आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीले भने– दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्ने, खेल नहुने हो भने विचार गर्नुस् !

बिहीबार, २२ साउन २०८२, १८ : १९
बिहीबार, २२ साउन २०८२

सारांश

  • कर्णालीका मुख्यमन्त्री र खेलकुदमन्त्रीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा छलफल भयो।
  • मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मिति छिट्टै तोक्न र यसअघिका कमजोरीहरू नदोहोर्याउन आग्रह गरे।
  • खेलकुदमन्त्री चौधरीले प्रतियोगिताको मिति अब नसर्ने गरी तोकिने बताए, र तयारी भइरहेको जानकारी दिए।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र केन्द्रका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबिच भेटवार्ता भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो । दशौँ राष्ट्रिय खेलकुदको विषयमा गम्भीर छलफल भएको छ ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरी तोक्न खेलकुदमन्त्री चौधरीलाई आग्रह गरे ।

कर्णालीमा गर्ने भनिएको प्रतियोगिता यसअघि पटक–पटक मिति तोक्ने तर प्रतियोगिता नहुने हुँदा नकारात्मक सन्देश गएको कँडेलको भनाइ थियो ।

अब त्यस्तो गल्ती नदोहोर्‍याउन कँडेलले मन्त्री चौधरीलाई आग्रह गरे । ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौँ,’ कँडेलले भने, ‘यही अनुसार तयारी पनि गरिरहेका छौँ । तर आयोजक तपाईँहरू हो, अब पनि मिति तोक्ने, खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला ।’

मिति तोक्दा सङ्घीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन कँडेलको आग्रह छ । साथै कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका  कमजोरी दोहरिन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । 

साथै कँडेलले यसअघि केन्द्रबाट प्रतियोगिता गर्न गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए । ‘यहाँ नभएका जनशक्ति बाहिरबाट ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला मन्त्रीज्यू,’ कँडेलले चौधरीलाई भने, ‘प्रधानमन्त्रीले समेत यो प्रतियोगितामा चासोसहित केहि दिन अघि सरोकारवालालाई समेत निर्देशन दिनु भएको छ ।’

युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तोक्ने तयारी भइरहेको बताए ।‘अब तपाईँहरू ढुक्क हुनुहोस्, प्रतियोगिताको मिति नसर्ने गरी नै तोकिन्छ,’ चौधरीले भने, ‘सुर्खेत आसपास २४ वटा खेल हुन्छन् । त्यही अनुसार हामीले तयारी गरिरहो छौँ ।’

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप