अबेर रातसम्म जागा बस्दा मधुमेहको जोखिम ५० प्रतिशतसम्म बढ्छ
सारांश
- ब्यस्त जीवनशैलीमा ढिलो सुत्ने बानी स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
- निद्राको कमीले शरीरमा तनाव हार्मोन बढ्छ, जसले मधुमेह निम्त्याउन सक्छ।
- स्वस्थ रहन सुत्नुअघि चिया, कफी, खाना, र फोनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ।
काठमाडौँ । हिजोआजको व्यस्त जीवनमा, ढिलोसम्म जागा भएर बस्नु हामीमध्ये धेरैको सामान्य बानी भइसकेको छ । कहिले कामको चाप, कहिले चलचित्र वा वेब सिरिज हेर्ने लत यस्तै यस्तै कुराले कति खेर रातिको १/२ बजिसकेको हुन्छ ? थाहा नै हुन्न । यो बानी तपाईंको स्वास्थ्यको लागि निकै हानिकारक हुन सक्छ । के यो कुरा तपाईंलाई थाहा छ ?
जब राती राम्रो र पूरा निद्रा पाउँदैनौँ, हाम्रो शरीरको सन्तुलन बिग्रन्छ । निद्राको कमीले शरीरमा कर्टिसोल नामक तनाव हार्माेनको स्तर बढ्छ । यसले इन्सुलिनको काममा बाधा पुर्याउँछ । यसको प्रत्यक्ष असर हाम्रो रगतमा चिनीको स्तरमा पर्छ र बिस्तारै यसले हामीलाई मधुमेहतिर धकेल्छ ।
के तपाईं स्वस्थ रहन र यो गम्भीर रोगबाट बच्न चाहनुहुन्छ । त्यसो हो भने तपाईंले राम्रो निद्रालाई आफ्नो प्राथमिकता बनाउनै पर्छ । यसका लागि तपाईंले गर्नै पर्ने चार काम छन्ः
सुत्नु भन्दा चार घण्टा अगाडि चिया र कफी छोड्ने
चिया र कफीमा क्याफिन हुन्छ । यसले हाम्रो मस्तिष्कलाई उत्तेजित गर्छ । तपाईं सुत्नुभन्दा ठिक अगाडि चिया वा कफी पिउनुहुन्छ भने, यसले निद्रा बिगार्न सक्छ । सुत्नुभन्दा कम्तीमा ४ घण्टा अगाडि क्याफिनयुक्त पेय पदार्थ नपिउनुस् । यसको सट्टा, तपाईं हर्बल चिया वा तातो दूध पिउन सक्नुहुन्छ ।
सुत्नुभन्दा ३ घण्टा अगाडि नै खाना खाइसक्ने
राति अटेसमटेस हुनेगरी खाना खाने र तुरुन्तै सुत्ने गर्दा पाचन प्रणालीमा दबाब पर्छ । यसले ग्यास, एसिडिटी र बेचैनी निम्त्याउन सक्छ, जसले निद्रा बिगार्छ । सुत्नुभन्दा ३ घण्टा अगाडि हल्का र सजिलै पच्ने खाना खानुस् । यसो गर्दा खाएको खाना राम्रोसँग पच्छ अनि शान्तिपूर्वक निदाउन सक्नुहुनेछ ।
सुत्नुभन्दा २ घण्टा अगाडि पानी नखाने
यो नियम अलि अनौठो लाग्न सक्छ । तर यो धेरै प्रभावकारी छ । राति सुत्नुभन्दा ठिक अगाडि धेरै पानी पिउँदा बारम्बार पिसाब लागिरहन्छ अन निद्रामा खलल उत्पन्न हुन्छ । यसले निद्रा बिग्रनेछ । सुत्नुभन्दा २ घण्टा अगाडि पानी पिउन कम गर्नुस्, ताकि तपाईं बिना कुनै अवरोध सुत्न सक्नुहोस् ।
सुत्नुभन्दा १ घण्टा अगाडि फोन नचलाउने
यो सबैभन्दा गाह्रो तर सबैभन्दा महत्त्वपूर्ण नियम हो । मोबाइल, ल्यापटप वा टिभीको स्क्रिनबाट निस्कने नीलो प्रकाशले हाम्रो मस्तिष्कलाई जागा राख्छ र निद्राको लागि धेरै महत्त्वपूर्ण मेलाटोनिन हर्माेनको उत्पादनलाई रोक्छ । त्यसैले, सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि सबै डिजिटल उपकरणहरूबाट टाढा बस्नुहोस् ।
यी ४ सजिलो नियमहरू अपनाएर, तपाईंले राम्रो निद्रा पाउन सक्नुहुन्छ अनि आफूलाई धेरै गम्भीर रोगहरूबाट पनि बचाउन सक्नुहुन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण