शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनुहारमा धेरै बेरसम्म फेसप्याक राख्यो भने के हुन्छ ?

बुधबार, २१ साउन २०८२, ०७ : १६
बुधबार, २१ साउन २०८२

सारांश

  • अनुहारमा फेस प्याक लामो समय राख्दा छालामा नकारात्मक असर पर्ने कुरा बताइएको छ।
  • फेस प्याक सुकिसकेपछि राख्दा छाला पोल्ने, सुख्खा हुने र डन्डीफोर आउने समस्या देखिन सक्छ।
  • फेस प्याक प्रयोग गर्दा समयको ख्याल राख्नुपर्छ र छालाको प्रकार अनुसार प्याक लगाउनु पर्छ।

काठमाडौँ ।  फेस मास्क वा फेस प्याक लगाउँदा चमक आउने सोचेर प्रायः मानिसहरूले धेरै समयसम्म त्यसलाई नधोई अनुहारमा राखी छाड्छन् । तपाईँ पनि यस्तै गर्नुहुन्छ कि ? 

अनुहारको सुन्दरता बढाउन मानिसहरू बेसन, बेसार वा मुलतानी मिट्टी आदिको फेस प्याक प्रयोग गर्छन् । यसले छालालाई सफा गर्छ, मोइस्चराइज गर्छ र चमक पनि ल्याउँछ । 

तर फेस प्याकलाई धेरै बेरसम्म अनुहारमा राखियो भने, यसले फाइदाको सट्टा हानि पुर्याउन सक्छ । यस्तो किन हुन्छ त ?  

छाला तानिने र पोल्ने हुन्छ
पूर्ण रूपमा सुकिसक्दा पनि फेस प्याकलाई अनुहारमै राखिन्छ भने छाला तन्किएको महसुस हुन्छ । यसले पोल्ने, चिलाउने र रातोपन जस्ता समस्या निम्त्याउन सक्छ ।

सुख्खा र खस्रोपन देखिन्छ
फेस प्याकले छालाबाट अतिरिक्त तेल र फोहोर हटाउँछ । तर, धेरै लामो समयसम्म राखियो भने, यसले छालाको प्राकृतिक ओसिलोपन निकाल्छ, जसको कारण अनुहार सुख्खा र निर्जीव देखिन थाल्छ । 

डन्डीफोर र एलर्जीको जोखिम

केही फेस प्याकहरूमा पाइने माटो, कोइला वा एसिडहरू जस्ता तत्त्वहरू लामो समयसम्म छालामा रहिरहे भने यसले छालाका छिद्रहरू बन्द गर्न सक्छ अनि पिम्पल वा एलर्जी जस्ता निम्त्याउन सक्छ । 

छालाको रंग बिग्रन सक्छ

फेस प्याक बारम्बार र लामो समयसम्म लगाइयो भने, छालाको रंग असमान हुन सक्छ । संवेदनशील छाला भएकाहरूले यसबारे विशेष गरी सावधान हुनुपर्छ । 

के हो फेस प्याक लगाउने सही तरिका ? 

–समयलाई ध्यानमा राख्नुहोस्: १०–१५ मिनेटको लागि मात्र फेस प्याक लगाउनुहोस् । यो ८० प्रतिशतसम्म सुकेपछि अनुहार पानीले राम्ररी पखाल्नुहोस् । 

–छालाको प्रकार अनुसारको फेस प्याक लगाउने: सुख्खा, तैलीय वा संवेदनशील छालाको लागि फेस प्याकहरू फरक–फरक हुन्छन् । आफ्नो छालाको प्रकृतिअनुसार फेस प्याक रोज्नुहोस् । 

–मोइस्चराइजर लगाउन बिर्सनु हुन्न: फेस प्याक प्रयोग गरेपछि, आफ्नो छालालाई हाइड्रेट गर्न हल्का मोइस्चराइजर लगाउनुहोस् ।

छालाको हेरचाह गर्ने एक राम्रो तरिका हो, फेस प्याक । तर यसलाई सही समयमा र सही तरिकाले प्रयोग गर्न भने पर्छ । धेरै लामो समयसम्म फेस प्याक अनुहारमा राख्नाले छालालाई हानि पुर्याउन सक्छ । त्यसैले अर्को पटक फेस प्याक लगाउँदा टाइमर सेट गर्नुहोस् पूरै सुक्नु भन्दा केही अघि नै यसलाई पखाल्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप