बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

आइतबार, २५ साउन २०८२, १६ : ४६
आइतबार, २५ साउन २०८२

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिक गुनासो सुन्न 'गुनासो व्यवस्थापन केन्द्र' सञ्चालनमा ल्याएको छ।
  • मन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने बताइन्।
  • गुनासो सम्बोधनका लागि उपसचिवको नेतृत्वमा कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रूपमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । 

सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको जानकारी बताइन् । उनले भनिन्- ‘नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ ।’

गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रूपमा कार्य गर्नेछ । गुनासो व्यवस्थापन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ । 

केन्द्रले गुनासाहरूको सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ । केन्द्रमा रहने कर्मचारीहरूले सेवाग्राहीबाट प्राप्त गुनासा अध्ययन र वर्गीकरण गर्नेछन् ।  कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नुपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

केन्द्रमा रहने कर्मचारीहरूले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासा भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ ।

शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ । 

नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरू सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ ।

गुनासो व्यवस्थापन केन्द्रमा गुनासो सहजकर्ताहरू उपसचिव भूपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली रहेका मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप