आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय फिटनेस एक्स्पाे’ आयोजना हुँदै

शनिबार, १७ साउन २०८२, १६ : २३
शनिबार, १७ साउन २०८२

सारांश

  • क्लासिक फिटनेस एकेडेमीले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी 'फिटनेस एक्स्पो, २०८२' आयोजना गर्ने भएको छ।
  • भदौ १४ गतेदेखि होटेल मल्लमा हुने प्रदर्शनीले फिटनेस व्यवसायको विकास र सञ्जाल विस्तारमा सहयोग गर्नेछ।
  • एक्स्पोमा फिटनेस सामग्री, सेवा, र अवार्ड शोहरू हुनेछन्, जसमा अन्तर्राष्ट्रिय इन्फ्लुएन्सरहरूको सहभागिता रहनेछ।

काठमाडौँ । फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएको छ ।

फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गतेदेखि होटेल मल्लमा अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी आयोजना हुन लागेको हो ।

‘क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने ‘नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो,’ आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले भने– ‘क्लासिक फिटनेस एकेडेमीले गर्वका साथ नेपाल फिटनेस एक्स्पो घोषणा गरेको छ ।’

यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्य राखेकाे जानकारी दिँदै उनले एक्स्पोमा ब्रान्ड प्रदर्शनी, पोषण, उपकरण, पोसाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने जानकारी दिए ।

‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो । फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ संस्थापक शाहीले भने । उनका अनुसार एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिनेछ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिनेछ ।

भारत,मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप