शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

आइतबार, १८ साउन २०८२, १० : ५८
आइतबार, १८ साउन २०८२

सारांश

  • अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे छलफल सुरु गरेको छ।
  • दलित समुदायको सीप र पेसा संरक्षण गर्दै रोजगारीका अवसर सिर्जनाबारे छलफल भएको छ।
  • काठमाडौँका उद्योगलाई उपत्यका बाहिर सार्ने र अन्तर्राष्ट्रिय गुणस्तर प्रयोगशाला बनाउनेबारे छलफल भयो।

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । 

दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्नेबारे आज छलफल भएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे पनि छलफल भएको छ । 

भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा। रामप्रसाद घिमिरे लगायत उपस्थित थिए । 

आर्थिक वर्ष २०८२–८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरूसँग क्रमशः छलफल गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप