हिरासतमा चक्रे : गुण्डा आफैँले छुट्ट्याइदिए, सुनाए चुनाव लड्ने योजना
सारांश
- गुण्डा नाइके चक्रे मिलन र उनको समूहका ४७ जनालाई काठमाडौँको साम्बाला होटलबाट पक्राउ गरियो।
- प्रहरी अनुसन्धानमा चक्रे मिलनले आफ्ना समूहका सदस्यहरूको विवरण दिए, जसमध्ये १९ जना गुण्डागर्दीमा संलग्न भएको पाइयो।
- चक्रे मिलनले आफू चुनाव लड्ने र दीपक मनाङेभन्दा धेरै भोट ल्याउने दाबी गरे, साथै उनले खुकुरी हान्नु सामान्य कुरा भएको बताए।
काठमाडौँ । साम्बाला होटलबाट पक्राउ गरेर भद्रकालीमा ल्याउँदा गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समूहका ४७ जना सँगै थिए । कसलाई मुद्दा लगाउने र कसलाई नलगाउने भन्ने निर्क्यौल गर्न प्रहरी अधिकृतहरू उनीहरूलाई ‘स्क्रिनिङ’ गर्दै थिए ।
प्रहरी अधिकृतहरूले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) हेर्न थालेपछि चक्रेले अनुसन्धान अधिकृतहरूलाई रोक्दै भने, ‘केही हेर्नुपर्दैन, म भन्दिन्छु ।’
त्यसपछि चक्रेले आफ्ना समूहका सदस्यहरूको विवरण फरर भन्न थाले, ‘फलानो पटके, फलानो झगडालु र फलानाले पहिले पेस्तोल चलाएको ।’
चक्रेले भनेअनुसार विवरण जाँच गर्दा १९ जना यसअघि पनि पक्राउ परेका र गुण्डागर्दीमा संलग्न रहेको भेटिए । तिनै १९ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
उनीहरू जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । हिरासतमा चक्रे, गणेश बहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।
साउन १४ मा चक्रेको जन्मदिन हो, तर उनले क्यालेन्डर नै बनाएर जन्मदिन मनाउँदै हिँडेका थिए । साम्बाला होटलमा साउन १५ राति उनले पहिले आफ्नो समूहमा काम गरेका तर अहिले व्यापार व्यवसायमा लागेकाहरूलाई निम्ता गरेका थिए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मलाई मात्रै ल्याएको भए हुन्थ्यो, यी त सबै आफ्नो व्यापार गरेर बस्नेहरू हुन् ।’
साम्बाला होटलपछि चक्रे समूहले न्यूरोड र पाटनमा जन्मदिन मनाउने कार्यक्रम तय गरेको थियो । प्रहरीसँग चक्रेले भने, ‘गुण्डाचाहिँ तपाईंहरूले त्यता भेट्नुहुन्थ्यो, अहिले आएका भाइहरू त गुण्डा होइनन् ।’
हिरासतमा चक्रेले आफ्ना प्रतिस्पर्धी गुण्डा नाइके दीपक मनाङेलाई सम्झिएका छन् । गण्डकी प्रदेश सभा सदस्य मनाङे २०८१ कात्तिकदेखि डिल्लीबजार कारागारमा छन् । चक्रेको हात छिनाएको घटनामा उनी जेल परेका हुन् ।
कात्तिक २० मा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो । आफैँलाई आक्रमण गरेर जेल परेका मनाङेबारे चक्रेले भनेका छन्, ‘म मनाङेजस्तो होइन ।’
मनाङे सांसद भइसकेको बारे चक्रेले भने, ‘म पनि चुनाव लड्दै छु । मनाङेले भन्दा धेरै भोट ल्याउँछु । ६० हजार भोट ल्याएर जित्छु ।’
- खुकुरी हान्नु सामान्य !
चक्रे मिलनले खुकुरी हान्नु सामान्य विषय भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । ‘खुकुरी त सामान्य कुरा हो,’ उनको भनाइ उद्धृत गर्दै एक जना प्रहरी अधिकृतले भने, ‘फाट्टफुट्ट खुकुरी नचाउने कुरा धेरै ठुलो विषय होइन ।’
चक्रेले आफ्ना समूहका सदस्यहरूलाई ३ वटा काम नगर्न सुझाएको बताएका छन् । ‘मैले केटाहरूलाई भन्ने गरेको छु– ३ वटा कामचाहिँ गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘लागुऔषध खाने काम, बलात्कार र बच्चा अपहरण गर्ने काम मैले नगर्नु भनेको छु ।’
लागुऔषध सेवन, बलात्कार र बच्चा अपहरणभन्दा बाहेक झैझगडा र खुकुरी हानाहान सामान्य कुरा भएको सुनाएपछि अनुसन्धान अधिकृतहरूले उनलाई सोधे, ‘टिकटकमा तपाईँको फोटो देखाएर किन असुली धन्दा चलाइँदै छ ?’
चक्रेले जबाफ दिए, ‘त्यसबाट भाइहरूको दालभात चलेको छ, दालभात चल्नु नराम्रो होइन ।’
गोरखा, छोप्राक घर भएका चक्रे २०५० सालदेखि गुण्डागर्दीमा छन् । पछिल्लो समय उनी २०७४ वैशाख २६ मा पक्राउ परेर छुटेका थिए । भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर स्कर्टिङ गराएर हिँडेको र जन्मदिन मनाउने नाममा हो–हल्ला गरेको आरोपमा अहिले उनी पक्राउ परेका हुन् ।
६ जनाको बयान पूरा
गुण्डागर्दीको आरोपमा पक्राउ परेका चक्रे समूहका ६ जनाको बयान सकिएको छ । अन्यको बयान भइरहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए ।
अनुसन्धानको क्रममा चक्रेले एक वर्षअघि भक्तपुरमा अर्को कसुर पनि गरेको भेटिएको छ । २०८१ भदौ १० मा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
नेउपानेले भने, ‘उनको वतन नखुलेको अवस्थामा जाहेरी दर्ता भएको रहेछ । पीडितबाट सनाखत गराएर अनुसन्धान अघि बढाउँछौँ ।’
चक्रेविरुद्ध प्रहरी वृत्त थिमीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने भएको छ । चक्रेले योजना बनाएर दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा रायमाझीमाथि खुकुरी प्रहार गर्न अजित खवासलाई परिचालन गरेको आरोप छ । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । पीडितले त्यसबेला दिएको जाहेरीमा चक्रेको नाम उल्लेख गरिएको थियो, तर वतन नखुलेपछि उनी अनुसन्धानको दायरामा आएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण