शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण : सभामुख घिमिरे

आइतबार, १८ साउन २०८२, १४ : ३७
आइतबार, १८ साउन २०८२

सारांश

  • सभामुख देवराज घिमिरेले जेनेभामा भएको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताए।
  • सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगति र संसदलाई प्रविधिमैत्री बनाउने विषयमा छलफल भयो।
  • उनले जलवायु सम्मेलन र नेपालले अन्य देशहरूसँगको साझेदारीबारे पनि जानकारी दिए।

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन् । जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताएका हुन् ।

उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसद्लाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए ।

सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले विभिन्न मुलुकबाट आएका संसद्का प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए ।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायु सम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसँग परामर्श भएको उल्लेख गरे । अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले सम्बोधन गरेका थिए भने नेपालको सङ्घीय संसद्को तर्फबाट ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ ?’ शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप