बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संविधान संशोधन

निर्णय गरेको एक महिनासम्म कांग्रेसले बनाएन संविधान संशोधन कार्यदल

संयोजकमा चर्चा गरिएका सिटौला भन्छन्– मसँग कुनै छलफल भएको छैन
आइतबार, २५ साउन २०८२, १४ : ३०
आइतबार, २५ साउन २०८२

सारांश

  • नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे पनि एक महिना बित्दा छलफल नै गरेको छैन।
  • पार्टी केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो।
  • कार्यदल बनाउने र संयोजक तोक्ने विषयमा समेत पार्टीभित्र कुनै छलफल नभएको बताइएको छ।

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि एक महिना अघि पार्टीका तर्फबाट कार्यदल बनाउने निर्णय गरेको थियो । 

गत असार १६ गतेदेखि २३ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सत्ता गठबन्धन निर्माणका बेला नेकपा एमालेसँग भएको सहमति अनुरूप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो । 

बैठकको पहिलो निर्णयमै लेखिएको थियो, ‘संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिमा संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भन्ने विषय महत्वका साथ उल्लेख गरिएको नेपाली कांग्रेस स्मरण गर्दछ । तसर्थ, संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन नेपाली कांग्रेसले एक कार्यदल गठन गर्ने निर्णय गर्दछ ।’

बैठकको निर्णयमा कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने र संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू एवं अन्य राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने उल्लेख छ । 

केन्द्रीय समिति बैठक सकिएको एक महिना समय बितिसक्दा पनि कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउने त परैको कुरा भयो, यसबारे पार्टीभित्र छलफलसमेत गरेको छैन । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अनौपचारिक रूपमा संविधान संशोधनका लागि पार्टीका तर्फबाट कार्यदल बनाउने विषयमा सामान्य छलफल भए पनि औपचारिक र गहन छलफल नभएको जानकारी दिए । ‘पार्टीका तर्फबाट संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा औपचारिक र गहन छलफल भएको छैन, नेताहरूबिच सामान्य कुराकानीबाहेक ।’

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवासहित महामन्त्री पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनको चरणमा लैजाने विषयमा छलफल भएको थियो । त्यो छलफलमा पनि संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा कुनै कुराकानी नभएको उपसभापति पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिएका थिए । 

संविधान संशोधनका लागि कार्यदल बनाउने र संयोजकमा नेता कृष्णप्रसाद सिटौलालाई तोक्ने विषयमा कुराकानी भएको हो भन्ने विषयमा उपसभापति खड्काले रातोपाटीसँग भनेका थिए, ‘संविधान संशोधनका लागि पार्टीका तर्फबाट कार्यदल बनाउने विषयमा कुनै छलफल भएन । कार्यदल बनाउने बारेमै छलफल नभएपछि संयोजकका विषयमा कुरा कसरी हुनु !’

कार्यदलको संयोजकको रूपमा चर्चा गरिएका नेता सिटौलाले यसबारे आफूसँग कुनै कुराकानी नगरिएको जानकारी दिए । ‘पार्टी केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण भएको १० वर्ष भएकाले समीक्षा गर्ने र संशोधन गर्नुपर्ने विषयमा अन्य दलसँग छलफल गर्न कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदल बनाउने र कसको नेतृत्वमा बनाउने भन्नेबारे कुराकानी भएको छैन,’ सिटौलाले रातोपाटीसँग भने, ‘मसँग मलाई संयोजक बनाउने र अन्य कसैलाई संयोजक बनाउने भन्नेबारे सभापति र पदाधिकारीले कुनै कुरा गरेका छैनन् ।’

अहिले पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेता रहेका सिटौला दोस्रो संविधान सभामा संविधानको मस्यौदा निर्माण समितिका सभापति थिए । कांग्रेसका नेताहरू संविधान निर्माणका बेलामा मस्यौदा नै बनाएकाले अनुभवका आधारमा सिटौलालाई संयोजक बनाउनु उपयुक्त हुने बताउँदै आएका छन् । तर, पार्टीले यसबारे सिटौलासँग र अन्य कुनै तहमा अहिलेसम्म कुराकानी गरेको छैन । 

महामन्त्री गगन थापा संविधान संशोधन कार्यदलबारे कुराकानी नभएको बताउँछन् । ‘केन्द्रीय कार्यसमितिले निर्णय गरेको हो । कसको नेतृत्वमा बनाउने भन्नेबारे छलफल भएको छैन,’ महामन्त्री थापाले भने । 

सिटौलाले केही समय अघिको रातोपाटीसँगको अन्तर्वार्तामा पार्टीले आफूलाई जिम्मेवारी दिने प्रस्ताव ल्याएमा त्यसैबेला निर्क्योलमा पुग्ने बताएका थिए । जिम्मेवारी पाएमा पूरा गर्न सक्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप