शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगार

ग्रीसमा बेचिएजस्तै अवस्थामा छन् कैयौँ नेपाली, अस्ट्रियाका राजदूतले सुनाए विकराल समस्या

ग्रीसमा करिब ५ हजार नेपाली रहेको अनुमान, अधिकांशको कानुनी अवस्था कमजोर
बिहीबार, २२ साउन २०८२, १६ : ४५
बिहीबार, २२ साउन २०८२

सारांश

  • ग्रीसमा आकर्षक रोजगारीको प्रलोभनमा परेका नेपाली युवायुवतीहरू अलपत्र परेका छन् र उद्धारको लागि गुहार मागिरहेका छन्।
  • एक महिलाले आफूलाई बन्धक बनाएर श्रम शोषण र शारीरिक यातना दिइएको गुनासो गरेकी छिन्, साथै पासपोर्ट र मोबाइल खोसिएको बताइन्।
  • अस्ट्रियास्थित नेपाली राजदूतावासले ग्रीसमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिएको छ र अवैध रूपमा युरोप प्रवेश गर्नेहरू समस्यामा परेको जनाएको छ।

विराटनगर । आकर्षक रोजगारीको प्रलोभनमा ग्रीस पुगेका कयौँ नेपाली युवा–युवती अलपत्र अवस्थामा रहेको तथ्य एकपछि अर्को गर्दै उजागर भइरहेको छ ।

रातोपाटीको सम्पर्कमा आएकी एक महिलाले आफू बन्धकजस्तै बनेको भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेकी छन् । झापा घर बताउने ती महिलाले आफूलाई बन्धकजस्तै बनाएर श्रम शोषण गरिएको र शारीरिक यातनासमेत दिने गरेको बताएकी छन् ।

‘अहिले म बन्धकजस्तै छु, पासपोर्ट र मोबाइल सबै खोसिएको छ,’ उनले रातोपाटीसँग भनिन् । घरको ऋण तिर्ने र परिवारलाई सुखी राख्ने सपना बोकेर आठ महिनाअघि युरोपको यात्रामा आफू निस्किएको उनको भनाइ छ ।

पीडित महिलाका अनुसार उनी कामदार भिसामै युरोपेली मुलुक सर्बिया पुगेकी थिइन् । तर त्यहाँ करिब दुई सातामात्र बसेको उनको भनाइ छ ।

‘त्यहाँको आन्तरिक राजनीतिक समस्याले हाम्रो भिसा रद्द भयो’, उनले भनिन्, ‘सर्बियामा बस्न नसकिने र ऋणले थिचिएको अवस्थामा घर फर्किन पनि नसक्ने भएकाले एक नेपाली महिलाकै पहलमा म ग्रीस आइपुगेकी हुँ ।’

सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकी ती महिलाले ‘१ हजार २ सय युरोमा ग्रीस पु¥याइदिने र त्यो पैसा पनि काम गरेपछि तिर्न मिल्ने’ भनेर आश्वासन दिएपछि विश्वास गरेको उनको भनाइ छ ।

आफू ग्रीस पुगेपछि छाँगाबाट खसेजस्तै भएको पीडित महिलाले रातोपाटीलाई बताइन् । ‘मलाई प्रलोभनमा पारेर विभिन्न प्रतिवद्धता जनाएकी महिलाले नै एक पाकिस्तानी नागरिक समक्ष २५ सय युरोमा मेरो डिल भएको रहेछ,’ उनले भनिन् ।

ग्रीसमा पुगेपछि आफ्नो पासपोर्ट, मोबाइल सबै खोसिएको र तिनै पाकिस्तानी दलालले बिहानदेखि बेलुकासम्म १३–१४ घण्टा कृषि फार्ममा प्याज, आलु र खुर्सानी टिप्ने काममा लगाउने गरेको पीडित महिलाले बताइन् ।

यद्यपि, श्रम गरेबापतको पैसा भने तिनै दलालले लिने गरेको ती महिलाको भनाइ छ । आफू आधिकारिक दस्तावेज विनानै बसेको उनले बताइन् । काम गर्ने बेलामा फिल्डमा लैजाने, कडा निगरानीमा काम गर्न लगाउने र काम सकेपछि घरमा ल्याएर बन्धकजस्तै गरी राख्ने गरेको उनको भनाइ छ ।

उनले आफू रहेको ठाउँमा करिब ३० नेपाली दयनीय अवस्थामा रहेको जानकारी दिइन् । यद्यपि पीडित कसैले पनि बाहिर सम्पर्क गर्न र उजुरी गर्ने हिम्मत गर्न नसकेको उनको भनाइ छ ।

ग्रीसमा नेपालको दूतावास छैन । अस्ट्रियास्थित नेपाली राजदूतावासले नै ग्रीसको समेत जिम्मेवारी सम्हाल्दै आएको छ ।

अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले अवैध बाटो हुँदै युरोपको ग्रीस पुगेका कयौँ नेपाली कठिन अवस्थामा रहेको र कतिपय ‘बेचबिखन’ जस्तैगरी काममा लगाइने गरेको सूचना आफूले पनि पाएको बताएका छन् ।

रातोपाटीसँगको टेलिफोन कुराकानीमा उनले ग्रीसमा करिब ५ हजार नेपाली रहेको अनुमान भए पनि तीमध्ये अधिकांशको कानुनी अवस्था कमजोर रहेको बताए ।

‘यो समस्या ग्रीसमा मात्र होइन, युरोपभरिकै हो,’ राजदूत रेग्मीले भने, ‘मानिसहरू एउटा देशमा प्रवेश गर्छन् र सेन्जेन क्षेत्रको फाइदा उठाउँदै अर्को देशमा पुग्छन् । त्यहाँ पुगेपछि उनीहरू कानुनी र व्यावहारिक समस्यामा पर्छन् ।’

Picture_plhkgzv

राजदूत रेग्मीले ग्रीस पुगेका धेरै नेपालीलाई अन्य देशका नागरिकले विभिन्न टापुमा लगेर जैतुन वा अंगुर टिप्नेजस्ता मौसमी काममा लगाउने गरेको बताए । ‘हामीले सुनेअनुसार, पाकिस्तानी वा अन्य मुलुकका नागरिकले नेपालीलाई काममा लगाउने र उनीहरूको शोषण गर्ने गरेका छन् । यो एक किसिमको मानव तस्करीजस्तै देखिन्छ,’ उनले भने ।

ग्रीसमा धेरै नेपाली ५–६ महिनाको मौसमी भिसामा आउने तर भिसा सकिएपछि पनि नफर्किएर बस्ने प्रवृत्तिले उनीहरूलाई अवैध बनाइदिने गरेको छ । ‘एकपटक युरोप छिरेपछि उनीहरू नेपाल फर्कन चाहँदैनन् । जसरी हुन्छ यतै बस्ने मानसिकताले समस्या झन् जटिल बनाएको छ,’ राजदूत रेग्मीले बताए ।

उनले भने, ‘मानिसहरू कसरी युरोप आउँछन्, त्यो हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो । तर यहाँ आइसकेपछि समस्यामा परेमा र उनीहरू आफैँले नेपाल फर्कन चाहेमा हामीले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिने जस्ता पहल गर्न सक्छौँ ।’

दूतावासले कसैलाई युरोपको भिसा दिलाउन वा त्यहाँको सरकारलाई भिसा दिन दबाब दिन नसक्ने उनले स्पष्ट पारे । पासपोर्टको समस्या समाधान गर्न दूतावासले पहल गरिरहेको उनले जानकारी दिए ।

गत वर्षमात्रै घुम्ती टोली पठाएर ८–९ सय जनाको राहदानी बनाइएको र भविष्यमा पनि यस्तो टोली पठाउने योजना रहेको उनको भनाइ छ ।

राजदूत रेग्मीले कुनै व्यक्ति विशेषमाथि अन्याय भएको खण्डमा पीडितले नाम, घटना र पीडकको विवरणसहित दूतावासमा सम्पर्क गरे कारबाहीका लागि सम्बन्धित निकायलाई लेखेर पठाउन सहज हुने बताए । उनले अवैध बाटोबाट लाखौँ खर्च गरेर युरोप नआउन र यहाँको वास्तविकता बुझेरमात्र पाइला चाल्न सबैलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप