एनआरएनएको अफिस कब्जा नगरी एकताको प्रयास गरेका छौँ : महेश श्रेष्ठ
सारांश
- महेश श्रेष्ठ नेतृत्वको एनआरएनए आईसीसीले एनसीसीको निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिएको छ।
- अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले रोक नलगाएको र एकताको प्रयासलाई प्राथमिकता दिएको बताए।
- बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने तयारी गरेमा त्यसलाई रोक्ने श्रेष्ठको चेतावनी छ।
काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार सम्पन्न भर्चुअल कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेशमार्फत रोक नलगाएको स्पष्ट पारे । उनले वैधानिक रूपमा आफ्नो कार्यसमितिले निर्वाध रूपमा काम गर्न सक्ने भए पनि एकताको प्रयासलाई प्राथमिकता दिँदै बालुवाटारस्थित संघको अफिस कब्जा नगरेको बताए। सो अफिसबाट हाल बद्री केसी पक्षले काम गर्दै आएको छ ।
अध्यक्ष श्रेष्ठले भने, 'बद्री केसी नेतृत्वको पक्षले हामीलाई काम गर्न रोकी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गरेको हो, तर अदालतबाट अहिले सम्म फैसला आएको छैन। उक्त मुद्दाले वैधानिक रूपमा हामीलाई रोकिएको छैन।'
श्रेष्ठले मे ३–४ मा उच्चस्तरीय समितिको निर्देशनमा सम्पन्न निर्वाचनबाट आफ्नो कार्यसमिति बनेपछि बद्री केसी पक्षले काम रोकिने दाबीसहित दुई फरक रिट दर्ता गरेको बताए । तर ती मुद्दासहित अन्य छ वटा मुद्दा अझै सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको उनको भनाइ छ ।
'अदालतको अन्तिम निर्णयको प्रतीक्षा गर्दै हामीले अफिस कब्जा गरेर विवाद बढाउनेभन्दा पनि एकताको वातावरण बनाउने प्रयास गर्यौँ,' श्रेष्ठले भने। उनका अनुसार मिल्ने प्रयास विगत तीन महिनादेखि भए पनि सफल हुन सकेको छैन।
बरु बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने तयारी गरिरहेको भन्दै श्रेष्ठले त्यसलाई अदालतको आदेश विपरीतको कदम भनि टिप्पणी गरे ।'यदि एकपक्षीय रूपमा अधिवेशन गरियो भने हामी वैधानिक बाटोबाट त्यसलाई रोक्नेछौँ,' उनले चेतावनी दिए।
वैधानिकताबारे इजलास नै कन्फ्युजनमा परेकै कारण सबै मुद्दा पूर्ण इजलासमा पठाइएको भन्दै उनले मुद्दाको छिनोफानो नहुँदै बद्री केसीले अक्टोबरमा महाधिवेशन गर्न खोजे सिधै अवैध हुने बताए ।
यस्तो अवस्थामा एनसीसीहरूलाई केसी पक्षको विवादित अधिवेशनमा सहयोग नगर्न आह्वान गर्दै उनले दुई विकल्प समेत सुझाए । त्यसका लागि दबाब सिर्जना गर्न सदस्यता शुल्क नपठाउन सकिने उनको भनाइ थियो । 'अदालतको आदेश विपरीत हुने अधिवेशनमा भाग नलिएर मात्रै दबाब सिर्जना गर्न सकिन्छ,' उनले भने।
श्रेष्ठले आफूले एनसीसी विभाजन गर्न नचाहेको दाबी गर्दै सबै पक्षलाई एकताबद्ध एनआरएनए निर्माणका लागि जिम्मेवार बन्न आग्रह गरे।
कार्यक्रमका अवसरमा आपसी परिचय, अनुभव आदान–प्रदान र भावी सहकार्यका लागि साझा धारणा बनाउन पहल लिइएको सचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।
कार्यक्रममा दक्षिण कोरियाबाटअध्यक्ष विपिन गुरुङले बद्री केसी समूहले हरेक किसिमका बाधा अवरोध सिर्जना गरिरहेको आरोप लगाए । तर, पनि आफूहरु मिल्न तयार रहेको उनले बताए । पोर्चुगलकी एनआरएनए अध्यक्ष दीपा काफ्लेले पोर्चुगलमा देखिएका समस्याको विवरण सुनाइन्। कुवेतबाट दिलकुमार पाख्रितले आफ्नो धारणा राखे भने जर्मनीका उपाध्यक्ष सिजन दाहाल, स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ र माल्टाका रेम्स खनालले पनि आफ्नो–आफ्ना देशमा भोगिरहेका कठिनाइबारे जानकारी गराए।
कतारका अध्यक्ष कृष्ण पन्थीले दूतावासले आवश्यक सहयोग नगरेको गुनासो गरे। ओमानका अध्यक्ष सुरेश खडकाले संगठनभित्र एकता कायम गर्न सबै पक्षलाई आग्रह गरे भने नेदरल्याण्डका अध्यक्ष विष्णु पोख्रेललगायतले पनि आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा श्रेष्ठपक्षीय कार्यसमितिका पदाधिकारीसहित अभियन्ताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण