बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नवगठित बागमती प्रदेशसभाका मन्त्रीहरू

बागमतीको नयाँ मन्त्रिपरिषद् : राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्षदेखि भूमिगत भएकासम्म

मङ्गलबार, २० साउन २०८२, २० : २०
मङ्गलबार, २० साउन २०८२

सारांश

  • बागमती प्रदेशमा ८ जना मन्त्रीले शपथ ग्रहण गरे, जसमा एमालेका ६ र कांग्रेसका २ जना छन्।
  • मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, भरत बहादुर केसी, किरण थापा, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, कृष्णकुमार तामाङ र शिवराज अधिकारी मन्त्री नियुक्त भएका छन्।
  • नियुक्त मन्त्रीहरू विभिन्न पृष्ठभूमिबाट आएका छन्, जसमा आन्दोलनकारी, निर्वाचित सांसद र पार्टीका विभिन्न पदमा रहेका व्यक्तिहरू छन्।

हेटौँडा । बागमती प्रदेशका ८ मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एमालेका ६ र कांग्रेसका २ मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकारमा गएका हुन् । 

एमालेबाट मधुसुदन पौडेल, बिन्दु श्रेष्ठ, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र डा. दिनेशचन्द्र देवकोटाले मन्त्री पद पाएका छन् भने कांग्रेसबाट कृणकुमार तामाङ र शिवराज अधिकारीले पद तथा गोपनियताका सपथ लिएका हुन् । मन्त्री पदमा नियुक्त भएकाहरू विशेषगरी आन्दोलनमा कमान्डर रहेका छन् । 

मधुसुदन पौडेल 

बागमती प्रदेशसभा सदस्यमा ललितपुर १ (क) बाट निर्वाचित नेकपा एमालेका मधुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । पौडेलले ११ हजार २९९ मतसहित माओवादी केन्द्रका हरि दाहाललाई पराजित गरेर प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् । 

ललितपुरको गोदावरी नगरपालिका–३ खहरेका स्थानीय पौडेलले व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका छन् । २०२३ साल भदौ ८ गते ललितपुरका गोदावरी ३ खहरेमा जन्मिएका पौडेलको ०३९ सालमा विद्यार्थीकालबाटै राजनीतिक यात्रा थालेका हुन् । तत्कालीन समयमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका पौडेल नमुना मच्छिन्द्र विद्यालयमा स्ववियु सहसचिव हुँदै नेपाल कमर्स क्याम्पसको स्ववियु सभापति बनेका थिए । 

madusudhan

२०४८ मा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य बनेका पौडेल ०४९ मा केन्द्रीय प्रचार विभाग प्रमुख र ०५१ सालमा विदेश विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरे । ०४३ मा तत्कालीन नेकपा मालेबाट दलीय राजनीतिमा प्रवेश गरेका उनले ०५१ मा एमाले ललितपुर जिल्ला कमिटी सदस्य र ०५९ मा एमालेको ललितपुर सचिवको जिम्मेवारी पाए । 

२०६३ र ०६६ मा एमालेको ललितपुर अध्यक्षको नेतृत्व सम्हालेका उनले भूमि आयोग ललितपुरको अध्यक्ष भएर कामसमेत गरेका छन् । ०६४ र ०७० सालमा ललितपुर क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । ०६४ मा माओवादी नेता वर्षमान पुनसँग पराजित भएका उनी ०७० सालमा भने नेपाली कांग्रेसका उदयशम्सेर राणासँग पराजित भएका थिए । 

विन्दु श्रेष्ठ

एमालेको समानुपातिक कोटामा आदिवासी जनजातितर्फबाट बागमती प्रदेशसभा सदस्य बनेकी बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् । काठमाडौँको चन्द्रगिरी नगरपालिका–४ इमाखेलकी बिन्दुले प्रमाणपत्र तह सम्मको औपचारिक शिक्षा हासिल गरेकी छन् । 

पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले उनलाई पार्टी राजनीतिमा होमिन केही सहज भयो । संविधानसभा सदस्य एवम् एमालेनिकट ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ उनका दाजु हुन् । तत्कालीन समयमा थनकोटस्थित बिन्दुको घर एमाले नेताहरूको सेल्टर थियो । जसले उनलाई राजनीतिमा लाग्न थप प्रेरित गर्‍यो । ०४० सालमा अखिल नेपाल महिला संघ थानकोट गाउँ कमिटीको अध्यक्ष भएर काम गरेकी उनले ०४८ मा एमालेको पार्टी सदस्य भएकी हुन् । 

bindu-shresth

२०५४ सालमा थानकोट गाविसको सदस्य निर्वाचित भएर जनप्रतिनिधिको भूमिकासमेत उनले निर्वाह गरिसकेकी छन् । एमालेको इलाका, क्षेत्रलगायत कमिटीमा बसेर काम गरिसकेकी छन् । राजनीति यात्राकै क्रममा राज्यबाट पटक-पटक गिरफ्तारीमा परिन् । तर परिवारका सदस्यहरूले उनलाई साथ दिइरहे । ०६२/६३ को जनआन्दोलनमा उनले काठमाडौँ पश्चिम क्षेत्र (थानकोटसम्म)को महिला समितिको नेतृत्व गर्ने अवसरसमेत पाइन् । उनको अगुवाइमा ०६३ वैशाख ६/७ को महिलाको बृहत् जुलुस आयोजना भएको थियो । जसप्रति तत्कालीन शाही सरकारले दमन गरेको थियो । एमालेको ७औँ र १०औं महाधिवेशनमा प्रतिनिधि भएकी उनी उनी हाल पार्टीको काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य र संसद् विभागमा आबद्ध छिन् । 

भरत बहादुर केसी

सांसद भरत बहादुर केसी दोलखाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । ०७९ को प्रदेशसभा निर्वाचनमा १९ हजार ४१४ मत प्राप्त गरेका केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई पराजित गरेका थिए । दोलखामा एमालेलाई पराजित हुनबाट जोगाएका केसीलाई प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

एमाले दोलखाको उपसचिव हुँदै बागमती प्रदेश कमिटी सदस्य बनेर काम गरेका केसी भीमेश्वर नगरपालिकाको मेयरसमेत भइसकेका व्यक्ति हुन् । साथै उनी ०५४ सालमा जिल्ला विकास समिति दोलखाको सदस्यमा निर्वाचित भएका थिए । 

bharat-bd-kc

२०२२ साल भदौ ७ गतेमा जन्मिएका केसीले ०३६ को पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिक जीवन सुरुवात गरेका थिए । केसी नेपाल ल क्याम्पसमा उच्च शिक्षा अध्ययनका क्रममा अनेरास्ववियु प्रारम्भिक कमिटीमा थिए । 

कानुनमा स्नातक तह पास गरेका केसीले ०४६ सालमा पार्टीको संगठित सदस्यता लिएर ०५० सालमा एमाले जिल्ला कमिटी दोलखाको जिल्ला कमिटी सदस्य बनेका थिए । केसीले नेपाल खेलकुद महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुखको रूपमा जिम्मेवारी पाइसकेका छन् ।  

किरण थापा

किरण थापा मगरले पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । ०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य पदमा भक्तपुर २ (क) बाट निर्वाचित भएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । ०३३ भदौ १४ गते जन्मिएका थापा क्रसर व्यवसायी हुन् । ०७४ सालमा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षको जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । 

kiran-thapa

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेका थापा ०७४ सालको स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रूपमा एमालेको राजनीतिमा सक्रिय छन् । खेलकुदमा रुचि राख्ने थापा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका छन् । 

थापा ०५३ सालमा २० वर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रामा सहभागी भएका थिए । तत्कालीन समयमा राप्रपाका विभिन्न भूमिकामा रहँदै आएका उनी २०७१ पुसमा एमाले प्रवेश गरेका थिए । 

डा. दिनेश चन्द्र देवकोटा 

राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष भइसकेका डा. दिनेशचन्द्र देवकोटा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । गोरखामा जन्मिएका उनी हाल काठमाडौँ–४ लमटङगीनका स्थायी बासिन्दा हुन् । एमालेका तर्फबाट समानुपातिकतर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य बनेका उनले विद्यावारिधि गरेका छन् । 

jayaram-thapa

इन्जिनियरसमेत रहेका डा. देवकोटा सन् २००८ देखि २०११ सम्म नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । उनले सन् २००५ मा जापानको सैतामा विश्वविद्यालयबाट विद्यावारिधि र सन् १९९६ मा संयुक्त राज्य अमेरिकाको दक्षिणी इलिनोइस विश्वविद्यालयबाट एमएस्सी गरेका छन् । उनी एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष हुन् । 

जयराम थापा 

अधिवक्ता जयराम थापा अनेरास्ववियुको स्कुल कमिटी अध्यक्ष हुँदै राजनीतिमा होमिएका व्यक्ति हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ (ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थापा श्रमरोजगार तथा यातायात मन्त्री नियुक्त भएका छन् । 

थापाको जन्म बूढानीलकण्ठ नगरपालिका–२ मा २०३३ कात्तिक १७ गते भएको हो । बुवा तारा बहादुर थापा र आमा अडरकुमारी थापाका माइलो छोरा थापाले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट सन् २०२० देखि कूटनीतिक कानुनमा विद्यावारिधि गरेका छन् । 

kiran-thapa

२०४९ सालमा गणेश माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटीका अध्यक्ष भएका थापा अनेरास्ववियुको राजनीतिमा क्रियाशील हुन पुगे । थापा ०६८–७० सम्म पाटन उच्च बार कमिटीको अध्यक्ष भएर काम गरे । २०७३–०७४ मा एमाले केन्द्रीय संस्कृति विभागको सदस्यको जिम्मेवारी पाएका उनी २०७१ बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए । उनी हाल एमाले काठमाडौँ जिल्ला कमिटीमा सक्रिय छन् । 

शिवराज अधिकारी 

धादिङका शिवराज अधिकारी कांग्रेसबाट समानुपातिकतर्फ खसआर्य कोटामा बागमती प्रदेशसभा सदस्य बनेका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका–४ कुशुका अधिकारीले स्नातक सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।

२०२४ साल भदौबाट कांग्रेसको विद्यार्थी राजनीति थालेका अधिकारी ०२७ सालमा नेविस‌घ धादिङको अध्यक्ष भएका थिए । ०२८ सालमा रेडक्रम सेसाइटी धादिङको संस्थापक अध्यक्ष भएका उनी ०३३ सालमा तत्कालीन पार्टी सभापतिले कांग्रेस धादिङ जिल्ला समिति बनाउँदा सदस्यमा मनोनित भएका थिए । 

shivraj-adhikari

सदस्यबाट सुरु भएको अधिकारीको पार्टी राजनीति लामो समय उपसभापतिमा बित्यो । ०५९ सालमा मात्र उनले कांग्रेस धादिङको सभापतिको जिम्मेवारी पाए । ०४६ सालको जनआन्दोलनमा उनले धादिङमा कमान्डरको भूमिका निर्वाह गरेका थिए ।  

राजनीति दौरान ०२९ सालमा उनी भूमिगतसमेत भएका थिए । त्यस वेला भएको बम काण्डमा मुछिएका उनलाई राज्यद्रोहको मुद्दा लागेको थियो । उक्त समयमा ६ महिना भूमिगत रहेका अधिकारी हाल बागमती प्रदेशको समानुपातिक सांसद हुँदै मन्त्री नियुक्त भएका हुन् । 

कृष्णकुमार तामाङ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित कृष्णकुमार तामाङ प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । मेलम्ची नगरपालिका–४ थकनीका स्थानीय तामाङ विद्यार्थी जीवनबाट राजनीतिमा आएका हुन् ।  

नेविसंघको राजनीति गरेर आएका उनी पछि तरुण दलमा आबद्ध भए । तरुण दलको क्षेत्रीय सभापति चलाएर पार्टी राजनीतिमा होमिएका उनी पार्टीको १४औँ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित भए । त्यसपछि उनी पार्टीभित्र पदविहीन छन् । यद्यपि उनी पार्टीले जिल्ला र प्रदेशमा सञ्चालन गर्ने कार्यक्रममा भने सक्रिय रहँदै आएका थिए । 

krishna-kumar-tamang

उनलाई पार्टीले विशेषगरी निर्वाचनको कमान्डरको भूमिकामा खटाउने गरेको छ । उनले लोकतान्त्रिक खेलकुद महासंघको केन्द्रीय सदस्यसमेत भएर काम गरिसकेका छन् । उच्च माध्यमिक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका उनी निर्माण व्यवसायमा आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप