सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
कविता

पानी, आँसु र मधेस

आइतबार, १८ साउन २०८२, १२ : ५७
आइतबार, १८ साउन २०८२

पानीसँगै आँसु पनि सुक्यो, अब के सुक्न बाँकी छ र ?
भोकको चिहानमा माटो रोयो, खेतीको भाग्य साँच्चै छ र ?
नहरहरू सुके, सुके इनार, कुवा, धानका बिरुवा मरे छायामा
न देखिन्छ पानी, न छ बादल आकाशमा न सुगन्ध धर्तीकै काखमा ।

पलायन भयो पुर्खाको लाल, सहरमा पसिना बेच्न
बाँझो रह्यो खेत र सपना, कसले आउला फर्केर हेर्न ?
हातमा कोदालो छैन अब, औँलामा छ दु:खको रेखा
साँझ झल्किन्छ घरमा नुन, तर छैन भातको लेखा ।

घाम झन् चर्किन्छ मधेसमा, छाया पनि तातिन्छ
कसरी बचाउँछन् जीवनलाई, जब खोला पनि सुकिन्छ ?
माटोले पनि माग्छ आँसु, तर हावा मात्र बाँकी छ
शरीर टुक्रिएर बाँचे पनि आत्मालाई खडेरीले ढाकेछ ।

नेताले आँखा चिम्लिए, सहायता बन्यो घोषणा
तर थालमा पानी छैन, रित्तिएको छ आशाको पोषण
अब कहिले बर्सन्छ आकाश, छाया र माया तातियो घामले
मधेसको यो पीडामा कहिले बोल्नेछ देशको नामले ?

-बैंतेश्वर-४, दोलखा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरोज दाहाल
सरोज दाहाल
लेखकबाट थप