बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीको कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

आइतबार, १८ साउन २०८२, १६ : १४
आइतबार, १८ साउन २०८२

सारांश

  • अविरल वर्षाले गर्दा गुल्मीको कालीगण्डकी करिडोर सडकमा पहिरो आई अवरुद्ध भएको छ।
  • रिडी-वामीटक्सार सडक खण्ड सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा बाढी आउँदा अवरुद्ध भएको छ।
  • प्रहरीले सडक सुचारु गर्न टोली परिचालन गरेको छ भने जिल्ला प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको काली गण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । काली गण्डकी करिडोर अन्नतर्गत काली गण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट ठुला ठुला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी (वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङकाे  बुर्तिबाङसम्म आवतजावत गर्ने सवारी साधन बिच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका करिब दुई सय ८० स्थानलाई  बाढी र पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा राखिएको जनाएको छ । त्यसैगरी शनिबार अपारह्नदेखि परेको अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेकाले उच्च सतर्कता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप