नेपाल अडिटर्स एशोसिएशनको २०औँ स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना
सारांश
- नेपाल अडिटर्स एशोसिएशन (अडान)को २०औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भयो।
- कार्यक्रममा वित्तीय प्रतिवेदनमान र कर सम्बन्धी कानुनको प्रभावबारे दुई सत्रहरू सञ्चालन गरिए।
- उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले लेखापरीक्षकको भूमिकाको प्रशंसा गर्दै थप योगदानको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान)को २०औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । आर्थिक क्षेत्रमा देखा परेका समस्या र चुनौतीहरू तथा लेखाव्यवसायीले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्य लगायतका कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिँदै सेसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता र महासचिव तिलक बहादुर अधिकारीबाट सञ्चालित यस कार्यक्रममा झण्डै ९०० को संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरू, कर्पोरेट लेखापाल र व्यावसायिक लेखापालहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” शीर्षकमा दुईवटा सत्रहरू सञ्चालन गरिएका थिए ।
अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो सेसनको अध्यक्षता नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष निल बहादुर सारु मगरले र दोस्रो सेसनको अध्यक्षता आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले गरेका थिए ।
कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” विषयमा सिए रोशन सापकोटा र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” विषयमा सिए प्रवीण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरूमा नेपाल लेखामान बोर्डका अध्यक्ष सिए सुनिर कुमार ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बाबुकाजी कार्की, पूर्व कार्यबाहक महालेखापरीक्षक बामदेव शर्मा अधिकारी, सिए प्रवीण राज काफ्ले, एक्यानका अध्यक्ष सिए अरुण राउत, अडानका द्वितीय उपाध्यक्ष आरए पोषराज नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिए बद्री कुमार गुरागाई, र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पर्शुराम दाहालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा अडानले खेलेको भूमिका सदैव सराहनीय रहँदै आएको भन्दै ज्ञान, सीप र क्षमताको सदुपयोगमार्फत राज्यको उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक विकासमा थप योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।
महालेखापरीक्षक तोयम रायाले दस्तावेज र प्रमाणमा आधारित बृहत लेखापरीक्षण र आईटी तथा वातावरण आधारित अडिटको आवश्यकता रहेको धारणा राखे ।
यसैगरी, आइक्यान अध्यक्ष निल बहादुर सारु मगरले अडानले मेची महाकालीसम्म लेखापरीक्षणमा पुर्याएको योगदान र अडान आइक्यान सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले राजस्व संकलन, लेखा पारदर्शिता र वित्तीय जबाफदेहितामा अडानको योगदान उल्लेखनीय रहेको उल्लेख गरे। नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्र राज पाण्डेले निर्यात प्रवर्द्धन र आयात घटाउने आवश्यकतालाई जोड दिँदै निजी क्षेत्रलाई आत्मविश्वास दिलाउने वातावरण आवश्यक रहेको बताए। नेपाल चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोत्राले लेखापरीक्षणले उद्योगी व्यापारीका गतिविधिको मूल्याङ्कन मात्र नभई मानवीय कमजोरीलाई समयमै समाधान गर्न सहयोग पुर्याउने भएकाले अडानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
एक्यान अध्यक्ष अरुण राउतले अडान एक्यानबीच संस्थागत हकहितका लागि सशक्त समन्वय र सहकार्यको आवश्यकतामा जोड दिनुभयो भने अडानका निवर्तमान अध्यक्ष केदार नाथ पौडेलले यथार्थ लेखापरीक्षणमार्फत आर्थिक पारदर्शिता र सदस्य क्षमता वृद्धिमा अडानको निरन्तर प्रतिबद्धता रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण