कञ्चनपुरमा एक महिला मृत फेला, श्रीमान् र ससुरा पक्राउ
सारांश
- कञ्चनपुरमा एक महिला घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्, श्रीमान् र ससुरा पक्राउ परेका छन्।
- प्रारम्भिक अनुसन्धानले आत्महत्या दुरुत्साहनको संकेत गरेको छ, माइती पक्षले घरेलु हिंसा र दाइजोको आरोप लगाएका छन्।
- प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, पोस्टमार्टमका लागि शव अस्पतालमा लगिएको छ।
धनगढी । कञ्चनपुरको बेलडाँडी–२ की एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ ।
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार १८ वर्षीया सम्झना भट्ट आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या दुरुत्साहनसँग सम्बन्धित रहेको देखिएको छ ।
'पीडितको माइती पक्षले श्रीमान् र उनको परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्,' डीएसपी बोहराले भने ।
सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरूको भनाइ छ ।
माइती पक्षको जाहेरीका आधारमा प्रहरीले सम्झनाका २४ वर्षीय श्रीमान् पवन भट्ट र उनका बुवा हरिदत्त भट्टलाई पक्राउ गरेको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी बोहराले बताए ।
अनुसन्धानका क्रममा सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । सुरुमा प्रेम विवाह गरे पनि पछि दुवै परिवारले त्यसलाई समर्थन गरेको देखिन्छ । यद्यपि, विवाहपछि श्रीमान्–श्रीमतीबिच विवाद सुरु भएको थियो ।
डीएसपी बोहराका अनुसार घटना हुनुभन्दा केही दिनअघि शनिबार मात्रै उनीहरूबिच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुवैलाई सम्झाई–बुझाई घर पठाएको थियो ।
पीडितका माइती पक्षले दिएको जाहेरीमा दाइजोको विषय पनि उल्लेख गरिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतकले अन्तिम पटक कोसँग कुरा गरेकी थिइन् भन्नेबारे पनि सोधपुछ गरिरहेको छ । मृतकले आफ्नो बुबासँग अन्तिम पटक मेसेजमा कुरा गरेको देखिएको र यसबारे बुबासँग पनि सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान जारी रहेको र सबै कोणबाट छानबिन गरिने डीएसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण