आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राप्रपामा रडाको र आयोगमाथि दलहरूको ‘आक्रोश’देखि रामहरिमाथि प्रचण्डको ‘फायर’सम्म

बिहीबार, २२ साउन २०८२, २२ : ००
बिहीबार, २२ साउन २०८२

काठमाडौँ । आज मिति २०८२ साल, साउन महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचारसहित हामी उपस्थित भएका छौँ–

१. रास्वपाको उम्मेदवार आकांक्षी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ ।
बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।
शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

२. डेंगुको प्रकोप
जुलाई (असार र साउन) मा डेंगु संक्रमण ह्वात्तै बढ्यो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक हेर्दा जुनमा ४९५ जनामा संक्रमण देखिएको थियो । तर जुलाईमा यो संख्या १ हजार ९०६ पुगेको छ । मनसुनको समयमा लामखुट्टेको प्रजनन बढेसँगै डेंगुको जोखिम बढेको हो ।

३. आयोगमाथि आक्रोश
। निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ प्रति दलहरुले असहमति जनाएका छन् । कार्यविधि संविधान विपरीत राजनीतिक दलहरूलाई नियन्त्रण गर्ने उदेश्यले आएको निष्कर्ष निकाल्दै सत्तापक्ष र प्रतिपक्षका सबै विरोध जनाएका हुन् ।

४. रामहरि माथि प्रचण्डले खोले फायर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

५. शिक्षा समिति
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षक विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको प्रतिवेदन पारित गरिएको हो । शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी समितिमा सहमति जुटेको हो ।

६. मानव तस्करी
आकर्षक रोजगारीको प्रलोभनमा ग्रीस पुगेका कयौँ नेपाली युवा–युवती अलपत्र अवस्थामा रहेको तथ्य एकपछि अर्को गर्दै उजागर भइरहेको छ ।
रातोपाटीको सम्पर्कमा आएकी एक महिलाले आफू बन्धकजस्तै बनेको भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेकी छन् । झापा घर बताउने ती महिलाले आफूलाई बन्धकजस्तै बनाएर श्रम शोषण गरिएको र शारीरिक यातनासमेत दिने गरेको बताएकी छन् ।

७. राप्रपामा रडाको
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद बढ्दै जाँदा दुवै पक्षले गुटगत गतिविधि बढाएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्ष एकअर्काविरुद्ध रणनीति बनाउन तारन्तार बैठक बसिरहेका हुन् ।  

८. निष्काशन
डा सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

९. स्टार्टअप कर्जा
सरकारले नवीनतम सोच भएका ६०० जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप कर्जा प्रवाहका सिफारिस गरिएको थियो । त्यसमध्येबाट ६१ उद्यमीलाई कर्जा दिन अस्वीकृत गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

१०. गायक सेञ्जुरी एकाएक बिरामी परेपछि
लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ । एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप