बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
१० दलकाे आपत्ति

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति १० दलको आपत्ति (संयुक्त वक्तव्यसहित)

आयोगको मस्यौदाविरुद्ध गम्भीर असहमति
बिहीबार, २२ साउन २०८२, १७ : ३६
बिहीबार, २२ साउन २०८२

सारांश

  • निर्वाचन आयोगको कार्यविधिको मस्यौदामा १० राजनीतिक दलले आपत्ति जनाएका छन्।
  • दलहरूले कार्यविधि संविधान र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको भन्दै फिर्ता लिन चेतावनी दिएका छन्।
  • उनीहरूले राजनीतिक स्वतन्त्रता कुण्ठित गर्ने र दुई दलको वर्चस्व बढाउने कार्यविधिको विरोध गरेका छन्।

काठमाडौँ । निर्वाचन आयोगले तयार पारेको ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को मस्यौदाप्रति १० राजनीतिक दलहरूले संयुक्त रूपमा आपत्ति जनाएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उक्त कार्यविधि संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको भन्दै तत्काल फिर्ता लिन आयोगलाई चेतावनी दिएका छन् ।

यो कार्यविधि सङ्घीय संसद्को क्षेत्राधिकारमाथि अतिक्रमण गर्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ। आयोगले प्रत्यायोजित विधायनको नाममा कार्यविधि नभई ऐनकै रूप दिने शैलीमा मस्यौदा अघि बढाएको भन्दै विज्ञप्तिमा जुन संविधानको भावना विपरीत रहेको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ’बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुर्‍याउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य छ।’ उनीहरूले संविधान, ऐन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न आयोगलाई आग्रह गरेका छन् ।

राजनीतिक स्वतन्त्रता र प्रतिस्पर्धा लोकतन्त्रका आधारभूत तत्त्व भएको उल्लेख गर्दै वक्तव्यमा कार्यविधिले दलहरूको स्वतन्त्रता कुण्ठित गर्ने, निर्वाचनमा प्रतिस्पर्धा गर्नै नपाउने अवस्थासम्म पुर्‍याउने खतरा रहेको चेतावनी दिइएको छ ।

वक्तव्यमा आयोगले संविधान र ऐनको सीमाभन्दा बाहिर गएर शक्ति प्रयोग गर्न खोजेको आरोप पनि लगाइएको छ। दलहरूले यस्तो मस्यौदालाई अघि बढाउने काम तुरुन्त रोक्न माग गर्दै अन्यथा थप राजनीतिक तथा कानुनी कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने दलहरूमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टी रहेका छन् । आजै ती दलले आयोगमा पत्र समेत पठाएका थिए ।

526609334_782406244301328_3868879601104331548_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप