आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
पुस्तक

पञ्चतत्त्वको पालाम : आदिवासी अस्तित्व र पर्यावरणीय सङ्कटको काव्य–सङ्गम

आइतबार, १८ साउन २०८२, ११ : ३४
आइतबार, १८ साउन २०८२
  • विषयारम्भ

आदिवासी सांस्कृतिक चेतना र पर्यावरणीय सङ्कट वर्तमान साहित्यिक–प्राज्ञिक विमर्शको जल्दोबल्दो विषय हो । पाश्चात्य जगत्मा इस्वीको २०औँ शताब्दीको अन्त्यतिर उत्तरउपनिवेशवादी चिन्तनको विकाससँगै सत्ताशक्तिबाट किनारीकृत आदिवासी समुदायको सांस्कृतिक सङ्कट र पुनरुत्थानको चेतना पनि विकास भएको हो । यसै कालमा परम्परागत मानवकेन्द्रित दृष्टिकोणलाई चुनौती दिँदै प्रकृतिजन्य मूल्यलाई केन्द्रमा राख्ने पर्यावरणीय अध्ययनको पनि विकास भयो । यसले मानव समाज र प्रकृतिको आपसी निर्भरता, जलवायु परिवर्तन, पर्यावरणीय सङ्कट र वातावरणीय न्यायजस्ता मुद्दाहरूको अन्वेषण गर्दछ । 

आदिवासी अध्ययन र पर्यासमालोचना दुई फरक विषयको अध्ययन गर्ने विधा भए पनि यिनको अन्तर्यमा केही सङ्गम स्थल रहेका छन् । उपनिवेशीकरण र आधुनिकतालाई आफ्नो सङ्कटको कारण मान्नु, मानव–प्रकृति सम्बन्धमा पूर्णताको खोजी गर्नु, आदिवासी ज्ञान र संस्कृतिको सम्मान गर्नु, पर्यावरणीय न्यायको खोजी गर्नु, सीमान्तकृत आवाजको अभिव्यक्तिमा जोड दिनु आदि यिनका सङ्गम चौतारी हुन् । मनप्रसाद सुब्बाकृत ‘पञ्चतत्त्वको पालाम’ यस्तै किसिमको चौतारी हो जहाँ एकातिर पर्यावरणीय सङ्कटको सुस्केरा सुसाउँछ भने अर्कातिर आदिवासी अस्तित्व र प्रतिरोधको मन्द राप छ ।

  • कवि मनप्रसाद सुब्बा र उनका कविता

मनप्रसाद सुब्बा (सन् १९५०) ले आफ्नो हीरक–वर्ष प्रकृतिको काख बिजनबारी, दार्जिलिङमा बिताएका छन् । सन् ७० को दशकदेखि आफ्नो काव्यकृति प्रकाशन सुरु गरेका कवि सुब्बाले ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’ (सन् (१९७९), ‘बुख्याचाहरूको देशमा’ (१९८३), ‘ऊष्मा’ (१९८७), ‘आदिम बस्ती’ (१९९५), ‘ऋतु क्यानभासमा रेखाहरू‘ (२००१), ‘अक्षर अर्केष्ट्रा’ (२००४), ‘किनाराका आवाजहरू’ (सहलेखन २००८), ‘भुइँफुट्टा शब्दहरू’ (२०१३) ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविता’ (२०७९), ‘नेत्तिफुङको बास्ना’ (२०१६) नेपाली साहित्यको ढुकुटीमा सुम्पिसकेका छन् । उनको पाँच दशक लामो काव्ययात्रामा जपिएका मुख्य मन्त्र ‘माटो, मान्छे, म र पानी । सायद मुन्दुम पनि जोडिन्छ पछिल्लो समय’, (प्रधान, २०८१) । यति लामो यात्रामा पनि एउटै वैचारिकतामा डोरिरहनुलाई प्रधानले उनको शक्ति मानेका छन् । उनमा युगचेतना, शिल्पचेतना र भावचेतनाको त्रिकोणात्मक सङ्गम पाइन्छ (पौड्याल, २०७८) । उनको यस प्रकारको समकालीन चेतना ‘पञ्चतत्त्व’को पालाम कवितासङ्ग्रहका मुख्य पाँच शीर्षक र उपसंहारसहितका ५४ वटा कविताका हरेक हरफमा अभिव्यक्त छ । 

यसमा सृष्टिजगत्का पाँच तत्त्वलाई मुख्य विषय बनाएर तिनीहरूबिचको असन्तुलनप्रति चिन्ता व्यक्त गरिएको छ । आकाश, वायु, अग्नि, जल र पृथ्वी–पञ्चतत्त्व पाँच विषयक कविता पाँच भागमा विभक्त छन् । पाँच दशकको काव्ययात्रा अनुभव र पाँच विषयको लामो विमर्शपछि यस कविताको अन्त्यमा ‘उपसंहार’ शीर्षकको काव्यनौनी रहेको छ । यसमा आकाश र वायु विषयका नौ–नौवटा, अग्नि विषयका एघारवटा, जल र पृथ्वी विषयका बाह्र–बाह्रवटा र उपसंहारमा एउटा गरी ५४ वटा कविता सङ्ख्या रहेका छन् । जल र पृथ्वीविषयक कविता अलि धेरै सङ्ख्यामा रहेका छन् । यसले अन्य तत्त्वभन्दा जल र पृथ्वीमाथिको सङ्कट अलि बढ्ता रहेको देखाउँछ । उनका सबै कविता वातावरणीय असन्तुलनप्रति गम्भीर छन्, आदिवासी मिथक र संस्कृतिप्रति सचेत छन्, उपनिवेशीकरण र आधुनिकताप्रति आक्रोशित छन् । ‘‘मान्छे र प्रकृतिको सम्बन्धमा अग्घोर असन्तुलन भइरहेको र यसबाट प्राणीजगत्को भविष्य नै अन्योलग्रस्त बनेको आजको ‘तातो’ युगमा सुब्बाका यी कविता एक प्रकारले वातावरणीय आन्दोलनका शीतल घटक’’ (पौड्याल, २०८१, पृष्ठभाग) र आदिवासी अस्तित्व एवम् उत्पीडनको बुलन्द आवाज हुन् । 

आदिवासी अध्ययन र पर्यासमालोचना दुई फरक विषयको अध्ययन गर्ने विधा भए पनि यिनको अन्तर्यमा केही सङ्गम स्थल रहेका छन् । उपनिवेशीकरण र आधुनिकतालाई आफ्नो सङ्कटको कारण मान्नु, मानव–प्रकृति सम्बन्धमा पूर्णताको खोजी गर्नु, आदिवासी ज्ञान र संस्कृतिको सम्मान गर्नु, पर्यावरणीय न्यायको खोजी गर्नु, सीमान्तकृत आवाजको अभिव्यक्तिमा जोड दिनु आदि यिनका सङ्गम चौतारी हुन् ।


 

  • ‘पञ्चतत्त्वको पालाम’को सांस्कृतिक र दार्शनिक धरातल

पञ्चतत्त्वको सांस्कृतिक एवम् दार्शनिक आधार किराती धर्मसंस्कृतिमा खोज्न सकिन्छ । किराती सांस्कृतिक दृष्टिकोणमा प्रकृतिजन्य तत्त्वहरूको विशेष महत्त्व रहेको हुन्छ । जन्मदेखि मृत्युसम्मका अनुष्ठान र कर्महरूमा प्रकृतिप्रतिको आदर र समपर्ण रहेको हुन्छ । यसमा प्रकृति र आदिवासी जीवनशैलीबिच अन्तर्निहित सम्बन्धलाई काव्यात्मक क्यानभासमा उतारिएको छ । प्रकृति र आदिवासी संस्कृतिको सङ्गम नै यस कृतिको मुख्य विषय–सन्देश हो । यसलाई शीर्षकका दुई पद ‘पञ्चतत्त्वको’ (प्रकृति) र ‘पालाम’ (संस्कृति) ले नै यसलाई स्पष्ट सङ्केत गरेको छ । विश्वब्रह्माण्डको संरचना जस्तै यस कविताको आधार पनि प्रकृतिजन्य पञ्चतत्त्व नै हो । यसै प्रकृतिको आधारभूमिमा निर्मित संस्कृतिलाई जोडेर पालाम भनिएको, कथिएको, गाइएको छ । ‘पालाम’ लिम्बु संस्कृतिमा धाननाच आदिमा भनिने लयबद्ध गीत हो । यो युवायुवतीबिच मायाप्रीतिका विषयमा हुने दोहोरी बातचित हो (पन्धाक र तुम्बाहाङ, सन् २०२४, पृ. १३४) । तर यसमा प्रकृति र संस्कृतिको एउटै स्वरमा पालाम बनाइएको छ । यो पालामको पुनर्लेखन मात्र होइन, आदिवासी संस्कृतिको पुनर्लेखन र पुनर्जागरणको काव्यात्मक प्रयास हो ।  

पञ्चतत्त्व जीवन, सृष्टि र विनाशका आधार हुन् । यिनलाई शरीर, मन, आत्मा र ब्रह्माण्डसँगको सम्बन्धका रूपमा पनि हेरिन्छ । आदिवासी समुदायमा नदी, वनस्पति, आगो, पानी, हावा आदिप्रतिको आस्था परम्परागत जीवनशैली, पूजा–प्रार्थना, संस्कार आदिका माध्यमबाट गहिरो रूपमा गाँसिएको हुन्छ । यस कृतिका कवितामा यी तत्त्व कहिले खुसी, कहिले पीडा, कहिले सङ्घर्षको प्रतीक बनेर आएका छन् । पानी सुक्दै गएको, वनविनाश, माटोको दुःख, वर्षाको अनियमितता, वातावरण प्रदूषण आदि आदिवासी जीवनको सङ्कटसँग गाँसिएर आएका छन् । प्रकृति र प्रकृतिका शक्तिहरू केवल परिवेश नभई जादिवासी अस्तित्वको अभिन्न अङ्ग र जीवन–दर्शन बनेर आएका छन् । यिनको विनाशका विरुद्ध यसले जागरणको सलेदो सल्काउने प्रयास गरेको छ :

तिनीहरूको गन्हाउने सासले फुकेर फुकेर 
निभाइदिएको त्यो आदिम आगो 
आज फेरि काँचो माटोको गन्धसरि हावा चलेर हुर्र बल्यो 
अनि घाम जत्तिकै प्राचीन आगो त्यो भर्भराउन थाल्यो । 
(‘हावा यस्तर चल्यो’ कविताबाट)

यो प्रकृति र आदिवासी प्रतिरोध चेतनाको काव्यसंयोगको एउटा नमुना मात्र हो । यसमा ‘तिनीहरूको गन्हाउने सास’ उपनिवेशवादीको गलत व्यवहार, ‘आदिम आगो’ आदिवासी संस्कृति, ‘काँचो माटोको गन्धसरि हावा’ प्रतिरोधी अभियान र ‘भर्भराउन थाल्नु’ आदिवासी चेतनाको जागृति हो । यस्ता नवीन विम्ब र प्रतीकका हरेक पुञ्जले प्रकृति र आदिवासी संस्कृतिलाई नै जोडेका छन् । 
मानवजीवन, प्रकृति र ब्रह्माण्डबिचको सन्तुलन र समन्वय पञ्चतत्त्वसँग गाँसिन्छ । यिनको सन्तुलनमा नै सृृष्टि–ब्रह्माण्डको अस्तित्व अडिएको छ भन्ने दार्शनिक धरातलको निर्माण यस कृतिको ध्येय देखिन्छ । त्यसैले कविको आग्रह छ :

ओ मान्छे ! 
बेफुर्सदीबाट एक्कै छिन हटेर 
हेर्नू माटैमाटोको तिमी आफूलाई
अब फेरि दोहोर्‍याएर भनिरहन नपरोस् 
कि मान्छे माटो नै गन्हाउँछ...
(‘मान्छे माटो गन्हाउँछ–२’ कविताबाट)

कवि सुब्बाका हरेक कविताका हरेक हरफ व्याख्येय छन्, विशेष अर्थ अभिव्यञ्जित गर्छन् । यहाँ केही प्रतिनिधि कविता, अर्थ र तिनका उदाहरण प्रस्तुत गरिएको छ :

प्रकृतिसँगको अभेद्य सम्बन्ध 

आसेवारो ! 
यसरी दश अम्ला जोडेर 
तिमीलाई सेवा टक्य्राएको चैँ 
तिमी कता हो कता माथि छौ भनेर होइन है ! 
तिमी त जहिल्यै पनि यहीँ नै छौ हामीसितै हाम्रै वरिपरि
 घरको छानामाथि अनि भित्ताभित्तासम्म टाँस्सिएर 
सिकुवामा, बार्दलीमा, आँगनमा 
अनि कोठा–कोठाभित्र पनि 
विचारभन्दा कता हो कता मिहिन 
अथाह थाहाजस्तो, 
आत्मीय अनुभूतिजस्तो 
साह्रै सरल र विनम्र 
विनम्र कतिसम्म भने 
हामीले देख्न र चिन्न नसकौँ भनेर 
आफ्नो नीलो पहिचानलाई माथि नै छोडिराखेर 
यो रातदिन प्रोपाग्यान्डाले पिटिरहेको पृथ्वीमा 
तिमी छौ एकदमै पारदर्शी

हावाभन्दा पातलो...

(‘ओ आकाश !’ कविताबाट)

मिथकको पुनर्निर्माण

समयको यौटा प्राचीन कुइनेटोमा 
मेरा जिजुबाजेका जिजुबाजेले 
आफ्नो ज्यानको २०६ वटै हड्डी जोडजाड पारी 
यौटा अनौठो तान बनाए 
र उपहार दिए मेरी जिजूबोजुकी जिजूबोजुलाई 
त्यही तानमा ती प्राचीन जिजूबोजुले 
बुनिन् नीलो आकाश 

संवेदनाका अनन्त रेसाहरू निकालेर ... 
(‘तान बुनेको आकाश’ कविताबाट)

मानवीकरण 

एक साँझ सपनाको रात्रि–बसमा चढेर 
सहर पसेको त्यो आकाश 
बिहान हुँदा नहुँदै क्षत–विक्षत भयो 
(शहरमा आकाश’ कविताबाट)

उपनिवेशीकरण र उपभोक्तवादविरुद्धको चेतना

तर तिमी त 
मेरो यो आकाशलाई टुक्रा...टुक्रा च्यातेर 
तिम्रो डिपार्टमेन्टल स्टोरको सौदा पोको पार्ने 
थैलाहरू पो बनाउन खोजिराखेको छौ त !
 हँ ?! (‘मेरो आकाश’ कविताबाट)

वातावरणीय न्याय र मूल्यको खोजी

धरती भन्नु 
भार थाम्नु, थामिरहनु,
पर्वतहरू थाम्नु, महासागरहरू थाम्नु 
तर सबभन्दा गाह्रो कुराचाहिँ
मान्छेहरूको मनमानीलाई थाम्नु

...
खासमा धरती भन्नु त 
खेतबारीका गह्राहरू लहरिँदै झुल्नु 
चट्टानको चेपचापबाट पनि 
झरिलो झार उठिनिस्केर हरियो हाँस्नु

(‘धरती भन्नु’ कविताबाट)

 

विकास र आधुनिकताप्रतिको तिखो व्यङ्ग्य
...
यो हो तर त्यस जमानाको कुरा 
+
अचेल त्यो खोला छैन 
तर पुल कङ्क्रिटको अनि स्टिलको दुईवटा बनेको छ 
मानौँ मरेको खोलाको स्मृतिमा निर्मित स्मारक हुन् ती ! 
या त हुन् त्यसको स्वाभिमानी विगतलाई क्रूर व्यङ्ग्य !!

(‘त्यो खहरे’ कविताबाट)

 

आदिवासी विस्थापनको भय

ओ एमाजनका आदिम नागरिकहरू !
ओ आदिकालदेखिका मेरा सन्तानहरू !
कहाँ छौ तिमीहरू यतिखेर ?
कहीँ यो डढेको मासुको गन्ध मात्रै त भइसकेनौ ?
अब सबभन्दा ठूलो फिक्री यो छ कि 
यहाँको पक्का नागरिक र शासक भई 
ड्रोन–ह्याट ओढेका रोबोटहरू आउनेछन् 
फायरआर्मसित एकएकवटा बुल्डोजरमा चढेर... 

(‘नाच्दै छ आगो नाङ्गै’ कविताबाट)

पाँचवटा तत्त्वको पालाम भनेपछि उपसंहारका रूपमा अन्तिममा ‘पिञ्जराभित्र–बाहिर–भित्र’ शीर्षकको कविता राखिएको छ । पञ्चतत्त्वको महिमापछिको निष्कर्ष वा कविको मूल भाव यसमा अभिव्यञ्जित छ । यसको मुख्य भाव पञ्चतत्त्वद्वारा निर्मित जीवनरूप अस्तित्वको सीमाबद्धता र आत्माको मुक्तिभाव हो । यसमा पिँजारभित्रको देहधारी जीवनको अस्तित्व यिनै पञ्चतत्त्वको संयोजन हो । यसभित्र जीवनका सुखदुःख, आवेग–संवेग, सृष्टि, चेतना आदिको ‘जिग–स पजल’ खेलिरहेका भनी मुक्तात्माको अन्तर्य ध्वनित भएको छ । त्यसैले कवि भन्छन्, ‘पञ्चतत्त्वका औँलाको पकडबाट मात्र होइन, समयको अथाह आयामबाटै पनि उन्मुक्ति उभिन्छ ऊ ।’ यो अस्तित्व र आत्माको स्वतन्त्रताको असीम चाहना हो । उनमा पञ्चतत्त्वको पिँजराबाट माथि चेतनाको ‘नक्षत्र सूर्य जुन सबै राशिलाई झ्याम्मै उज्यालो पार्छ’ उत्कट अभिलाषा छ । 

अन्त्यको एउटा कविता यस सङ्ग्रहको व्यापक विमर्शको प्राप्ति मात्र नभएर कवि सुब्बाले बाँचेको सात दशक लामो अनुभव र उनले प्राप्त गरेको दशकौँ विशाल ज्ञानको सार हो । यहीँनेर आदिवासी अभियानका उग्र भौतिकवादी दृष्टिले उनीमाथि प्रहार गर्न सक्छन् । प्रकृति–संस्कृतिका शोषण, विनाश, सङ्कट, उत्पीडनका विरुद्ध जागृतिको स्वर उरालेर अन्त्यमा उनले आफूलाई आध्यात्मिकताको अन्धविश्वासमा डुबाइदिएको भनेर वैचारिकताको उग्रताले आलोचना गर्न सक्छ तर ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ गरी तीन वर्णाश्रम पार गरी संन्यासाश्रममा प्रवेश गर्दै गर्दाको उनको यो आध्यात्मिक मुक्तिको कामना हो । यसलाई अस्वाभाविक मान्न सकिँदैन ।   

यस प्रकार भौतिक जीवनका पर्यावरणीय सङ्कट र आदिवासी सांस्कृतिक उत्पीडनविरुद्धकोे ‘पालाम’ भन्दै अन्त्यमा पञ्चमहाभूतको जीवन–पिँजराबाट उन्मुक्त आत्माको दार्शनिक भाव अभिव्यञ्जित यो कृति समसामयिक चेतनायुक्त रहेको छ । यसमा आदिवासी जातीय मिथक, विम्ब र प्रतीक एवं आञ्चलिकताको समग्रतालाई गद्यलयमा बुनिएको छ । विषय र विचारको गहनता एवं शैल्पिक सौन्दर्यले ‘पञ्चतत्त्वको पालाम’का कविताहरू विश्व साहित्यमा उभिन सक्ने नेपाली साहित्यका उत्कृष्ट कृतिहरूको लहर उभिन सक्ने हैसियत राख्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. जीवन जीवन्त श्रेष्ठ
डा. जीवन जीवन्त श्रेष्ठ
लेखकबाट थप