बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सरोकार

सम्पदा क्षेत्रमा मनपरी : शिवलिङ्ग हटाएर ‘जिमखाना’, भुइँखेलको जग्गा पनि  व्यक्तिको नाममा

तर पुरातत्त्व विभाग मौन
सोमबार, १९ साउन २०८२, ०८ : ००
सोमबार, १९ साउन २०८२

सारांश

  • देशका प्रमुख सम्पदा क्षेत्रहरूमा सरकारी निकाय र स्थानीय समूहबाटै अतिक्रमण र मनपरी निर्माण भइरहेको पाइएको छ।
  • पाटनको लिच्छविकालीन मन्दिर परिसरमा जिमखाना बनाउनेदेखि स्वयम्भूको ऐतिहासिक भुइँखेल व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भएको छ।
  • पुरातत्त्व विभागले सम्पदा क्षेत्रमा भइरहेका यस्ता गतिविधि रोक्न कानुनी प्रक्रिया अघि बढाएको छ, तर प्रभावकारी नभएको जनाएको छ।

काठमाडौँ ।  देशका प्रमुख सम्पदा क्षेत्रहरूमा सरकारी निकाय र स्थानीय समूहबाटै अतिक्रमण र मनपरी निर्माण भइरहेको पाइएको छ । 

पाटनको लिच्छविकालीन मन्दिर परिसरमा पुरातात्त्विक संरचना भत्काएर ‘जिमखाना’ बनाउनेदेखि स्वयम्भूको ऐतिहासिक भुइँखेल (मैदान) नै व्यक्तिको नाममा दर्ता गर्नेसम्मका गम्भीर घटनाहरू सार्वजनिक भएका छन् । 

पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले आइतबार राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सम्पदा क्षेत्रमा भइरहेको श्रृंखलाबद्ध अतिक्रमणबारे जानकारी गराइन् । साथै यस्ता गतिविधि रोक्न विभागले कानुनी प्रक्रिया अघि बढाए पनि प्रभावकारी नभएको बताइन् । 

प्रधानाङ्गले पशुपति, स्वयम्भूदेखि पाटनका ऐतिहासिक क्षेत्रमा समेत विभागको स्वीकृतिबिना संरचना बनाउने र पुरातात्त्विक वस्तुमा क्षति पुर्‍याउने क्रम बढ्दै गएको बताएकी छन् । 

उनका अनुसार पाटनको लिच्छविकालीन महालक्ष्मी मन्दिर परिसरमा स्थानीय समितिले कुनै स्वीकृतिविनै ‘जिमखाना’ सञ्चालन गरिएको भन्दै विभागमा उजुरी परेको थियो । यससँगै विभागको एउटा टोलीले उक्त स्थानमा गएर निरीक्षण गरेको थियो । निरीक्षण गर्न गएको टोलीले तयार पारेको प्रतिवेदनमा शिवलिङ्ग हटाएर जिमखाना राखिएको उल्लेख छ । 

‘अहिले त्यो ऐतिहासिक स्थल हो, त्यहाँ पूजा र आराधना हुन्छ,’ उनले भनिन्, ‘व्यायाम गर्ने ठाउँ बनाउन पाइँदैन भनेर हामीले ती संरचना हटाउन निर्देशन दिएका छौँ ।’

‘मन्दिर परिसरमा जिमखाना बनाइयो भनेर हामीलाई उजुरी आयो,’ उनले भनिन्, ‘त्यसपछि हामीले साथीहरूलाई अनुगमनका लागि पठायौँ । शिवलिङ्ग हटाएर जिमखाना राखेको भन्ने अनुगमन प्रतिवेदनमा आयो । त्यसपछि समितिलाई पत्राचार गर्‍यौँ । तर समितिले त्यस्तो केही नभएको भन्दै उल्टै हामीलाई चुनौती दियो । त्यसपछि हाई लेबलको ग्रुप पठायौँ ।’

यसपछि उच्च तहको समूहले ढुंगाको बसाहा फुटेको अवस्थामा भेट्टायो । यस्तै विभागको अनुमति नलिई भोज खाने स्थल, शौचालयलगायत सिमेन्टको संरचना बनाइसकेको पाइएको छ । 

समितिलाई त्यहाँ जिमखाना सञ्चालन नगर्न निर्देशन दिइएको र जिल्ला प्रशासन, नगरपालिका र वडा कार्यालयमा पत्र पठाइएको महानिर्देशक प्रधानाङ्गले बताइन् ।

‘अहिले त्यो ऐतिहासिक स्थल हो, त्यहाँ पूजा र आराधना हुन्छ,’ उनले भनिन्, ‘व्यायाम गर्ने ठाउँ बनाउन पाइँदैन भनेर हामीले ती संरचना हटाउन निर्देशन दिएका छौँ ।’

GopalDahal_KTM_RSS_18__DG_5504

  • स्वयम्भूको ऐतिहासिक भुइँखेल व्यक्तिको नाममा 

स्वयम्भू क्षेत्रमा रहेको ऐतिहासिक भुइँखेल (सम्यक्को मैदान) व्यक्तिको नाममा दर्ता भएको पनि प्रधानाङ्गले बताइन् । 

स्वयम्भूको ऐतिहासिक भुइँखेल जहाँ १२ वर्षमा एकपटक सम्यक् पूजा हुन्थ्यो व्यक्तिको नाममा दर्ता भएको विषय पनि चर्चामा आएको उनले बताइन् । यद्यपि, यो विषयमा विभागमा औपचारिक जानकारी नआएको र राणाकालमै बकसस्वरूप दिइएको उनको भनाइ थियो ।

‘त्यो कुरा बाहिर आएको थिएन । गुपचुप रूपमा दिइएको रहेछ  । केही समयअघि महानगरले पर्खाल बनाउने क्रममा जग्गा पाएको व्यक्तिले मुद्दा दायर गरेको रहेछ  । त्यसपछि  व्यक्तिको नाममा गएको भन्दै सरोकारवलाले विरोध गरेका छन् ।’

तर यसबारे औपचारिक रूपमा आफूहरूले खोजी गरिनसकेको उनको भनाइ थियो । उनले भनिन्, ‘मैले औपचारिक खोज गरेको छैन । अनौपचारिक रूपमा प्रजातन्त्रअघि नै बकस पत्रको रूपमा दिइएको व्यक्ति हो भनेर बुझेकी छु ।’

त्यसैगरी, स्वयम्भूको स्तुप वरिपरि तिब्बती भाषामा मन्त्र लेख्ने र छाप्ने काम एउटा व्यवसायकै रूपमा चलेको र त्यसलाई रोक्न नसकिएको उनले स्विकारिन् । ‘हामी आज हटाउँछौँ, भोलिपल्ट फेरि टाँसिसकेका हुन्छन् । यो काम निरन्तर रोक्न सकिएको छैन,’ उनले भनिन् ।

  • पशुपतिमा पनि स्वीकृतिविना यज्ञ कुण्ड निर्माण

पशुपति क्षेत्रमा पनि अतिक्रमण र मनपरी ढंगले विभिन्न संरचना निर्माण गरिरहेको पाइएको छ । गत वर्ष कैलाश पर्वतमा स्वीकृतिविना ठुलो खाडल खनेर महायज्ञ गरिएको थियो । यस वर्ष पनि त्यस्तै प्रयास भएपछि विभागले रोकेको महानिर्देशक प्रधानाङ्गले बताइन् ।

उनले भनिन्, ‘अहिले फेरि अर्को समूहले सोध्दै नसोधी ९ वटा यज्ञकुण्ड खन्न थालेको थियो । हामीले थाहा पाउनेबित्तिकै रोक्न लगायौँ, तर त्यति वेलासम्म काम धेरै अघि बढिसकेको थियो ।’ 

उनका अनुसार पशुपतिमा सन्ध्याकालीन आरती हुने स्थान पनि जोखिममा परेको छ । दाहसंस्कार गर्ने घाटको ठिक अगाडि आरती गर्दा एकातिर उत्सव र अर्कोतिर शोकको अवस्था देखिनु सांस्कृतिक रूपमा अनुपयुक्त भएको र अर्कोतर्फ हजारौँ मानिसको भीडले १५ शिवालय रहेको क्षेत्र भासिँदै गएको उनले बताइन् । 

‘त्यो ठाउँ भासिएर भत्किने अवस्थामा छ, यसको संरक्षणका लागि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भनिन् । 

महानिर्देशक प्रधानाङ्गले अधिकांश घटनामा क्षति भइसकेपछि मात्र विभागलाई खबर आउने गरेको गुनासो गरिन् । ‘सडक बनाउँदा होस् वा अन्य निर्माण गर्दा सम्पदा क्षेत्रमा काम गर्नुअघि विभागसँग समन्वय नै गरिँदैन,’ उनले थपिन्, ‘सम्पदा प्रभाव मूल्याङ्कन जस्तो महत्त्वपूर्ण प्रक्रियालाई बेवास्ता गर्दा यस्ता समस्या आएका हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप