आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘इमानदारिताका साथ भन्नुस्, थपिएको समयमै संसद् भवनको काम सकिन्छ ?’

शुक्रबार, २३ साउन २०८२, १३ : २५
शुक्रबार, २३ साउन २०८२

सारांश

  • नयाँ संसद् भवनको निर्माण समयमै सम्पन्न नभएकोमा सांसदहरूले आपत्ति जनाए।
  • सांसदहरूले पटक-पटक म्याद थप गर्दा पनि काम पूरा नभएको गुनासो गरे।
  • सांसदहरूले निर्माण कार्यमा ढिलासुस्ती भएको र जनशक्ति कम भएको कुरा उठाए।

काठमाडौँ । नयाँ संसद् भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरूले आपत्ति जनाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । 

थपिएको म्यादमा पनि जुलाई महिनामा लक्ष्यअनुसार काम हुन नसकेको सांसदहरूको गुनासो छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ ? भन्ने कुरा बन्दै गरेको संसद् भवनको उदाहरणबाट स्पष्ट हुने बताइन् । 

उनले भनिन्, ‘हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भन्दा संसद् भवन हेर्नुस् भन्ने गर्दछन् । यसमा हामी गम्भीर बन्नुपर्छ । वित्तीय प्रगतिको विवरण पेस गर्दा ०.८९ प्रतिशतले हामीले यो समय सीमाभित्र सक्छौँ भन्नेमा संशय त स्पष्ट देखियो । हामीलाई संशय नहुने गरी बताउनुपर्छ । कागजमा दिएको जनशक्ति परिचालन, प्रगति विवरणहरू के छ ? हामी पटक पटक निरीक्षण गर्न जाँदा त्यहाँ देखिएको कामदारहरूको सङ्ख्या असाध्यै कम छ । म्याद थपमा किन विलम्ब शुल्क लगाएनौँ ?’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए । उनले नयाँ संसद् भवनको म्याद पटक पटक थप गरे पनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थाले गिज्याउने जिकिर गरे । अबको म्यादमा सकिने गरी काम हुनुपर्ने बताए । 

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमार साहले साउन १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति रहेको बताइन् । उनले भनिन्, ‘हामी १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति छ । त्यस्तो अनुभूति भयो । यही यही तरिकाले यो डिसेम्बरमा त होइन दुई वर्षमा पनि सकिँदैन । त्यो लक्ष्य हासिल गर्न जुलाई महिनामा ३.३ प्रतिशत काम हुनुपर्नेमा जम्मा १ प्रतिशत पनि नभएको ०.८९ प्रतिशत मात्रै भएको भनेर यहाँहरू स्वयं रिपोर्ट दिनुभएको छ । यो काम समयमा सम्पन्न हुँदैन । हामी चाहने हो भने असम्भव छैन ।’

नेकपा एमाले सांसद सरस्वती सुब्बाले संसद् भवन अनुगमनका क्रममा कामदारहरूको सङ्ख्या कम रहेको पाएको बताइन् । उनले भनिन्, ‘हामीले अनुगमन गर्दा खाजा खाने समयमा बोलाउनु भयो । ताकि त्यहाँ धेरै ठाउँ घुम्दा वायरिङ गर्ने एक जना मात्रै थिए । कामदारहरूको सङ्ख्या एक जना मात्रै भेटेपछि के काम गरोस् । अन्तिम पटक म्याद थपिएको बारेमा चर्चा गरिरहेका छौँ । हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट सुरु गर्न सक्छौँ त ? इमानदारिताका साथ भनौँ ।’

सांसदहरूले म्याद पनि थपिएको र बजेट पनि भएको अवस्थामा निर्माण व्यवसायीहरूले काम नसक्नु दुःखद भएको बताए । उनीहरूले काम गर्न कति जनशक्ति चाहिन्छ ? भन्ने कुराको आङ्कलन पहिला नै गर्नुपर्ने उनीहरूको भनाइ छ । काम समयमा नसक्ने र म्याद थप गर्दा समेत ढिलासुस्ती गर्ने कुरा सह्य नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप