अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित
सारांश
- सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन्, जसले किसानलाई चिन्तित बनाएको छ।
- एक सातादेखि मौरी मर्न थालेको र रोगको पहिचान हुन नसकेको किसानको गुनासो छ, जसले मह उत्पादनमा कमी ल्याउने सम्भावना छ।
- मौरीपालक किसानले रोग पत्ता लगाउन र समाधान खोज्न सरोकारवाला निकायसँग आग्रह गरेका छन्, भने स्थानीय सरकारको चासोको अपेक्षा गरेका छन्।
सिमकोट । यहाँको सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन गर्दै आएका किसानले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेपछि चिन्तित बनेका हुन् ।
सिमकोट-७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेका किसान बताउँछन् । व्यावसायिक पालन गर्दै आएका भैरे सिंहले एउटा घारका मौरी मरेका तर के कारणले मरेका हुन् जानकारी प्राप्त नभएको बताए ।
'मौरीले यतिबेला वनबाट फूल ल्याएर मह उत्पादन गर्ने समय भएको छ । अचानक घारमै मौरी मर्न थालेपछि चिन्तित बनाएको छ । केकति कारणले मौरी मरिरहेका छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन', किसान वीरबहादुर सिंहले भने । आफ्नो तीनवटा र किसान सिंहको एउटा घारका मौरी मरेका उनले जानकारी दिए ।
पहिचान नभएको रोगका कारण मौरी धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । मौरी घारभित्र र बाहिर मर्नुको कारण तथा रोग पत्ता लगाएर समाधान खोजीदिन किसानले सरोकार भएका निकायसँग आग्रह गरेका छन् ।
मह उत्पादनको समयमा मौरी मर्न थालेपछि उत्पादन घट्नुका साथै व्यवसायसमेत धराप हुने भन्दै किसान निराश भएका हुन् । थायामा मात्रै नभएर यो समस्या जिल्लाभरका मौरीपालन व्यवसायमा देखिएको भन्दै सिंहले रोग पत्ता लगाइदिन सम्बन्धित निकायसँग आग्रह गरे । मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्नेमा उनले जोड दिए ।
मौरीपालन गर्ने घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु, समयानुकूल घारमा सुधार नहुनुलगायत कारणले यस्ता समस्या देखिएको हुनसक्ने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख नवीन पौडेलले बताए ।
एक साताअघि मौरीमा अज्ञात रोग देखिएको किसानले जानकारी गराएका उनको भनाइ थियो । जानकारी पाउनासाथ रोगको पत्ता लगाउन गाउँमा कर्मचारी खटिएका पनि उनले बताए । हालसम्म रोग पत्ता लागिनसकेकाले विज्ञ टोली परिचालन गरिने उनले उल्लेख गरे ।
हुम्लामा एक माना महको रु एक हजार २०० पर्दछ । यहाँका अधिकांश किसानले मौरी व्यवसायमार्फ परिवारको खर्च व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय मौरी मर्न थालेपछि कसरी खर्च जुटाउने भन्ने चिन्ता लाग्न थालेको किसान बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण