बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा कृष्णजन्माष्टमीमा इस्कोन मन्दिरको उद्घाटन हुने

शनिबार, २४ साउन २०८२, ०७ : २३
शनिबार, २४ साउन २०८२

सारांश

  • इस्कोन नेपाल गण्डकी शाखाले बागलुङको मालढुङ्गामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दैछ।
  • कार्यक्रम श्रावण २५ देखि ३१ गतेसम्म चल्नेछ, जसमा मन्दिर उद्घाटन, र्‍याली र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश छन्।
  • इस्कोनका अनुसार, यस मन्दिरले सनातन धर्म र धार्मिक पर्यटनलाई बढावा दिनेछ।

बागलुङ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन नेपाल) गण्डकी शाखाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहि श्रावण २५ देखि ३१ गतेसम्म बागलुङको मालढुङ्गा स्थित खुदुर्केमा इस्कोन मन्दिर समुद्घाटन कार्यक्रमको आयोजना गरेको छ। 

श्रीकृष्ण जन्माष्टमी मूल समारोहका साथै मन्दिर समुद्घाटन कार्यक्रम श्रावण ३१ गते दिउँसो ३:३० बजेदेखि रातिको १२ बजेसम्म रहनेछ । उक्त दिन बिहान ४:३० बजेदेखि भक्तजनहरूले पूजाआजा गर्न सक्नेछ। 

जन्माष्टमीको दिन दिउँसो ११ बजे बागलुङ बजारमा मन्दिर उद्घाटनको उपलक्ष्यमा बृहत् र्‍याली आयोजना गरिएको छ। यस वर्ष इस्कोन बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाले जन्माष्टमी तथा मन्दिर समुद्घाटनको उपलक्ष्यमा संयुक्त कार्यक्रम इस्कोन गण्डकीमा गर्नेछ।

२५ गते बलराम जयन्तीदेखि औपचारिक रूपमा सप्ताहव्यापी कार्यक्रम लक्ष्मीनारायण मन्दिर, इस्कोन गण्डकी, मालढुङ्गामा प्रारम्भ हुनेछ। २६ गते इस्कोन कुस्मा ( दुर्लुङ चोक), २७ गते इस्कोन बागलुङ बजार ( शिवधारा चोक), २८ गते इस्कोन बेनी (इन्द्रेणी चोक) हुँदै २९,३०, ३१ गतेका दिन लक्ष्मीनारायण मन्दिरको प्राङ्गण, इस्कोन गण्डकीमा हुनेछ। कार्यक्रममा आध्यात्मिक ज्ञान र सनातन धर्मप्रति उत्साह जगाउने हेतुले विद्यालय स्तरीय (कक्षा १० सम्म) जिल्ला (बागलुङ, पर्वत र म्याग्दी) स्तरीय आध्यात्मिक हाजिर जवाफ प्रतियोगिता, महारिनाम, भगवान् श्रीकृष्णको लीला प्रवचन, नाटक, नृत्य, पुस्तक वितरण, महाभिषेक सँगै विभिन्न मनोरम सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनेछन्।

देवभूमि नेपाल कला, संस्कार तथा संस्कृतिले भरिपूर्ण छ। मुक्तिक्षेत्रको प्रवेशद्वार बागलुङको मालढुङ्गामा अवस्थित, पवित्र कालीगण्डकी नदीको तट स्थापित यस इस्कोन मन्दिरले सारा विश्वका सनातन धर्मावलम्बीहरूका लागी एक आस्थाको धरोहरको रूपमा स्थापित गर्न लागिपरेको इस्कोन बागलुङका जिल्ला अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए।

धार्मिक पर्यटनको सर्वाधिक महत्त्व बोकेको यस मुक्तिक्षेत्रमा स्थापना हुने इस्कोन मन्दिरले आजभन्दा ५३९ वर्षअघि यस धराधाममा प्रकट भएका श्री चैतन्य महाप्रभुको युगधर्म हरिनाम संकिर्तनलाई गाउँ-गाउँ, नगर-नगर र टोल-टोल सम्म पुर्‍याउनका लागी टेवा पुग्ने इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप