‘राता आँखे जनवाद’ कि जनताको बहुदलीय जनवाद ?
नेपाल कम्युनिस्ट पार्टीको इतिहासको विभिन्न कालखण्डमा विचार, सिद्धान्त र धारलाई अनेक किस्सा चल्ने गरेको पाइन्छ । मनपर्दा सुपरग्लुले टाँसेजस्तै देखिने ‘कामरेड’हरूबिचको मिलन र मननपर्दा राजनीतिक रूपमा एकअर्कालाई सिध्याउने गरी भएका द्वन्द्व एक सिक्काका दुई पाटाजस्ता लाग्छन् ।
कामरेडी प्रेम पनि अचम्मको ! कामरेडी मायाको पोको कहिले चखेवाका जोडीको भन्दा पनि बढी पे्रमिल, कहिले ‘डिभोर्सी’जस्तो— आक्रामक, असहिष्णु ।
पार्टीभित्रैका फरक धार हुन् या विपक्षी शक्ति, तिनलाई राजनीतिक रूपमा किनारा लगाएर नेतृत्व हत्याउन खेलिने खेल र कार्यकर्ताको भावना जित्ने गरी तयार गरिने रोचक–घोचक किस्सा हेर्न र सुन्नलायक हुन्छन् । किस्सा यथार्थमा आधारित रोचक ढङ्गका हुन्छन् ।
माधव नेपाल झन्डै १५ वर्ष अविछिन्न रूपमा नेकपा एमालेको नेतृत्वमा रहे । नेपाल अहिले एमालेमा त छैनन् तर उनी नेतृत्वमा छँदा असहमति राख्नेलाई कसरी भित्तामा पुर्याइन्थ्यो भन्ने एमालेमा अझै पनि सम्झना हुने गरेको नेता–कार्यकर्ता सुनाउँछन् । कतिसम्म भने केपी ओलीलाई जिल्ला जान समेत रोक लगाइएको थियो । ओलीलाई सहभागी गराएर कार्यक्रम नगर्न समेत पार्टी कमिटीमा नेपालको उर्दी जारी हुन्थ्यो । त्यति बेला माधव नेपालको प्रवृत्तिप्रति आलोचना र व्यङ्ग्य गर्दै ओली पक्षीय एमाले नेताहरू एउटा किस्सा खुब सुनाउने गर्थे ।
‘राता आँखे जनवाद’लाई चुनौती दिनकै निम्ति त्यसबेला केपी ओलीले पार्टीभित्र लोकतान्त्रीकरणको सवाल भन्ने दस्ताबेज नै तयार गरेर त्यसलाई व्यापक रूपले प्रचारप्रसार गर्ने अभियान चलाएका थिए ।
नेपालले आफ्नो नेतृत्वकालमा जननेता मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवादलाई त्यही उचाइ र गति दिन सकेनन् । जसले गर्दा मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउने एमालेको भूमिका क्रमशः ह्रास हुँदै गयो । यसको परिणाम के भयो भने राष्ट्रिय राजनीतिको नेतृत्वदायी स्थानमा पुगिसकेको एमाले खुम्चिँदै गयो । यस्तो स्थितिमा कार्यकर्ताको ठुलो पंक्तिले एमाले नेतृत्वबाट माधव नेपाललाई बिदा गर्न चाहन्थे तर उनी नेतृत्वमा सधैँ टिकिरहन चाहन्थे र यसका लागि अनेक किसिमका तौरतरिका र हतकण्डा अपनाउने गर्थे । उनको यस्तो तौरतरिका र कार्यशैलीलाई नेता–कार्यकर्ताहरू ‘राता आँखे जनवाद’ भन्दै व्यङ्ग्य गर्थे ।
कम्युनिस्ट पार्टी सञ्चालन गर्ने कार्यपद्धति भनेको जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयता भनेको माथिल्लो कमिटीले जबर्जस्ती जे लाद्यो त्यसलाई खुरुखुरु मान्ने भन्ने होइन । कमिटीका हरेक सदस्यले स्वतन्त्रतापूर्वक आफ्ना विचार प्रकट गर्न पाउनुपर्छ र त्यस्ता विचारलाई संश्लेषण गर्दै सर्वसम्मतिले र त्यस्तो हुन सकेन भने बहुमत वा अल्पमतले निर्णय गर्नुपर्छ तर बहुमत पुर्याउनका लागि सदस्यलाई बन्द कोठामा लगेर फकाउने, विभिन्न पदको लोभ देखाउने र त्यसो गर्दा पनि आफ्नो पक्षमा नआउनेलाई पार्टीमा बस्ने इच्छा छ कि छैन भनेर धम्क्याउने, अनेक हतकण्डा अपनाउने गरिन्छ भने त्यस्तो बहुमतलाई नियोजित बहुमत वा निर्देशित बहुमत भनिन्छ । यसरी बाध्य पारेर तयार गरिएको बहुमतलाई त्यसबेला कार्यकर्ताले ‘राता आँखे जनवाद’ भनेर व्यङ्ग्य गर्थे ।
त्यसबेला केपी ओली र उनलाई समर्थन गर्ने कार्यकर्ताले माधव नेपाललाई चुनौती दिँदै पार्टीलाई ‘राता आँखे जनवाद’बाट होइन, जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको बाटोमा अगाडि बढाउनुपर्छ भन्थे । ‘राता आँखे जनवाद’लाई चुनौती दिनकै निम्ति त्यसबेला केपी ओलीले पार्टीभित्र लोकतान्त्रीकरणको सवाल भन्ने दस्ताबेज नै तयार गरेर त्यसलाई व्यापक रूपले प्रचारप्रसार गर्ने अभियान चलाएका थिए । त्यसबेला उनले चलाएको यो अभियानले आम कार्यकर्ताको भावनालाई मुखरित गरेको थियो । उक्त अभियानले पार्टीभित्र थिति बसाल्न खोजेको थियो, आम कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गरेको थियो, त्यसैले यो प्रगतिशील थियो ।
आज एमालेभित्रको स्थितिमा ठुलो फेरबदल आइसकेको छ । माधवको ठाउँमा आज केपी छन् । केपीसँगको टकराबले भित्ता लागेपछि माधवले अर्कै पार्टी खोलेर बसेका छन् । केपी ओलीले दुई कार्यकाल एमालेको नेतृत्व गरिसकेका छन्, हाल चौथोपटक प्रधानमन्त्रीमा आसीन छन् । मार्क्सवादले भन्छ, सबै कुराको क्लाइमेक्स (उत्कर्ष विन्दु) हुन्छ र त्यसपछि त्यसको ओरालो यात्रा सुरु हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भन्ने नेपाली उखान त्यत्तिकै प्रचलित भएको होइन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको नेतृत्व क्षमता, योग्यता र भिजनको क्लाइमेक्सबाट अब ओरालो यात्रा सुरु भएको विश्लेषण हुन थालेको छ । कति पनि पूर्वाग्रह नराखी भन्न सकिन्छ, नागरिकस्तरमा पनि उनीप्रतिको क्रेज हिजोको जस्तो छैन, ओरालो लागेको छ । यो सबै राजनीतिक दलका वृद्ध नेताहरूको हकमा लागु हुन्छ । कसैलाई परीक्षण गर्न मन छ भने एउटा सर्वेक्षण नै गर्दा हुन्छ । नेतृत्व हस्तान्तरण र अभिभावकत्व ओलीका लागि सही गन्तव्य हुन सक्छ । त्यसका लागि उपयुक्त समय आइसकेको छ । पार्टीभित्रको लोकतान्त्रीकरण र नयाँ नेतृत्व परिवर्तन आज हरेक नागरिकको आवाज हो ।
हिजो एमालेको नेतृत्वमा हुँदा माधव नेपालले पटकपटक प्रयोग गरेको तर आम कार्यकर्ता पंक्तिद्वारा अस्वीकृत भएर असफल भएको ‘राता आँखे जनवाद’को बाटोमै आज ओलीले आफूलाई उभ्याएका छन् ।
हिजो पार्टीभित्र लोकतान्त्रीकरणको आवाज उठाएर माधव नेपालको शैलीलाई ‘राता आँखे जनवाद’को उपमा दिने उनै केपी ओली आज आएर आफू रहुन्जेल पार्टीको नेतृत्व गर्ने घोषणा गर्छन् । हिजो पार्टीभित्र लोकतान्त्रीकरणको कुरा गर्ने, ७० वर्षीय उमेर हद र दुई कार्यकालको व्यवस्था गर्ने, पार्टीलाई विधि र पद्धति अनुसार चलाउनुपर्छ भन्ने यी तिनै केपी ओली हुन्, जो आज आफूले हिजो गरेका प्रावधानलाई लात्ताले हानेर भित्तामा पुर्याएका छन्, आफ्नो आजीवन नेतृत्वको महत्त्वाकांक्षामा बाधा हुने देखेपछि । केन्द्रीय कमिटीभित्र आफ्नो प्रचण्ड बहुमत देखाउन केपी ओलीले अपनाएका हतकण्डाहरू हिजो माधव नेपालको भन्दा कम छैनन् । हिजो एमालेको नेतृत्वमा हुँदा माधव नेपालले पटकपटक प्रयोग गरेको तर आम कार्यकर्ता पंक्तिद्वारा अस्वीकृत भएर असफल भएको ‘राता आँखे जनवाद’को बाटोमै आज ओलीले आफूलाई उभ्याएका छन् । त्यसैले इतिहासले दिएको पाठबाट सिकेर समयमै सही निर्णय गर्न सकिएन भने समयको छालले हुत्याएर कहाँ पुर्याउँछ, त्यो त आउने समयले नै देखाउनेछ । यतिचाहिँ प्रस्ट रूपमा भन्न सकिन्छ, पात्र फरक प्रवृत्ति उही ‘राता आँखे जनवाद’को पुनरावृत्ति मदन भण्डारीको जबजबाट सुविचारित एमालेका लागि सुखद् अवश्य होइन ।
(गिरी चितवनमा बसेर पत्रकारिता गर्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा प्रवेश गर्दै अभिनेता धनुष ?
-
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन
-
ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण