स्वार्थ समूह, गुटबन्दीको अन्त्य गरेको संकल्प सामान्य होइन : हरिबोल गजुरेल
सारांश
- माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीभित्रको गुटबन्दी र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको छ।
- उपमहासचिव जनार्दन शर्मालाई पार्टी र नेतृत्वलाई कमजोर बनाउने अभिव्यक्ति दिएकोमा आत्माआलोचना गर्न सुझाव दिइएको छ।
- पार्टीले आगामी दिनमा गुटबन्दी र समूहहरू सञ्चालन नगर्ने र अनुगमन समिति बनाउने निर्णय गरेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भर्खर सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुटबन्दी, स्वार्थ समूह विघटन गर्ने निर्णय गर्यो ।
उपमहासचिव जनार्दन शर्मालाई पार्टी र नेतृत्वलाई कमजोर बनाउने उद्देश्यले सार्वजनिक अभिव्यक्ति दिएकोमा आत्माआलोचना गर्न सुझाव पनि दियो ।
पार्टीको निर्णय कार्यान्वयन हुन्छ त ? यसै विषयमा माओवादीका उपमहासचिव हरिबोल गजुरेलसँग रातोपाटीका सम्वाददता गणेश पाण्डेले कुराकानी गरेका छन् ।
- पछिल्लो स्थायी समिति बैठकले पार्टी जीवनमा नयाँ अध्याय सुरु भयो कि कचिङ्गल बाँकी नै छ ?
आठौँ महाधिवेशनबाट सुरु भएको उकालो यात्रा कार्यान्वयन पक्षमा केही हाम्रा सिमाहरू व्यक्त हुँदा अलि शिथिलता, अलिकति सुस्त भइराखेको थियो । पछिल्लो केन्द्रीय समिति बैठकले जुन निर्णय गर्यो र अभियान सञ्चालन गर्यो, अब त्यसले फेरि माओवादीलाई एउटा नयाँ ठाउँमा पुर्याएकै हो ।
अहिलेको बैठकले यद्यपि अझै जनार्दनसँग सम्बन्धित विषय अझै पूर्ण रूपमा हल भइसकेको छैन । उहाँले किन आत्मलोचना गर्नुभएको छैन ? आलोचना गर्ने भन्ने निर्णय गरिएको छ । त्यो पनि विस्तारै छलफल गर्दै जाँदा हल हुँदै नहुने ठाउँमा चाहिँ छैन । त्यो आशा गर्या छौँ । त्यो पनि हल हुन्छ ।
आन्तरिक संघर्षको हिसाबले पनि मान्छेहरूले माओवादीमा भाडभैलो हुन्छ भन्ने जो सोच्या थिए र अलिकति मजा मानिराखेका थिए । मलाई लाग्छ उनीहरूलाई त्यति राम्रो मसला पनि दिएन, स्थायी समिति बैठकले । यद्यपि अब केही निर्णयहरू, प्रक्रियाहरूमा अझै छलफल बाँकी छ । अहिले जे दूरगामी महत्त्वका निर्णय गरेको छ, त्यो हिसाबले यो बैठक महत्त्वपूर्ण नै भयो भन्ने मैले बुझेको छु ।
_y5XXQwZWnY.jpg)
- बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको एजेन्डामा तीन दिन घनीभूत छलफल भयो तर त्यहाँ पार्टी निर्माण, विचार संश्लेषण, कार्यदिशा, कार्यक्रमलगायत विषयमा बहस, छलफल हुनुपर्ने थियो । तर व्यक्ति–केन्द्रित बहस बढी भएको जस्तो देखियो । जनार्दनलाई गलाउने नेतृत्वलाई बचाउने हिसावले छलफल भएको देखियो नि ?
होइन, त्यो यस्तो हो । बैठकमा विचार, नीति जब पेस भयो, त्यसमा सहमत भएपछि त धेरै केही भन्नुपरेन । अध्यक्षज्यूले पेस गरेको प्रस्तावमा सहमति भइसकेपछि त्यसमा धेरै विमति भए अलि बढी चर्चा–परिचर्चा हुने हो, अलि बहस हुने हो । सहमति भएपछि बहस गरिरहनु आवश्यक नै परेन । जहाँसम्म जनार्दनजीको विषय छ, पछिल्लो समय पार्टीको इमेज राम्रो बनिराखेको स्थितिमा बाहिर जाँदा त्यसले नोक्सान गर्यो भन्ने सबैको चिन्ता व्यक्त भयो ।
त्यो खाली उहाँको विरोधको कारण मात्रै होइन कि चिन्ता पार्टीलाई घाटा भयो, क्षति भयो यसलाई फेरि नयाँ सिराबाट रिकभर गर्नुपर्छ भनेर गरिएको छलफल स्वाभाविक हो । किनभने मलाई वास्तविक रूपमा उहाँले जे बोल्नुभयो, त्यसले राम्रो सन्देश गएन । उहाँले नाउँ नलिए पनि मानिसले त्यही बुझे, नेतृत्वको विरुद्ध नै छ भन्ने बुझे । अनि माओवादीमा, माओवादी भित्रकै नेताले त्यसो भनिसकेपछि त त्यो त फेरि अब विरोधीहरूले त्यसलाई मसला बनाइराख्छन् । त्यो हिसाबले त्यस्तो नहोस् र जनार्दनजीले पनि सहज रूपमा जे त्रुटि भएको छ, त्यसलाई स्वीकारेर जाँदा राम्रो हुन्छ भन्ने हिसाबले अलि जोड दिएको हो ।
प्रचण्डले पछिल्लो समय गरेका कामहरू, स्थानीय तहको उपनिर्वाचनमा भएका परिणामहरू, स्ववियु निर्वाचनका परिणामहरू, भ्रष्टाचारविरोधी अभियानबारे उहाँले कुनै चर्चा गर्नुभएन ।
- जनार्दनले एमालेमा ओली प्रवृत्ति कसरी जन्मियो, कसरी हाबी भयो, त्यो पार्टीमा मनमोहनबाहेक सबै असली धन्दामा लागे भन्ने कुरा बोल्दा पार्टीले गलत अर्थ लगायो भन्दै हुनुहुन्छ नि ?
त्यस्तो होइन । उहाँ जत्तिको मान्छेले त्यस्तो भन्नुहुन्थेन । उहाँले भनेकै हो । अहिले उहाँले जे–जे भने पनि भनेकै हो । त्यसको आशय प्रचण्डतिरै थियो भन्ने कुरा पनि जम्मैले बुझेका छन् । जम्मै बेकुफ त छैनन् नि । कार्यकर्ता नेता सबैले त्यही बुझे । यथार्थ पनि त्यही हो क्या । भाषाशैलीमा सोझै नाउँ त छैन । तर मान्छेले बुझ्ने कुरा त त्यही हो, त्यही बुझेका छन् । तपाईंले नि बुझेको त्यही हो, मैले नि बुझेको त्यही हो, अर्कोले नि बुझेको त्यही हो । त्यो हिसाबले क्षति पुग्यो । बरु राम्रा पक्ष पनि उहाँले उजागर गर्दिएको भए सन्तुलित हुन्थ्यो ।
प्रचण्डले पछिल्लो समय गरेका कामहरू, स्थानीय तहको उपनिर्वाचनमा भएका परिणामहरू, स्ववियु निर्वाचनका परिणामहरू, भ्रष्टाचारविरोधी अभियानबारे उहाँले कुनै चर्चा गर्नुभएन । अहिले ओली र प्रचण्डको बिचको संघर्षमा ध्रुवीकरण भइराखेको छ देश । एउटा यथास्थितिवादी, पश्चगामीहरूको धारको नेतृत्व ओलीले गरिराखेका छन् । प्रचण्डले अग्रगामी धारको नेतृत्व गरेका छन् । त्यो हिसाबले मुख्य कुरो लडाइँ त्यहाँ हो । त्यो हुँदा हामी कता उभिने भन्ने कुरा आयो । उहाँले पोजिटिभ पक्ष पनि राख्न सक्नुहुन्थ्यो । आलोचना त हामीले नि गरेका छौँ नि । सही कुरो जे भएको हो, त्यो पनि उपलब्धि पनि छ नि ।
अर्काले गरेको कार्यक्रममा त्यस्तो कहिल्यैसम्म लेखेको देख्नुभएको छ ? जनार्दनजीको पनि योजनामा त्यो कार्यक्रम राखिएको छ । खाली उहाँलाई त्यो कार्यक्रममा बोलाएको मात्रै होइन, सल्लाह गरेर नै सार्वजनिक रूपमा अपिल गरियो ।
लिडरसिपले गरेका राम्रा काम पनि छन्, कमजोरी कहाँ भयो भन्ने कुरा त्यसरी त गर्न पाइन्छ नि । सबल पक्ष केही नभन्ने, भ्रष्टाचारविरोधी अभियान चलाएको कारणले नै सरकार छोड्नुपरेको त यथार्थ हो नि । पछिल्लो समय प्रचण्डले जो गर्नुभएको छ उहाँले हाइलाइट गरेर भन्नुपथ्र्यो त्यहाँ । उहाँले अलिकति भने पनि अगाडि के–के भयो भन्ने कुरा सन्दर्भ ल्याएर जे हो त्यही भन्नुपथ्र्यो । सबै एकखाले कुरा लग्दिएपछि मान्छेहरूमा भ्रम पैदा भइहाल्छ ।
- गत वर्ष स्थायी कमिटी बैठकमा पार्टी निर्माणसम्बन्धी उहाँले १४ बुँदे प्रस्ताव गर्दा अध्यक्षले पार्टी छोडेर गए हुन्छ भन्ने कुरा बोल्नुभयो भन्ने कुरा आएको छ । पार्टी बिग्रियो, विधि, विधान मिचियोभन्दा आत्मआलोचना गर भन्नु त्यति सुहाएन होला नि ?
त्यसरी हामीले हेर्नुहुन्न । १४ बुँदेकै सन्दर्भमा उहाँले उठाइसकेपछि प्रदेश–प्रदेशमा गएर छलफल भयो । उहाँले दुई घण्टासम्म समय लिएर आफ्ना धारणा राख्नुभयो । परामर्श बैठकपछि केन्द्रीय समितिको बैठक बस्यो । एकमतले हामीले पारित गरेको होइन ? कहाँ विमति छ त त्यहाँ ? त्यही कोर्समा त पार्टी गइराखेको छ । केन्द्रीय समिति बैठकको स्पिरिटअनुसार नै पार्टी अगाडि बढी रहेको वेलामा उहाँले पार्टी र नेतृत्वलाई कमजोर बनाउने हिसाबले बाहिर कुरा राख्नुभयो ।
एउटा कुरा के बुझ्नुपर्छ भने, त्यो कार्यक्रम जुन छ, त्यो सामान्य ढंगले त्यत्तिकै झलक सुवेदीले मात्रै राखेको हो भन्ने मैले बुझेको छैन । कतिपय नेताहरूले, जनप्रतिनिधिहरूले त्यो कार्यक्रममा सहभागी हुन अपिल नै गरेका छन् । अर्काले गरेको कार्यक्रममा त्यस्तो कहिल्यैसम्म लेखेको देख्नुभएको छ ? जनार्दनजीको पनि योजनामा त्यो कार्यक्रम राखिएको छ । खाली उहाँलाई त्यो कार्यक्रममा बोलाएको मात्रै होइन, सल्लाह गरेर नै सार्वजनिक रूपमा अपिल गरियो । कुरा राखेपछि अनि भाषाशैली मेरो यस्तो होइन भनेर भएन नि । त्यो के प्रसंगमा भयो, त्यसको विधि प्रक्रिया के थियो भन्ने कुरो मुख्य हो ।
_dla8icCHP9.jpg)
- पार्टी विधि, पद्धति र विधानअनुसार चल्नुपर्छ । युद्धकालीन धङधङगीबाट अब कम्युनिस्ट पार्टी अगाडि बढ्न सक्दैन । नेतृत्व संरक्षकको भूमिकामा रहनुपर्छ भन्ने उहाँको कुरा कसरी गलत भयो ?
संरक्षक भनेको के हो ? तपाईंलाई थाहा छ, अहिले देशमा राजनीतिक क्राइसिस छ । फेरि शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्छ । प्रचण्डभन्दा अर्को कोही गर्ने भइदिए ल गरून् भन्ने हुन्थ्यो । त्यो पनि देखिँदैन । यस्तो वेला नेतृत्व फेर्ने बहस ठीक छैन । नेतृत्वमा रहर गरेर हुन्छ र ? नेतृत्व धेरै पाटा–पक्ष चाहिन्छ । मैले भन्न खोजेको कुरो के हो भने– उहाँले उठाएको विषय ठीक छ । उहाँले राखेको प्रस्ताव केन्द्रीय समितिमा गएर टुंगिसकेपछि मञ्चमा बोल्दा, बाहिर बोल्दा अलिअलि कसले के–के भन्यो, थोरै तिनै कुराहरू भित्र के कुरा भयो, ती त चलिरहन्छन् ।
उहाँले आत्मआलोचना गर्न मान्नुभएन । पार्टीको स्थायी समितिले आलोचना गर्यो नि । अब आइन्दा यसो नगर्न भनेर निर्देशन पनि दियो । ठीक छ, गल्ती भएको छैन भन्न उहाँले पाउनुहुन्छ । म आत्मआलोचना गर्दिन भन्न पाउनुहुन्न ।
तर मुख्य कुरो केन्द्रीय समितिको स्पिरिटलाई समात्नुपर्यो नि । त्यसपछि के भएको छ ? राम्रो भएको छ कि नराम्रो भएको छ ? त्यसपछि उपलब्धि भएको छ कि कमजोरी भएको छ, हेर्नुपर्यो । फेरि पुरानै कुरा ल्याएर बहसको अखडा वा डिबेटिङ सोसाइटी होइन पार्टी । बहसको लागि बहस गर्ने भन्ने कामकाजी संस्थान हो । जस्तो दुई बुँदेमा कमजोरी भयो भन्ने बहस हुन सक्ने भयो । तर एउटा विषय टुंगिएर आइसकेपछि फेरि अब त्यो बानी भनेको त्यसले राम्रो पारेको छैन । त्यो सामान्य ढंगले आएको भए सामान्य ढंगले लिइहाल्थ्यो । सामान्य अलिकति बोल्दा लिकति टङ स्लिप हुने, अलि यताउति भएर त्यो ठूलो कुरो हुँदैनथ्यो । हामीले बोल्दा पनि कहिलेकाहीँ टङ स्लिप भएको हुन्छ। कहिलेकाहीँ विषयवस्तु अर्को ढंगले प्रस्तुत गर्दिया हुन्छ । तर योजनाबद्ध ढंगले गरेको कुरा हुनाले अलि सिरियसले बहस भएको हो उहाँको विषयमा ।
- जनार्दनले आत्मआलोचना गर्दिनँ, गर्ने भए अध्यक्षले पनि गर्नुपर्छ, नेतृत्व टिममा बसेका सबैले गर्नुपर्छ, त्यसपछि म पनि गर्न तयार छु भनिरहनुभएको छ । पार्टी निरन्तर कमजोर हुँदै जानुमा नेतृत्वले आत्माआलोचना गर्नुपर्छ कि पर्दैन ?
उहाँले आत्मआलोचना गर्न मान्नुभएन । पार्टीको स्थायी समितिले आलोचना गर्यो नि । अब आइन्दा यसो नगर्न भनेर निर्देशन पनि दियो । ठीक छ, गल्ती भएको छैन भन्न उहाँले पाउनुहुन्छ । म आत्मआलोचना गर्दिन भन्न पाउनुहुन्न । तर एउटा विषय उठिसकेपछि फलानोले नि गर्नुपर्छ भन्ने कुरो होइन। मेरो विषयमा कुनै उठ्यो भने मैले क्लियर गर्ने कुरा हो । तैँले पनि त्यसो गरेको थिइस् भन्ने यो हुन्छ र ? तैँले पनि यसो गरेको थिइस् भन्ने कुरा त भएन नि । पार्टी बिगारेको, यो अवस्थामा आएको मुख्य मेरै कमजोरी हो भनेर अध्यक्षले आत्माआलोचना गरिसक्नुभयो । तपाईंहरूले पनि जिम्मा लिने बैठकमा हुनुहुन्छ भन्नुभएको छ । तपाईंहरूले पनि आ–आफ्नो हिस्सा जिम्मा लिनुस् । हामी अलिकति बिग्रियौँ । हाम्रो कार्यशैली, आचरणमा पनि स्खलन आयो । हाम्रो जनतासँगको सम्बन्ध, सहिद परिवारको सम्बन्धसँग पनि हाम्रो प्रगाढ हुन सकेन । हामी बिचमा अलिकति अवसरवादीहरूबिच रङमङियौँ । अब हामी जनतामा जाने हो। जनता हाम्रो डाक्टर हो भनेर भनिराख्नुभएको छ । उहाँको विषय आएपछि उहाँले आफूले क्लियर गर्ने कुरो हो ।
- २०६४ सालमा झण्डै ३० प्रतिशत जनमत प्राप्त गरेको पार्टी अहिले ११ लाखमा खुम्चिने अवस्था आएको छ । आगामी दिन अझै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा पुरानै वैभव फर्काउन के–के छन् योजना ?
पार्टीले जे निर्णय अहिले ल्याएको छ, त्यो निर्णय प्रवक्तामार्फत अलि स्पष्ट आएन । समसामयिक प्रस्तावबारे धेरै आयो । तर पार्टीको जो निर्णय भएको हो, त्यो व्यवस्थित ढंगले त्यहाँ प्रस्तुत भएन । अहिले बहस कता भयो भने कति बुँदे प्रस्ताव जुन छ, त्यही नै निर्णय हो जसरी प्रचार भयो । मलाई लाग्छ त्यहाँ अलिकति हामीले व्यवस्थित गर्नुपर्छ । अहिले धेरै दूरगामी महत्त्व राख्ने निर्णय भएको छ । पार्टीले स्वार्थ समूह, गुटबन्दीको अन्त्य गरेको संकल्प गर्ने भन्ने कुरा सामान्य होइन। अब माओवादीले त्यसरी गएर हुँदैन । यसले पार्टीलाई फाइदा गरेन, नोक्सान गर्यो । अब हामी एउटा संकल्प गरेर आगामी दिनहरूमा गुटहरू सञ्चालन गर्ने, विभिन्न समूहहरू बनाउने, यस्ता कुराहरू गर्नुहुन्न । त्यसपछि अनुगमन समिति बनाउने भनेको छ। अनुगमन समिति व्यक्तिहरूको कसले कहाँ के गर्यो भन्ने कुरो केन्द्रीय सदस्यहरूको अनुगमन गर्ने ।
माओवादीले निर्णय गर्छ, फेरि कार्यान्वयन गर्दैन भन्ने छ। तर पछिल्लो समय फेरि माओवादीले निर्णय गरेर कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढाएको पनि नजीर छ ।
अहिले पार्टीमा काम गर्ने/नगर्नेको केही भेदै छैन। काम गर्ने गर्या गरेकै छ, नगर्ने त्यत्तिकै बसिरहेको छ। अनुशासन पालन गर्नेले अनुशासन पालन गर्या गरेकै छ। अर्को अनुशासन उल्लंघन गर्या गरेकै छ । विकृति विसंगतिमा संलग्न भइरहेको छ। दण्डहीनताका र पुरस्कारको व्यवस्था केही पनि भएन। यो एउटा विषय भयो । अर्को निर्वाचन प्रणाली हो । आन्तरिक निर्वाचन प्रणालीमा मेरिटोक्रेसी र डेमोक्रेसी दुइटा जोड्नुपर्छ । खाली प्रत्यक्ष निर्वाचित मात्रै गर्दा त्यसले धेरै विकृतिहरू पैदा गर्छ। त्यहाँ केन्द्रीयता हुँदैन। केन्द्रीयता र जनवाद दुइटै सम्मिश्रण हुनुपर्छ कम्युनिस्टहरूको निर्वाचन प्रणालीमा । त्यसमा मेरिटोक्रेसीलाई पनि जोड्नुपर्छ । योग्यता, क्षमता जुन छ, त्यो पनि जोड्नुपर्छ भनेर अहिले त्यो कुरो पनि आएको छ। अर्को कुरो ग्रासरुटमा गएर, जस्तो अहिले हाम्रो मुख्य कुरो के हो भने जग भएन । तल पार्टी कमिटी नै छैन । सेल छैन, टोल छैन, इकाईहरू छैनन् । मान्छे पार्टी सदस्य को हो, को होइन, त्यसको भेद छैन। कमिटीमा नभएका पार्टी सदस्य, कमिटीको जिम्मेवारीमै नभएका पार्टी सदस्य कसरी पार्टी सदस्य हुन्छ ? अभियानको रूपमा तलसम्म इकाई, सेल निर्माण गर्ने । त्यसपछि हरेक पार्टी युनिटले एउटा उत्पादन युनिट बनाउनुपर्ने । उत्पादनको एउटा अभियान सुरु गर्ने भन्ने पनि छ । त्यो हिसाबले धेरै चिजहरू दुर्गामी महत्त्वकै विषयहरू छन् । कार्यान्वयन कति हुन्छ, हुँदैन हेर्न बाँकी छ ।
माओवादीले निर्णय गर्छ, फेरि कार्यान्वयन गर्दैन भन्ने छ। तर पछिल्लो समय फेरि माओवादीले निर्णय गरेर कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढाएको पनि नजीर छ । मलाई लाग्छ–अहिलेको निर्णय जुन छ, त्यो समाजवादी क्रान्तिको आधार तयार गर्ने निर्णय गरेका छौँ । एकताको विषयमा पनि हामीले निर्णय गर्यौँ त्यो पनि दुर्गामी महत्त्वकै छ। किनभने अहिले समाज ध्रुवीकरण भइरहेको छ । ध्रुवीकरणको वेला हामीले धेरै साँघुरो घेराबाट सोच्नुहुन्न । त्यसले विरोधीलाई फाइदा हुन्छ। जस्तो २०४६ सालपछिको ध्रुवीकरणमा हामील माओ विचारधारा मान्नेहरू एक ठाउँमा आउनुपर्छ भनेर पहल गर्यौँ । एमालेले एउटा पहल गरेर ध्रुवीकरण भयो । त्यो ध्रुवीकरणले माओ विचारधारा पक्षधरहरू एक ठाउँमा आए। हामी मोनविक्रमसँग विद्रोह गरेर पनि एकतामा आयौँ । त्यसले जनयुद्धका आधारहरू खडा गरेको हो । त्यसैगरी समाजवादी क्रान्तिको आधारहरू खडा गर्नुपर्छ । मूलभूत रूपमा समाजवादमा जान चाहने त्यस्ता प्रवृत्तिहरूलाई एक ठाउँमा ल्याएर बहस, छलफल र ध्रुवीकरणलाई परिवर्तनको पक्षममा लानुपर्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
- विप्लवका नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट आधार, संगठनात्मक, सैद्धान्तिक, वैचारिक ढंगले स्पष्ट आधार तयार नभएसम्म माओवादीसँग एकता हुँदैन भनेका छन् नि ?
त्यस सम्बन्धमा अहिले स्थायी समिति बैठकले स्पष्ट गरेको छ । समाजवादका आधारहरू भनेका यहाँ इतिहासदेखि नै भएका, त्यसको उत्पादन प्रक्रिया, सम्बन्धहरू, संस्कृतिहरू, सामुदायिक समाजवादलाई हामीले जोडेका छौँ । फेरि छलफल गर्दै जाँदा एकै ठाउँमा आएर छलफल गर्दै जाँदा परिमार्जन गर्दै जाने, बाटो खोज्दै जाने न हो । अहिले बनीबनाउ बाटो त छैन। हामीले चीनको, रुसको, अरू देशको बनीबनाउ नक्कल गर्दा केही पनि हुँदैन। आफ्नै विशिष्टतामा लागू गरेर हामीले आफैँले बाटो बनाउँदै अगाडि बढ्दै जाने, खन्दै आफू अगाडि बढ्दै जाने हो। छलफलको प्रक्रियामा, खन्ने क्रममा त्रुटिहरू होलान्, परिक्षण गर्दै जाने कुरो हो। त्यसले एकताको सन्दर्भ आउँदा हामीले एकदम बालको खाल खिचेर हुँदैन। मूलभूत रूपमा कुरा मिल्नेले एकता गर्ने, त्यसपछि छलफल हुँदै जाने हो । २०४६ सालमा हामीले त्यसो नगरेको भए के हुन्थ्यो ? निर्मल लामाजीहरू वाम मोर्चामा हुनुहुन्थ्यो । वाम मोर्चामा भएकालाई हुँदैन भनेको भए के हुन्थ्यो ? पार्टीभित्र एउटा माओ विचारधाराको पक्षधर, कोही माओवाद मान्ने थियो । माओ विचारधारा मान्नेहरूलाई एक ठाउँमा ल्याऊँ भनेर हामीले पहल गर्यौँ । त्यसले राम्रो गर्यो। अहिले पनि त्यही हो गर्ने । सबै टुंगिएर अनि एकता हुन्छ भन्ने कुरो त्यो सम्भव छैन ।
_SADD8Jlyjj.jpg)
- आगामी केन्द्रीय समिति बैठक र महाधिवेशनले पार्टीभित्रको अन्तरविरोध हल गर्दै समाजवादी बाटोमा पुग्छ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
आठ महिनादेखि नै मैले भनिरहेको छु, अब माओवादी पार्टी सिद्धिँदैन। कमजोर भएको छ, अब बलियो हुँदै जान्छ। त्यसका संकेतहरू देखा परिसकेका छन्। किनभने हामीले कुरो बुझ्यौँ । कुरो नबुझेर नै बिग्रेको हो। शान्ति प्रक्रियामा आएपछि हामी कसैले नि कुरो बुझेनौँ । हामी पनि नेतै थियौँ । अरू साथीहरू नेतै हुनुहुन्थ्यो। हामी कसैले पनि जहाँ समस्याको चुरो हो, जहाँ त्यसको जग हो, त्यहाँ गएर हामीले छलफल गरेर गरेनौं । २०६५ सालमा गणतन्त्र स्थापनापछि हामीले मुख्य केन्द्र, कामको केन्द्र कहाँ हो? समाजवादी क्रान्तिको मुख्य आधारहरू कहाँ–कहाँ हुन्छ ? त्यसको मुख्य शक्ति कुन हो? अनि त्यसको संस्कृति कहाँ कसरी गर्ने? जनयुद्ध गर्दा हामीले त्यही गरेको होइन? जनयुद्ध गर्दा सहरबाट गाउँतिर शक्ति केन्द्रित गरेर अनि गाउँमा आधार क्षेत्र खडा गरेर जनयुद्धलाई अगाडि बढाएको हो। अबको समाजवादी क्रान्तिको आधार क्षेत्र सहर, बजार, पूर्व, मधेस यस्तो होला नि । कति वर्ष लाग्यो यति बुझ्नलाई?
२०६५ मा गणतन्त्रको घोषणा गर्दा संविधानसभामा किरणजी पनि सँगै हुनुहुन्थ्यो । राजतन्त्र अन्त भएर गणतन्त्र आयो। अब समाजवादको आधारहरू कसरी खडा गर्ने, के हो भनेर त्यतातिर छलफल गर्दिएको भए विचार, नीतिको पनि डेभलप हुन्थ्यो। जगै भएन अनि के विचारको डेभलप हुन्छ भन्नु ? जुन वर्ग, जुन स्थानमा हामीले त्यो टेकेर काम गर्नुपर्छ, त्यो नै गरेनौँ। अर्को कुरा हामीले मेम्बरसिप पार्टी सदस्य बनायौँ। कमिटीमा बस्नुपर्ने, लेबी पनि तिर्नुपर्ने। अर्काले लेबी हाल्दिएर, अनि त्यस्तो पार्टी सदस्यको जगमा क्रान्तिकारी पार्टी निर्माण हुन्छ?
उपत्यकामा माओवादीले न एउटा नगरपालिका जितेको छ न प्रदेश जितेको छ, न संघ जितेको छ । एकदम ख्याल गर्नुहोला–पूर्वको झापा भनेको हिजो हाम्रो संगठन नभए पनि उभार आएको ठाउँ हो ।
त्यहाँ अहिले त्यसरी गर्ने यी दुइटा कुरा अहिले केन्द्रीय समितिको बैठकले सच्याएको छ। किनभने केन्द्रीय समितिले उपत्यका, मधेस र पूर्व अब हाम्रो समाजवादी क्रान्तिका मुख्य भूमि हुन् भन्ने कुरा क्लियर गर्यो । विराटनगर अधिवेशनले संगठित सदस्य र साधारण सदस्य भेद गर्यो। संगठित सदस्य कमिटीमा हुन्छन्। साधारण सदस्य सामान्य रूपमा भोटर अथवा आन्दोलनमा सहभागी मान्छेहरू हुन्छन् भन्ने कुरो क्लियर गर्यो। यो बहस पहिले हुनुपथ्र्यो । यत्रो वर्षपछि बल्ल बहस भयो। संविधान बनेपछि अझ हुनुपर्ने हो। संविधान बनेर, समाजवाद उन्मुख संविधान बनिसकेपछि समाजवादी कार्यदिशा लागू गर्नलाई हाम्रो शक्ति विन्यास कसरी गर्ने, प्राथमिकता क्षेत्र कहाँ हो भन्ने चाहिँदैन कामको ? यहाँ दुई वर्ष अगाडि सम्म हामी गाउँ जानुपर्छ भन्थ्यौँ । उल्टो बाटो हिँडेर सुल्टा ठाउँमा पुगिन्छ ? गाउँ होइन अब सहर बजारमा केन्द्रित हुनुपर्छ, पहल लिनुपर्छ भन्नुपथ्र्यो ।
- सहरीया जनमतलाई आकर्षित गर्न सक्नुभएन तपाईंहरूले ?
उपत्यकामा माओवादीले न एउटा नगरपालिका जितेको छ न प्रदेश जितेको छ, न संघ जितेको छ । एकदम ख्याल गर्नुहोला–पूर्वको झापा भनेको हिजो हाम्रो संगठन नभए पनि उभार आएको ठाउँ हो । अहिले झापामा एउटा पनि गाउँपालिका जितेको छैन । एउटा प्रदेश संघ जितेको छैन कांग्रेससँग मिल्दा पनि। हामी यहाँ बलियो हुनुपथ्र्यो । संविधान बनिसकेपछि शान्ति प्रक्रियामा आएपछि हाम्रो यहाँको श्रमिक वर्ग, श्रमिक भनेको डाक्टर, इन्जिनियर पनि हुन्। श्रमिक भनेको हिजो कारखाना काम गर्ने मात्रै श्रमिक होइन । मजदुरहरू, श्रमिकहरू अनि त्यसपछि निम्न पुँजीवादी वर्ग, स–साना खुद्रा व्यवसायी जुन छ त्यो सहर बजारमा बढी छ । मध्यम वर्गमा टेकेर हामीले काम गर्नुपथ्र्यो। हामीले त्यसो गर्न सकेनौँ । यो पार्टीको विचार, राजनीतिक विकास नहुनुको मेन कारण त्यो हो । जगै नभएपछि कहाँ टेकेर हो विकास हुने होला ? जगै बेठीक निर्माण गरिसकेपछि अनि विचारको विकास हुन्छ ?
- नेतृत्व विकासको बाटै बन्द भएपछि नेतृत्व पार्टीमा क्रान्तिकारी धार कसरी बन्छ ?
एउटा कुरा हाम्रो बुझाइ नै गलत रहेछ । नेतृत्व कसैले दिएर हुने, मागेर पाइने भन्ने जो हामीलाई भ्रम पर्यो । मैले मागेँ । आठौँ महाधिवेशन वेला मैले बाहिर मिडियामै बोलेँ । मलाई महासचिव बनाउन भनेर प्रचण्डसँग भनेको छु भन्ने। प्रचण्डसँग पनि मैले भनेँ । त्यो गलत रहेछ । नेतृत्व कसैले दिएर हुने त्यो सामन्ती सोच हो। त्यो सामन्ती सोच बोकेर हामी हिँडेपछि नेतृत्वको विकास कसरी हुन्छ ? प्रचण्डले हामीलाई दिएनन्, पछि पारे, यता पारे भन्ने होइन । आफ्नो क्षमताले अगाडि आउने हो । कसैले पछि पारेर कोही पछि हुन्छ ? आफूतिर फर्किनुपर्यो नि । म पछि परेँ भने मेरो कारण, मेरो कहाँ पुगेन भन्ने सोच्नुपर्छ ।
_37cNTT1q72.jpg)
अर्कोले पछि पारे पनि क्षमतावान मान्छे क्रस गरेर आउनुपर्यो । त्यसैले नेतृत्वसम्बन्धी हाम्रो बुझाइ नै सही ठाउँमा उभिएर भएको छैन । सही विचार, राजनीतिमा उभिएर नेतृत्वले गलत काम गर्योको प्रतिवाद गर्यो भने त्यो उत्तराधिकारी हुन्छ । कम्युनिस्ट पार्टीमा उत्तराधिकारी त्यसरी आउने हो। सिलसिलेवार एउटा मान्छे गएपछि, छोडेपछि अर्को आउने भनेको उत्तराधिकारी हुँदैन, त्यो कामचलाउ हुन्छ। किनभने क्रान्तिले निरन्तर नेतृत्व खोज्छ। क्रान्ति भनेको विशिष्ट कुरो हो। पुँजीवादीहरूलाई बुर्जुवा व्यवस्था आइहाल्यो। अब अगाडि जानु छैन, क्रान्ति गर्नु छैन। त्यसैले जो जो आए पनि केही फरक परेन । हाम्रो त समाजवादी क्रान्तिको आधार खडा गर्नुपर्छ । समाजवादी क्रान्ति गर्न नयाँ नेतृत्व चाहिया। त्यो क्षमता हिजो प्रचण्ड, मदन भण्डारीहरू आउनुभयो । त्यसरी नै एउटा नयाँ नेतृत्व आउनुपर्छ। त्यो क्षमता भएपछि आइहाल्छ । त्यसका लागि हामीले क्षमता अभिवृद्धि गर्नुपर्यो। नेतृत्व मागेर हैन ।
यद्यपि अध्यक्षले नेतृत्व विकाससम्बन्धी दुइटै अभ्यास गर्नुभयो। मोहनविक्रम, निर्मल लामाको गलत लाइनको विरुद्धमा संघर्ष गरेर बैद्यको सही भूमिकामा सपोर्ट गरेर उहाँले नेतृत्व विकास गर्नुभयो ।
मलाई देऊ भन्ने, अनि प्रचण्डले दिएनन् भन्ने । एकातिर रिसाउने अर्को मलाई चाहियो भन्ने, भन्ने कुरो जुन छ, त्यो तरिका हाम्रो बेठीक रहेछ। त्यो सोचाइ नै हाम्रो बेठीक हो। नेतृत्व भनेको भूमिकाबाट आउने हो । नेतृत्व गलत छ भने सही ठाउँमा बसेर प्रतिवाद गर्ने, नेतृत्व सही छ भने सही ठाउँमा बसेर उसको कहाँ–कहाँ पुग्दैन, त्यहाँ सपोर्ट गर्ने। जहाँ–जहाँ प्रचण्ड सही हुनुहुन्छ, उहाँको कहाँ–कहाँ पुग्दैन, त्यहाँ–त्यहाँ गएर सपोर्ट गर्ने, काम गर्दिने, भूमिका निर्वाह गर्दिने। त्यो उत्तराधिकारी हुन्छ। अर्को नेतृत्व गलत हुनुहुन्छ भने ठीक ठाउँमा बसेर प्रतिवाद गर्नुपर्यो। किरणजीहरू, विप्लवजीहरूले ठीक ठाउँमा बसेर प्रतिवाद गर्नुभएन। किन उहाँहरूले दुश्मनको कित्ता बसेर प्रचण्डको विरोध गर्नुभयो। कञ्चनपुरको बम आक्रमण के हो? त्यो दुश्मनले गर्ने काम होइन? हामीले चाकरीवालको कित्तामा बसेर सपोर्ट गरियो। चाकरी हामीले गरेको होइन तर कित्तात्यो भयो ।
हाम्रो भन्दा राम्रो चाकरीवालले प्रचण्डको बढी प्रशंसा गर्न सक्छ, सक्दैन? हामीले त्यहाँ गल्ती गरियो। त्यो गल्ती अब दोहोर्याउनुहुन्न। नयाँ तरिकाले जानुपर्छ भन्ने कुरो हो। हामी नयाँ तरिकाले गयौँ भने उत्तराधिकारी हामी होला, नयाँ पिँढी आउला आगामी दिनमा । प्रचण्ड पनि नयाँ आएको हो । वाचश्पति देवकोटा, त्यसपछि भक्तबहादुर श्रेष्ठ, सीपी गजुरेलहरूलाई क्रस गरेर आएको हो, आएको होइन? क्षमताले आएको हो । मदन भण्डारी पनि सीपी मैनाली लगायतका सबैलाई क्रस गरेर आएको होइन ? क्षमता भएपछि कसले रोक्न सक्छ ? प्रचण्डले नेतृत्व हस्तान्तरण गरेन भन्छन् । हस्तान्तरण भनेको राजा–महाराजाले छोरालाई बनाउने जस्तो हो ? हाम्रो सोचाइ नै सामन्ती सोचाइ भएर बिग्रियो । नेतृत्वलाई पनि कसलाई दिने भन्ने हुन्छ । मेरो उत्तराधिकारी तयार छैन भन्ने कुरो जुन छ, नेतृत्वले कसलाई दिने होला भनेर खोज्दै हिँड्ने पनि गलत हो। हाम्रो अध्यक्षदेखि लिएर हामी सबैको नेतृत्वसम्बन्धी बुझाइमा स्पष्टता छैन ।
यद्यपि अध्यक्षले नेतृत्व विकाससम्बन्धी दुइटै अभ्यास गर्नुभयो। मोहनविक्रम, निर्मल लामाको गलत लाइनको विरुद्धमा संघर्ष गरेर बैद्यको सही भूमिकामा सपोर्ट गरेर उहाँले नेतृत्व विकास गर्नुभयो । तर उहाँले पनि त्यो कुरो संश्लेषण गर्दिएर यो हो है नेतृत्वको विकासको प्रक्रिया, हिजो गरेका अभ्यासहरू यी हुन्, अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको अभ्यास यो हो, माओलेको चीनमा भएको अभ्यास यो हो, रुसमा भएको अभ्यास यो हो। यसका सही पक्ष यो हुन्, रुस, चीनमा भएका सही पक्ष यो हुन्, गलत पक्ष यो हुन्, नेपालमा सही पक्ष यो हो, गलत पक्ष यो हो भन्दिएको भए नि, त्यो स्थिति हुन्थेन। हामीलाई प्रचण्डले पछि पार्यो भनियो । आफूतिर नपसी पारेर कसरी पछि पार्छ? चिनिया कम्युनिस्ट पार्टीमा माओलाई पनि लिली सान, वाङ मिङले पछि पार्न खोजेको होइन? १९३३–३४ मा उहाँलाई कारबाही गरेको होइन? तर फेरि माओले भनेकै कुरो सही रहेछ भन्ने भएपछि लगेर नेता बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण