बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश सरकार

मन्त्री छान्न बागमतीका मुख्यमन्त्री काठमाडौँमा, पार्टीभित्र सन्तुलन मिलाउने चुनौती

बिहीबार, २२ साउन २०८२, २० : ४८
बिहीबार, २२ साउन २०८२

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मन्त्रीपरिषद् विस्तारका लागि काठमाडौँ आएका छन्।
  • उनले पार्टी नेतृत्व र शीर्ष नेताहरूसँग मन्त्रीहरूको विषयमा छलफल गर्नेछन्।
  • मुख्यमन्त्रीले मन्त्रालयको कार्यसम्पादनमा देखिएका कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयास गर्नेछन्।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा काठमाडौँ आएका छन् । 

सत्तारुढ दलहरूसँगको परामर्श, पार्टी नेतृत्वको निर्देशन, र सम्भावित मन्त्रीहरूको टुङ्गो लगाउन बुधबार राती नै मुख्यमन्त्री बानियाँ काठमाडौँ आइपुगेका हुन् । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले साउन १८ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका अनुसार संविधानको धारा १६८(२) बमोजिम बहुमतको आधारमा दाबी पेस गरेका बानियाँले आफ्नै पार्टीका नेता बहादुर सिंह लामाको सरकार ढलाउनु परेको थियो । 

तत्कालीन मुख्यमन्त्री रहेका लामालाई उनले अविश्वास प्रस्ताव राखेर संसदीय दलको नेताबाट हटाएका थिए । त्यसका लागि संसदीय दलको निर्वाचन भएको थियो । निर्वाचनमा ३७ सांसद मध्ये २२ जनाको समर्थनमा बानियाँ संसदीय दलको नेता चयन भए । 

मुख्यमन्त्री बानियाँले बिहीबार केन्द्रका शीर्ष नेताहरूसँग भेटघाट सुरु गरेका छन् । मन्त्रिपरिषद् विस्तारका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारमा केही समयदेखि रिक्त रहेका मन्त्रालयहरूमा मन्त्री नियुक्त गर्ने गरी उनले छलफलको तयारी गरेका हुन् । पार्टी भित्रको आन्तरिक विवादलाई सम्बोधन गर्ने गरी सरकारमा मन्त्री पठाउन मुख्यमन्त्री बानियाँ छलफलका लागि काठमाडौँ पुगेको एक सांसदले बताए । 

दल भित्र मन्त्री बन्नेहरूको आकांक्षा उच्च रहेका र त्यसको व्यवस्थापन गर्न उनी पार्टी सभापति सहित शीर्ष नेतृत्वसँगको छलफलका लागि काठमाडौँ पुगेका ती सांसदले बताए ।

गत साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनले पदभार ग्रहण गर्दै पार्टी नेतृत्वसँग सल्लाह गरेर छिट्टै नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । 

प्रदेशको कामलाई अझ प्रभावकारी बनाउने गरी कांग्रेसले मन्त्री टुङ्गो लगाइने उनले बताएका थिए ।प्रदेशमा हाल कायम रहेकै मन्त्रालयको सङ्ख्यामा मन्त्रीहरू व्यवस्थापन गर्ने गरी सरकार अघि बढेको उनको भनाई थियो ।

मन्त्रालयको सङ्ख्या सरकार पिच्छे बढाउने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाई थियो । मन्त्रालयको सङ्ख्या घटाउने क्रममा संविधान संशोधन गरेर व्यवस्थित, मर्यादित, प्रदेशमाथिको जनताको भरोसा जगाउने र पारदर्शी, उत्तरदायी, जनताप्रति जिम्मेवारी इमानदार भएर काम गर्नेतर्फ अहिलेको मेरो नेतृत्वको प्रदेश सरकार लाग्ने उनको भनाई थियो ।

सोही क्रममा उनी बुधबार राती नै काठमाडौँ पुगेका हुन् । प्रदेश सरकारमा मन्त्रालयको कार्यसम्पादनप्रति आलोचना बढिरहेका बेला मुख्यमन्त्री बानियाँको पहललाई गम्भीर राजनीतिक तयारीका रूपमा हेरिएको कांग्रेसका अर्का सांसदले बताए ।

प्रदेशमा रहेको १४ मध्ये साझेदार दल एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री बाहेक ७ मन्त्रालय पाउने भागबन्डा रहेको उनले बताए । सोही अनुसार एमालेले ६ मन्त्री सरकारमा पढाइ सकेपनि कांग्रेसले एक विना विभागीय मन्त्री सहित अर्का एक मन्त्रीलाई सरकारमा पठाएको छ ।

अन्य ५ मन्त्री र एक विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि मुख्यमन्त्री काठमाडौँ आएको ती सांसदले बताए । कांग्रेसको आन्तरिक समूह र क्षेत्रगत सन्तुलन कायम गर्नुपर्ने भएकाले निर्णय प्रक्रिया केही पेचिलो देखिएको ती सांसदले बताए । 

सम्भावित मन्त्रीहरूको टुङ्गो लगाउन र आफ्नो विश्वासको मत सम्बन्धी प्रस्ताव समेत निष्कर्षमा पुर्‍याउने गरी मुख्यमन्त्री बानियाँले छलफल गर्ने ती सांसदको भनाई छ । 

काठमाडौँमा रहँदा बानियाँले शीर्ष नेताहरूसँग मन्त्रालय बाँडफाँट र सम्भावित मन्त्रीहरूको विषयमा छलफल गरी अन्तिम निर्णय लिने छन् । मुख्यमन्त्री बानियाँ अघिल्लो सरकारप्रति विभिन्न दलहरू र नागरिकबाट भइरहेको आलोचना व्यवस्थापन गर्ने गरी मन्त्रीको लिष्ट तयारीमा रहेको उनले बताए ।

अघिल्लो सरकारले विशेषतः ढिलासुस्ती र कार्यान्वयनमा देखिएको कमजोरीका कारण नेतृत्वबाट समेत भएको आलोचना सम्बोधन गर्दै सक्रिय र जनमुखी सरकार बनाउने प्रतिबद्धता सहित मुख्यमन्त्री बानियाँ प्रयत्नरत रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप