पार्टी एकता गर्ने माओवादीको निर्णयलाई नेकपाले कसरी लिएको छ ?
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गर्यो । एकताका लागि वार्ता टोली गठन गर्ने निर्णयसमेत माओवादीले गरेको थियो ।
माओवादीको यो निर्णयलाई नेकपाले कसरी लिएको छ ? आगामी भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकले एकताका लागि ठोस निर्णय गर्छ कि गर्दैन ? पछिल्लो समय विभिन्न कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँगको छलफललाई विप्लवले प्राथमिकता दिएका हुन् ? यिनै विषयमा केन्द्रित रहेर नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय तपाईंहरूले विभिन्न कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँग छलफल र भेटघाटलाई किन तीव्रता दिनुभएको ?
अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ । २०६२/०६३ पछि नेपाली जनताले सोचेभन्दा ठिक उल्टो दिशातिर देश गइरहेको छ । पछिल्ला दिन जनताको अधिकार, राष्ट्रको स्वाधीनता धेरै खतरामा परेको छ । यो देशमा सबै जनताले आफ्नो भविष्यप्रति चिन्ता गर्ने बेला भएको वा चिन्ता गर्ने ठाउँमा जनता पुगेका छन्
यस्तो स्थिति सिर्जना भएकाले यसबाट देशलाई निकाल्न हामीले एउटा राजनीतिक परामर्शको रूपमै भेटघाट र छलफल गरिराखेको हो ।
यस्ता छलफल र परामर्श पार्टी एकता र ध्रुवीकरणलाई मद्दत गराउने हिसाबले भइराखेको छ कि तात्कालीन राष्ट्रिय मुद्दामा मोर्चाबन्दी बनाउने विषयमा केन्द्रित छ ?
पहिलो कुरा त राष्ट्रिय राजनीतिमा आएको समस्याको समाधानको निम्ति नै मुख्य कुरा हो । अनि यसका निम्ति दुई वटा कुरा हुन्छ– एउटा, राजनीतिक आन्दोलनमा अथवा राजनीतिक क्षेत्रमा नयाँ ढंगले सोच्नुपर्यो । यसको साथसाथै नेपालको कम्युनिस्ट आन्दोलनको कुरा पनि छ । नेपालको राजनीतिक आन्दोलनको कुरा छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि नयाँ ढंगले सोच्नुपर्यो भन्ने उद्देश्यसहित हो ।
नेकपा (माओवादी केन्द्र)को भर्खरै सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको छ । शुक्रबार एकताका लागि वार्ता टोली बनाउने सर्कुलर नै जारी गरेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय भनेर बाहिर आएको छ । अहिलेको सन्दर्भमा उहाँहरूको स्थायी समिति बसेपछि सबै परिस्थिति विश्लेषण गरेर त्यो निर्णय लिनुभयो होला । त्यो माओवादी पार्टीको कुरा भयो । त्यो निर्णयको उद्देश्य, त्यसको आधार, अनि त्यसको आशय के हो भन्ने कुरा त माओवादी पार्टीले प्रस्ट गरेपछि अरु पार्टीहरूले अथवा नेपालको कम्युनिस्ट आन्दोलनका पार्टीहरूले आफ्नो धारणा बनाउलान्, अथवा आफ्नो धारणा सार्वजनिक गर्लान् । अहिले त उहाँहरूको साइडको कुरा भयो । त्यो ठिकै छ नि ।
तपाईंको पार्टीले एक वर्षअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो, तर पछिल्लो केन्द्रीय समिति बैठकले एकताका लागि अध्यक्ष प्रचण्डले नै चासो नदिएकाले एकता प्रक्रिया अगाडि नबढेको आरोप लगाउनुभयो । यस्तो अवस्थामा माओवादीको निर्णयलाई सकारात्मक रूपमै लिनुभएको त होला नि ?
हामीले त्यो बेला माओवादी केन्द्रसँग मात्रै एकता गर्ने भनेका थिएनौँ । एउटा जिम्मेवार पार्टी हुनुले हामीले देशलाई अहिलेको समस्याबाट निकाल्न राजनीतिक आन्दोलनमै नयाँ ढंगले सोच्न जरुरी छ भनेका हौँ । त्यसमा पनि नेपालको कम्युनिस्ट आन्दोलन दुई वटा च्याप्टरमा छ । एउटा ६ सालदेखि ५१ सालसम्मको छ, २०५२ सालदेखि २०६२/०६३ सम्मको अर्को छ । एउटा माओवादी धारको कुरा छ भने अर्को नेपालको कम्युनिस्ट आन्दोलनको कुरा छ । यो दुई वटैलाई अहिलेको वस्तुस्थितिको आवश्यकतामा एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी, जो जिम्मेवार छ, उसले जिम्मेवारीपूर्वक सोच्ने आधारमा र नेपाली जनताको चाहनाको आधारमा आम इमानदार राजनीतिक नेता र कार्यकर्ताको चाहनालाई दृष्टिगत गरेर हामीले नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी एकीकरण, नेपालको माओवादी आन्दोलनको क्रान्तिकारी एकीकरण भनेर त्यो बेला निर्णय गरेका थियौँ ।
छलफल सबैतिर चलेको थियो । अब त्यसलाई अरुले सकारात्मकै रूपले लिए पनि त्यो बेला माओवादीले आफ्नो ढंगले त्यसको प्रतिक्रिया दियो । त्यो उसको कुरा भयो । पछि हामीले सचेततापूर्वक सोचे अनुसार त्यो ढंगको वातावरण नभएपछि अहिले माओवादी आन्दोलनको र माओवादी धारको एकीकरणको कुरा, क्रान्तिकारीकरणको कुरा त्यो रूपमा हुने भएन, बरु ध्रुवीकरण र एकीकरणको नीतिअन्तर्गत यसलाई अगाडि बढाउनुपर्यो भनेर त्यो नीति अगाडि बढाइरहेका छौँ । त्यसकारण ध्रुवीकरणका कार्यक्रमहरू अनि एकीकरण हुने कार्यक्रम चलिराखेकै छन् ।
आगामी भदौ २२ गते नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्नेगरी वार्ता टोली बनाउनुहुन्छ कि हुँदैन ?
अहिले देशको समग्र स्थिति अनि अन्तर्राष्ट्रिय परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्ष निकाल्छौँ । अन्तर्राष्ट्रिय रूपमा पनि अहिले यो बहुध्रुवीय विश्व भएको हुनाले पुराना र नयाँ पावरबिचको अन्तर्विरोध दुश्मनीपूर्ण ठाउँमा पुगेको छ । यसलाई अझ सघन बहस, विश्लेषण गरेर निष्कर्ष निकाल्छौँ ।
_ra4nuccqlp_4VUMOLvEYH.jpg)
अर्को, राष्ट्रिय राजनीतिमा अथवा राष्ट्रको जीवन हेर्नुभयो भने जनताको जीवन धेरै जटिल ठाउँमा छ । सङ्कटग्रस्त ठाउँमा छ । यसलाई त्यहाँबाट कसरी निकाल्ने भनेर हामीले ओभरअल नै सोच्छौँ र त्यसको निम्ति नीति, कार्यक्रम बनाउँछौँ । राजनीतिक आन्दोलनसँग सम्बन्धित हुन्छ, आर्थिक नेपालको समस्यासँग सम्बन्धित हुन्छ, स्वाधीनताको समस्यासँग सम्बन्धित हुन्छ । कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित पनि हुन्छ, माओवादी आन्दोलनसँग सम्बन्धित हुन्छ । त्यो कुरालाई केन्द्र भागमा राखेर पार्टीको जिम्मेवारी र पार्टीले लिनुपर्ने पहल हुन्छ । निर्वाह गर्नुपर्ने भूमिकालाई दृष्टिगत गरेर नीति र योजना हामीले बनाउँछौँ ।
माओवादीसँग एकता गर्नुहुन्छ कि हुँदैन ?
हामीले माओवादीमात्र भनेका थिएनौँ त्यो बेला, माओवादी धारसँग भनेका थियौँ । माओवादी धारमा माओवादी केन्द्र छ, क्रान्तिकारी कम्युनिस्ट पार्टी छ, अरु थुप्रै छन् । त्योसँग सम्बन्धित थियो । अहिलेको समग्र परिस्थितिको विश्लेषण गर्दा, कम्युनिस्ट आन्दोलनको विश्लेषण गरेर एउटा नीति हामी निश्चित रूपमा बनाउँछौँ । त्यो नीतिको आधारमा राष्ट्रिय राजनीतिमा हामीले पहल लिन्छौँ । अरु पार्टीको त्यो बेला पोजिसन के रहन्छ, त्यसले निर्धारण गर्ने कुरा हो ।
पछिल्लो समय एमाले, माओवादी, एकीकृत समाजवादी लगायत दलहरूमा अन्तरविरोध चर्किराखेको छ । यस्तो अवस्थामा महासचिव विप्लवले ती सबै असन्तुष्ट पक्षको नेतृत्व लिएर वैकल्पिक ध्रवीकरण गर्न खोजेको हो कि भन्ने आशंका छ नि ?
जसरी त्यसको अभिव्यक्ति या प्रतिबिम्बको रूपमा सबै संसदवादी दल अप्ठ्यारो र सङ्कटमा छन्, यो कुरा सही हो । देशको सङ्कट व्यक्त भएको हो त्यहाँ । समाजको सङ्कट व्यक्त भएको हो । अब सबै पार्टीले आफ्नोलाई नयाँ ढंगले नसोच्ने हो र आफ्नो आन्तरिक समस्यालाई वैज्ञानिक ढंगले हल नगर्ने हो भनेपछि यो–ऊ देखिँदैन, खैरियत देखिँदैन । त्यसो भएकाले कम्युनिस्ट आन्दोलनलाई पनि हामीले एउटा नयाँ दिशा प्रदान गर्छौं नै ।
नयाँ दिशा प्रदान गर्नका निम्ति, यसको क्रान्तिकारी समाधानका निम्ति हामी नीति बनाउँछौँ, योजना पनि बनाउँछौँ र पहल गर्छौं । राष्ट्रिय राजनीतिमा पनि अहिलेको अवस्थाबाट देशका जनताले पार पाउनु पर्यो नि, मुक्ति पाउनु पर्यो । अनि त्यसको निम्ति पनि एउटा राजनीतिक कार्यक्रमको दृष्टिले, पोलिटिकल रोडम्यापको दृष्टिले पनि हामी छलफल गर्छौं । रोडम्याप भन्ने बित्तिकै त्यो वैकल्पिक भयो, त्यो राजनीतिक समाधान भयो । अनि अर्को कुरा, त्यसको लिडरसिप हुन्छ । लिडिङको बारेमा पनि हामी विकल्प प्रस्तुत गर्छौं ।
सबै कम्युनिस्ट पार्टीभित्र देखिएका अन्तरविरोधमा खेलेर असन्तुष्ट पक्षलाई समेटेर नेतृत्व लिन खुज्नुभएको हो कि रुपान्तरणसहित सबैसँग एकता गर्न खोज्नुभएको हो ?
पहिलो कुरा त जो मान्छे आधारभूत रूपमा इमानदार छन्, यो जनताप्रति, देशप्रति आफूलाई समर्पित गरेका छन् र अहिले कम्युनिस्ट आन्दोलनमा पैदा भएका समस्याबाट चिन्तित छन्, ती नेता र कार्यकर्तासँगको छलफल र बहसको कुरा एउटा भयो । सहकार्य, क्रान्तिकारी एकीकरणको कुरा मेजर हुन्छ ।
दोस्रो, कम्युनिस्ट आन्दोलनमा समस्या पनि छन् । समस्यासँग सम्बन्धित पात्र, प्रवृत्ति र सोच छ । उहाँहरूसँग पनि छलफल गर्ने र रूपान्तरणसहितको यो क्रान्तिकारीकरण गर्नेतिर हामी जान्छौँ ।
आगामी २०८४ को आम निर्वाचनलाई उपयोग गर्ने नीति लिनुभएको छ, कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा भाग लिनुहुन्छ कि हुँदैन ?
यो उपचुनावमा हामीलाई धेरै चासो छैन । त्यो विषय मेजर छैन हाम्रो निम्ति । किनभने उपनिर्वाचन एक/दुई ठाउँको कुरा हो, तर २०८४ को स्थिति त्यतिबेलासम्म कस्तो रहन्छ ? देश धेरै गम्भीर मोडमा छ । त्यसैले चुनावमा भाग लिने वातावरण भयो भने हामी एउटा जनसंघर्षको मोर्चाको रूपमा, संघर्षको मोर्चाको रूपमा त्यसको सामना गर्छौं ।
शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म विशेष रूपमा माओवादी घटकमा देखिएका विचलन के–के हुन् ?
पछिल्लो दिनमा यो वैचारिक–राजनीतिक विषय नै समस्या हो । वैचारिक विषय समस्या, राजनीतिक विषय समस्या, सांस्कृतिक विषय समस्या, आर्थिक विषय समस्या । कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनको पनि यो समस्या हो । त्यो विचलन खासगरी नेतृत्वमा देखियो भन्ने छ ।
_pl2b82xowu_to5Q66jsre.jpg)
समस्या नेतृत्वसँग सम्बन्धित भन्नेबित्तिकै मेजर र सेकेन्ड, थर्ड सबै आइहाल्छन् । त्यो आन्दोलनको समस्या भनेको आफ्नो सारतत्त्वमा सैद्धान्तिक दृष्टिले आन्दोलनको समस्या भन्दा पनि त्यो लिडरसिपको समस्या हुन्छ, पार्टीकै समस्या हुन्छ । अनि आन्दोलनको सबल पक्ष र उज्ज्वल पक्ष भन्नेबित्तिकै लिडरसिपकै यो श्रेष्ठता, सबलता, सक्षमताको कुरा आउँछ ।
नेकपाको कार्यदिशा के हो ? रोडम्याप के छन् ?
एकीकृत जनक्रान्तिमार्फत अहिलेको दलाल पुँजीपति वर्ग र त्यसको राज्य व्यवस्थालाई परिवर्तन गरेर नेपाली जनताको, नेपाली विशेषताको समाजवादी व्यवस्था या समाजवादी गणतन्त्र स्थापना गर्ने हो नम्बर एक कुरा ।
नम्बर दुई कुरा, त्यसको नेतृत्व मुख्यरूपमा नेपाल कम्युनिस्ट पार्टीले लिने । त्यसलाई नेपालको कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलनका र यो नेपालको लोकतान्त्रिक आन्दोलनका इमानदार नेता र कार्यकर्ताहरूले संयुक्त रूपमा गर्ने हाम्रो आगामी लाइन हो । त्यसको निम्ति हामी संघर्षका सबै क्षेत्रबाट त्यो मिसनलाई अगाडि बढाइरहेका छौँ । अहिलेको उत्पादनको मोर्चा पनि त्यसैको एउटा उपज हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण