बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगार

वैदेशिक रोजगारी : नेपाली महिलालाई दलालले दुबईमा लगेर बेचेपछि...

शनिबार, २४ साउन २०८२, १६ : १७
शनिबार, २४ साउन २०८२

सारांश

  • बबरमहल-१ नामक महिला दुबईमा मानव बेचबिखनमा परेको र न्याय खोज्दै ब्युरोमा पुगेकी थिइन्।
  • उनलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई पुर्‍याइएको थियो, जहाँ उनलाई चार महिना बन्धक बनाइयो र ओमानमा समेत बेचियो।
  • दलाल मनोज महर्जन पक्राउ परेका छन्, जो यसअघि पनि मानव बेचबिखन मुद्दामा धरौटीमा छुटेका थिए।

काठमाडौँ । बिहीबार दिउँसो बबरमहलको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी बबरमहल–१ (परिवर्तित नाम) खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् । दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीको नाममा दुबई पुगकी उनी न्याय खोज्दै त्यहाँ आइपुगेकी थिइन् । 

खाडीमा चार महिना बन्धक भएको पीडा सुनाउँदा उनको आवाज पटक–पटक अवरुद्ध भयो । आठ महिनाअघि आफू बेचिएको भन्दै उनी ब्युरोमा आफूले दिएको जाहेरीबारे जानकारी लिन पुगेकी हुन् । 

नेपालमा ठिकठाक आफ्नो जीवन गुजारा गरिरहेकी उनी बहिनीको नन्दले भेटाइदिएका ललितपुरका दलाल (मनोज महर्जन)को फन्दा परेकी थिइन् । 

महर्जनकै प्रलोभनमा परेर उनी विदेश जान राजी भइन् । महर्जनले दुबईस्थित टिस्यु कम्पनीमा मासिक ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएनन् मात्र खान र बस्नसमेत फ्रीमा पाइने आश्वासन दिएका थिए । उनी मन्जुर भइन् । र, महर्जनको खातामा पहिलो पटक दुई लाख ५० हजार र दोस्रो पटक २० हजार नगद पठाइदिइन् । यति मात्र होइन, मेडिकलका लागि भन्दै थप आठ हजार रुपैयाँ पनि । 

‘दलालले विदेशमा राम्रै ठाउँमा रोजगारी लगाउँछन् भन्ने लागेको थियो,’ बबरमहल–१ भन्छिन्, ‘त्यहाँ पुगेको तीन दिनपछि हामीलाई अन्यत्रै लगियो, एक महिनापछि कोठामा थुनेर बन्धक बनाइयो ।’ 

दुबईमा बन्धक बनाएपछि आफू बेचिएको थाहा पाएकी उनलाई चार महिना एउटा कोठामा राखेपछि अर्को एजेन्टमार्फत फेरि ओमान पु¥याइएको थियो । र त्यस काममा मनोजका भाइ अनोज संलग्न थिए ।

‘दुबई पु¥याएको १५ दिनमै हाम्रो मोबाइल खोसिएको थियो, मसँगै रहेकी कपिलवस्तुकी एक बहिनीले भनेपछि मात्रै आफू बेचिएको थाहा पाएँ,’ उनले भनिन्, ‘विदेशको दलालले तिमीहरूलाई किनेका हौँ भनेपछि मेरो मन आत्तियो ।’ 

बबरमहल–१ मात्र होइन, उनकी बहिनीकी नन्दले समेत विदेशमा पाँच महिना बन्धक बसेर आएर प्रहरीमा जाहेरी दिएकी छन् । 

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचिएका नेपालीले स्वदेश फर्केर नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिने घटना बढ्न थालेको छ । तर धेरैले आफूहरूले गरेको खर्च फिर्ता पाएको भन्दै उजुरी दिन नखोजेका अनुसन्धानमा संलग्न अधिकारीहरू बताउने गर्छन् । 

उजुरी परेपछि ६ महिनादेखि फरार दलाल मनोज भने पक्राउ परेका छन् । बिहीबार सनाखत गराएर उनीमाथि प्रहरीले थप अनुसन्धान बढाएको छ । 

प्रहरीका अनुसार मनोज यसअघि पनि मानवबेचबिखन मुद्दामा उच्च अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन् । मनोजविरुद्ध चार वटा वैदेशिक रोजगार ठगीका मुद्दा चलिरहेका प्रहरी अधिकारीले बताएक छन् ।

  • दुबईको त्यो अँध्यारो कोठा 

बबरमहल–१ का अनुसार दुबईमा उनीहरूलाई एउटा अँध्यारो कोठामा राखिएको थियो । खाना पनि पर्याप्त दिइएको थिएन । त्यहाँका अधिकारीहरू अनुगमनमा आउँदा कार्यालयमा लगेर चिटिक्क पारेर राखिन्थ्यो र ‘सबै ठिक छ’ भन्न दबाब दिइन्थ्यो । ‘पासपोर्ट उनीहरूसँगै थियो, बाहिर निस्किए जेल र फाँसीसम्म हुन्छ भन्थे । जे भन्यो, त्यो नमाने मरिएला भन्ने डर हुन्थ्यो,’ उनले बताइन् । 

‘कपिलवस्तुकी एक बहिनीले नेपाल फर्किन्छु भन्दा हामीले तिमीहरूलाई किनेका हौँ त्यो पैसा दे अनि छाड्दिन्छौँ भन्यो,’ उनले भनिन्, ‘अनि नेपालबाट पैसा पठाउँदा पनि उल्टो कुटपिट गरेर यातना दिए ।’

दुबईबाट दलालले ओमान पु¥याएर समेत बन्धक बनाएर पनि जसोतसो भागेर नेपाली दूतावास पुगेपछि बल्ल नेपाल आउन सकिएको उनले बताइन् । 

  • पहिला भारत, अहिले खाडी

पछिल्लो समय रोजगारीको बहानामा नेपाली महिलालाई खाडी मुलुकमा बेचिने गरेको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू बताउने गर्छन् । 

मानव बेचबिखन ब्युरो प्रमुख कृष्णप्रसाद पंगेनीका अनुसार पहिला मानवबेचविनको गन्तव्य भारत भए पनि अहिले खाडी मुलुक हुने गरेको छ । ‘अहिले धेरै महिलालाई खाडीमा पु¥याएर बन्धक बनाउने र बेच्ने गरिएको पाइएको छ,’ उनले भने । 

भिजिट भिसाको नाममा या रोजगारीका लागि खाडी मुलुकमा बन्धक बनाएर राखिएको भन्दै उजुरीहरू बढ्न थालेको उनले बताए । 

उनका अनुसार ‘डन्की रुट’बाट अमेरिका पुगेर नेपाल फिर्ता पठाएकाहरूले समेत उजुरी दिएका छन् । त्यसरी तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्किएकामध्ये पछिल्लो समय दुई जनाले उजुरी दिएको उनको भनाइ छ । 

कमदारको माग उच्च भएको खाडी मुलुकमा आकर्षक कमाइको लालसा देखाएर दलालहरूले नेपाली चेलीहरूलाई त्यसतर्फ लगिरहेका अनुसन्धानमा संलग्न अधिकारीहहरू बताउने गर्छन् । तर दलाहरूले लेनदेनका घटना मिलाउने गर्दा पर्याप्त उजुरी भने पर्न नसकेको उनीहरूको भनाइ छ । 

यसरी विगत पाँच वर्षको अवधिमा ब्युरोले यस्ता कुल ८७३ वटा मुद्दा दर्ता गरी अनुसन्धान बढाएको छ । जहाँ १ हजार ९० जना पीडित रहेका र त्यसमा पनि ७०३ जना महिला छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप