आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जोनाथन लिभिङ्स्टन सिगल : एक विद्रोही पंक्षीको कथा

आइतबार, २५ साउन २०८२, १७ : १६
आइतबार, २५ साउन २०८२

सारांश

  • रिचर्ड बाकको 'जोनाथन लिभिङ्स्टन सिगल' एक दार्शनिक उपन्यास हो, जसमा जोनाथन नामक चराको कथा छ जसले परम्परागत मूल्यहरू तोड्छ।
  • जोनाथनले उडानमा विशेषज्ञता हासिल गर्छ, सामाजिक सीमाहरूलाई चुनौती दिन्छ, र अन्ततः आफ्नो लक्ष्य हासिल गर्छ, जसले गर्दा ऊ नायक बन्छ।
  • उपन्यासले मानवीय ज्ञानको सम्भावित दिशालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ, स्वतन्त्रता, परिवर्तन र आत्म-खोजजस्ता विषयहरूमा केन्द्रित छ।

रिचर्ड बाक को ‘जोनाथन लिभिङ्स्टन सिगल’ एक दार्शनिक लक्षणामा आधारित (फिलोसोफिकल एलेगोरी) उपन्यास हो । दार्शनिक लक्षणमा आधारित वा प्रतीकात्मक उपन्यास भन्नाले जीवन, अस्तित्व, नैतिकता वा आत्म–खोजजस्ता गहन दार्शनिक विषयहरूलाई प्रतीकात्मक ढंगले प्रस्तुत गरिएको काल्पनिक कथा हो, जसमा पात्रहरू र घटनाहरू प्रतीकका रूपमा प्रयोग गरिन्छ र तिनीहरूले गहिरा अर्थ वा सन्देश दिन्छन् । 

यस उपन्यासमार्फत जोनाथन नामक एक सिगलको मुख्य नायकत्वको भावना प्रस्तुत गरिएको छ । यस कथामा समुद्री चराहरू पात्रका रूपमा प्रस्तुत गरिएका छन् । तीमध्ये जोनाथन नायकको रूपमा चित्रित गरिएको छ । उपन्यासमा उसले निर्वाह गरेको भूमिकाले उसलाई नायक वा प्रमुख पात्र भएको प्रमाणित गर्छ ।  

जोनाथनको समाज चल्दै आइरहेको सास्कृतिक परम्परामा रमाएको देखिन्छ, जसले कैयौँ मानिस आफ्नो अस्तित्वमा मात्रै सन्तुष्ट भएर बस्न प्रेरित भएको कुरालाई पनि झल्काउँछ, जहाँ परम्परागत मूल्यमान्यताहरू तोड्न निषेध पनि छ । तर, जोनाथन ती सांस्कृतिक सीमाहरू पार गरेर अगाडि बढ्छ । उसले सामान्य जीवनशैलीमा मात्र सीमित भएर नबसी, सपना देख्छ, संघर्ष गर्छ र अन्ततः आफ्नो लक्ष्यमा पुग्छ । उसले पुरानो सामाजिक संरचना हल्लाएर अरूलाई पनि नयाँ बाटो देखाउँछ–यही कारण ऊ नायक मानिन्छ ।

अक्सफोर्ड डिक्सनरीका अनुसार ‘हिरो’ भन्नाले यस्तो व्यक्तिलाई बुझाउछ, जो साहसी कार्य गर्छ र जसलाई धेरैले प्रशंसा गर्छन् (पृ.७२८) । जोनाथन पनि समाजबाट तिरस्कृत भएपछि साहसपूर्वक टाढाको चट्टानहरूमा बस्न विवश हुन्छ । ती चट्टानहरूमा बस्नु भनेको उसले परम्परागत मूल्य र मान्यताविरुद्ध विद्रोह गरेको संकेत हो । 

अन्य सिगलहरू सामान्य उडान सिक्ने, समुद्रबाट खाना खोज्ने, र गुँडमा फर्कने, आदि सामान्य र नियमित काम गर्न मात्रै रुचाउँछन् । तर, जोनाथनलाई उड्नमा विशेष प्रेरणा छ  र उडान नै उसको जीवनको प्रमुख उद्देश्य हुन्छ । यही विशेषताले उसलाई सिगल समुदायमा फरक अनि चर्चित बनाउँछ । अन्य सिगलहरू आफ्नो उड्ने क्षमतालाई सीमित मानेर सामाजिक मूल्य मान्यतामा बाँधिएर बस्छन्, तर जोनाथनले ती मूल्यहरूलाई चुनौती दिन्छ, सफल हुन्छ र नयाँ पाठ पनि सिकाउँछ–जुन उपन्यासमा उसको नायकत्वको प्रमाण हो । 

यस उपन्यासले परम्परागत नायकको अवधारणालाई चुनौती दिएको छ । उपन्यासमा भएका पात्रहरू मानव नभई चराहरू हुन् । यद्यपि, नायकले समाजमा वर्षौँदेखि चलिआएका परम्परा तोड्दा दुःख कष्ट वा मृत्यु नै पनि सहनुपर्छ, तर जे भए पनि अन्त्यमा उसले अथवा उसले चालेको साहसिक कदमले सफलताको बाटो पाउँछ । जसरी प्राचीन ग्रिसमा सोक्रेटसलाई विषपान गर्न बाध्य पारिएको थियो, त्यसरी नै यस उपन्यासमा पनि जोनाथन आफ्नो समाजबाट निष्कासित हुन्छ । तर निष्कासनपश्चात् पनि विचलित नभइकन ऊ आकाशका विभिन्न भागहरूमा पुगेर उडानमा झनै दक्षता हासिल गर्छ । 

charo

त्यसक्रममा उसले त्यहाँ सिगल समुदायबाट निष्कासित अन्य दुई पंक्षीहरू च्याङ र फ्लेचरलाई पनि भेट्छ, जसले उसलाई झन सशक्त बनाउँछ । त्यसपछि जोनाथनले च्याङबाट थप निर्देशन र तालिम पाउँछ अनि ऊ ६ महिनामै उत्कृष्ट उडानकर्ता बन्छ ।    

उपन्यास पढिरहँदा हामीले जोनाथनले आफ्नो जीवनमा साधारण कुराभन्दा बढी चाहेको अनुभूति गर्न सक्छौँ । उसले स्वतन्त्र विचार, आत्मविश्वास, धैर्यता, प्रेम, परिवर्तन, सहकार्य, सत्य आदिजस्ता कुराहरू आत्मसात् गर्छ । समालोचनात्मक दृष्टिकोणले हेर्दा समुद्रकिनाराले नयाँ काम गर्न नचाहने मानिसहरूको प्रवृत्तिलाई जनाउँछ । किनभने अन्य सिगलहरूले कहिल्यै प्रयासै गरेनन्, जसरी समुद्र किनार पनि वर्षौँसम्म एकै किसिमले अपरिवर्तित रहन्छ । उपन्यासमा आकाशलाई स्वतन्त्रता र चाहेजस्तो उड्न सकिने स्थानको प्रतीकका रूपमा चित्रण गरिएको बुझ्न सकिन्छ । 

हामीले यस उपन्यासमा प्रस्तुत कथा, काल्पनिक चरित्र, र वैकल्पिक परिवेशमार्फत मानवीय ज्ञानको सम्भाव्य दिशालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको पाउँछौँ । कल्पना, अस्तित्व र यथार्थको मिश्रण तथा कथाका पात्र र घटनाहरूले गहिरो प्रतीकात्मक अर्थ बोकेको हुनाले यसलाई दार्शनिक लक्षणा अर्थात् फिलोसोफिकल एलेगोरी भनिएको हो । 

यस उपन्यासका लेखक गम्भीर विमान दुर्घटनाबाट बाँचेपछि जीवनप्रति गम्भीर बन्छन् र बाँकी जीवनकालमा केही सार्थक गरौँ भन्ने भावनाबाट प्रेरित हुन्छन् । फलस्वरूप यस उपन्यास उक्त दुर्घटनाको सकारात्मक प्रतिफलको रूपमा आउँछ ।

यस उपन्यासलाई हामीले प्रतीकात्मक रूपमा हेर्न सक्छौँ । यद्यपि यसमा सिगलहरू अर्थात् एक किसिमका सामुद्रिक चराहरूको कथा प्रस्तुत गरिएको छ । किनभने प्रतीकात्मक रूपमा उपन्यासले सम्पूर्ण मानव सभ्यतालाई कलात्मक रूपमा चित्रण गर्छ । हामीले आफ्नो जीवनमा मस्तिष्कले निर्देश गरेका लक्ष्यहरूमा क्रियाशील भएर काम गर्नुपर्छ भन्ने कुरा उपन्यासले बलियोसँग बोध गराउँछ । उपन्यासमा जोनाथन पनि आफ्ना विचारहरू र दृढ सङ्कल्पले गर्दा सामुदायिक सीमितताको घेरालाई तोडेर स्वतन्त्रतापूर्वक आकाशमा उडी आफ्नो लक्ष्य पूरा गर्छ । 

यदि जोनाथनले परिवर्तन ल्याउने दृढता नदेखाएको भए, उसले उडान संस्कारमा परिवर्तन ल्याउन सक्ने थिएन । यदि हामी समुद्रकिनार र अन्य सिगलहरूलाई फरक दृष्टिकोणबाट विश्लेषण गर्छौँ भने ती उडानप्रति अनभिज्ञ देखिन्छन् । किनभने तिनीहरूमा परिवर्तनका लागि कुनै भोक वा प्रेरणा नै थिएन, तिनीहरू साना खानेकुरा र दैनिक सामान्य जीवन बिताएर नै सन्तुष्ट थिए । तर जोनाथन सन्तुष्ट थिएन । यही असन्तोषले उसलाई आफ्नो समग्र विश्वास प्रणाली बदल्न प्रेरित गर्‍यो । 

त्यसकारण जोनाथन एउटा प्रतीक हो, ती व्यक्तिहरूका लागि, जो आफ्नो उद्देश्य पहिल्याउँदै, सिक्दै, अनुसरण गर्दै, मूल्य चुकाउन तयार हुन्छन् । कहिलेकाहीँ तपाईंका नजिकका मानिसहरूले पनि तपाईंको सपना नबुझ्न सक्छन्, जसरी अरू सिगलहरूले जोनाथनको विचार बुझेनन् । तर पनि जोनाथन निरुत्साहित हुँदैन । साहसले देखाउँछ–जबसम्म हामी हाम्रो लक्ष्यमा पुग्दैनौँ, हाम्रो हृदय, आत्मा, शरीर सबै अस्थिर हुन्छ । 

उपन्यासले जोनाथनको नायकत्वको अन्य कारणहरूमा उसको ध्यान, इच्छाशक्ति, साहस, उत्साह, निरन्तरता, धैर्यता, सहिष्णुता, आत्मविश्वास, समर्पण आदि कुराहरू रहेको देखाउँछ । किनभने आलस्य, डर, उपेक्षा, रिस, अनिच्छा आदिजस्ता गुणहरूले जीवनलाई अवरुद्ध गर्छन्, जसरी सिगल समुदायमा पनि अन्य सामुद्रिक चराहरूलाई यस्ता नकारात्मक गुणहरूले उनीहरूको आफ्नो सीमित जीवन व्यतित गराउन बाध्य गरायो । यसरी ‘जोनाथन लिभिङ्स्टन सिगल’ उपन्यासमा जोनाथन एक नायकका रूपमा प्रस्तुत गरिएको छ ।

र अन्त्यमा, हामीले उपन्यासमा जोनाथनबाट सामाजिक सुधारका लागि लिन सकिने सुझावहरू बुँदागत रूपमा निम्नानुसार संक्षिप्तमा बुझ्न सकिन्छः 

१. ‘स्वर्ग’ बाहिरी स्थान होइन वा अन्त कहीँ कतै भेटिँदैन, यो त आफैभित्र भएको सन्तोषजनक अवस्था हो, जुन जोनाथनले उत्कृष्ट उडान सिकेपछि महसुस गर्छ ।
२. सफलताका शिखरतिर बढ्दाँ कुनै पनि अवरोधले निराश हुन हुँदैन, जोनाथनलाई समाज र अभिभावकले रोक्दा पनि ऊ डगमगाएन ।
३. माफ गर्न जान्नुपर्छ – जोनाथनले फ्लेचरलाई समाजले उसमाथि गरेको निर्णयलाई माफ गर्न प्रेरित गर्छ ।
४. जिज्ञासा, समर्पण, निरन्तरता र दृढ इच्छाशक्ति नै आविष्कारको जननी हुन्, जसरी जोनाथनले नयाँ उडान संस्कार सुरुवात गर्छ ।
५. सपना देख्न र योजना बनाउन सकेनौँ भने लक्ष्यमा पुग्न सकिँदैन, जसको प्रतीक जोनाथन हो ।
६. परिवर्तनका लागि साहस, प्रेरणा र दृढ संकल्प आवश्यक हुन्छ, जुन जोनाथनको चरित्रमा छ ।
७. सांस्कृतिक एवं परम्परागत बन्दन तोड्नुपर्छ, यदि मानव जातिको समृद्धि चाहिन्छ भने ।
८. यदि कसैले समाज सुधारको लागि आफूलाई समर्पण गर्छ भने, त्यो सम्भव छ, जुन जोनाथनले प्रमाणित गर्छ ।

(पौडेल चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकका अंग्रेजी शिक्षाशास्त्रका उपप्राध्यापक हुन्)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल पौडेल
कमल पौडेल
लेखकबाट थप