको यो खडेरी त केवल एउटा ट्रेलर हो कि ? कतै हामीले भावी पुस्ताका लागि एउटा सुक्खा र बाँझो मरुभूमि त छाडेर जाँदै छैनौँ ? यो सोचले मात्रै पनि मलाई अत्यास लाग्यो । हामी वर्तमानको संकट टार्न भविष्यलाई नै दाउमा लगाइरहेका छौँ । 

khaderi-(18)_Bg3Lf26Ano

यो सबै पीडाको बिच मलाई एउटा अर्को सत्यले घाेत्ल्यायो– एकातिर मधेसको गाउँमा किसानहरू एक थोपा पानीका लागि छटपटाइरहेका छन्, खेतमा लगाएको बाली सुकेर खरानी हुँदैछ, अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट सुक्खा फाँट हेरेझैँ तस्बिर राख्दै दयाको स्टन्ट मात्रै देखाइरहेका छन् । 

 

नीति निर्माताहरूलाई सायद थाहा छैन, उनीहरूले बनाउने योजना र गाउँको वास्तविकताबिच कति ठुलो खाडल छ । जबसम्म नीति निर्माण गर्नेहरूले किसानको फाटेको पैताला र सुकेको खेतको पीडा महसुस गर्दैनन्, तबसम्म कागजमा कोरिएका योजनाले धर्ती भिज्ने छैन । 

यो यात्राबाट फर्किंदा मैले समाचारका फाइल मात्र होइन, आशा र भरोसाका धागा चुँडिदै गएको एउटा समाजको गह्रुँगो भारी बोकेर आएको छु । पानीको अभावले निम्त्याएको यो संकटले कृषि मात्र होइन, त्यहाँको जीवनशैली, अर्थतन्त्र र मानवीय संवेदनालाई नै सुकाइरहेको छ । मैले देखेँ– ती चिरा परेका खेतहरूले पानीको अभाव मात्र होइन, राज्य र नागरिकबिचको गहिरो खाडललाई पनि उजागर गरिरहेका थिए ।

एक पत्रकारको रूपमा यी कथाहरूलाई शब्दमा उतार्दा मेरो मन पनि त्यही सुक्खा माटोजस्तै भएको छ, खिन्न र भारी । तर केही दिनयता मधेसमा केही मात्रामा वर्षा भयो । सबै ठाउँमा पर्याप्ता मात्र जमिन नभिजे पनि किसानहरूले यो खडेरीमा केही भए पनि राहत महसुस गर्न पाएका छन् । तर समयमा नभएको वर्षाले उनीहरूको त्यो घाउ पुरिनेवाला छैन । रोपाइँको मुख्य सिजनमा नपरेको वर्षाले उनीहरूको खेतमा उति प्रभाव त पर्ने छैन । तर थोरै भए पनि राहत महसुस गर्न भने पाएका छन् ।  

मधेसबाट फर्केपछि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप