बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे भएनन् : गणेश तिमिल्सिना

आइतबार, २५ साउन २०८२, १७ : ३०
आइतबार, २५ साउन २०८२

काठमाडौँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्वर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समस्या औँल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरूलाई आग्रह गरेका हुन् । 

गाउँघरमा खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने समस्या सबैलाई थाहा रहेको तर त्यसको समाधान कसरी गर्ने भन्ने सुझाव दिन विज्ञहरुसंँग आग्रह गरेका हुन् । तीन वटै सरकारले समस्या समाधान गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘हामीले अबका दिनहरूमा समस्या के छन् भन्ने कुराहरू करिब करिब बुझेका छौँ । समाधानका कुरा के हुन त ? अहिले पनि विद्यालयमा विद्यार्थी भएनन् भन्ने कुराहरू सबैबाट भनेका छौँ । किन भएनन् अलि अलि आएको छ तर गुदी कुरा त्यहाँ भित्र आएको छैन । खेतबारी बाँझा छन् भन्ने कुरा आएको छ, त्यो बाँझोलाई के गर्ने भन्ने ठोस आउनुपर्‍यो । समस्या त जहिले पनि जसले पनि ल्याउन सक्या छ तर समाधानको लागी यी यी कुराहरू अब हामीले गर्नुपर्ने, अब स्थानीय सरकार वा पालिकाहरूले गर्नुपर्ने के हो ? कसरी गर्ने ? त्यहाँ दिशानिर्देश भो भने उहाँहरूलाई पनि धेरै ठुलो फिडब्याक हुन्छ र भोलीका योजनाहरूमा त्यो समेट्न सक्नुहुन्छ । त्यस कारण त्यो ढङ्गले आओस्, सङ्घ प्रदेशले कति सुन्लान्, पालिकाले त पक्कै सुन्लान् नी आफ्नो ठाउँमा गर्न खोजेको । सङ्घ प्रदेशलाई पनि यसले सर्पोट हुन्छ ।’

उनले हाल गाउँमा विकास भएपनि त्यसको उपभोग गर्ने मान्छे नभएको बताए । गाउँमा विकास पुगे पनि मान्छेहरू भने सहर केन्द्रित भएको उनको भनाई छ ।सरकारले गाउँमै फर्काउने र सुविधाको उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । 

उनले भने,‘अहिले त के देशव्यापी रूपमा के भएको भने विकास गाउँमा गएको छ मान्छे सहरतिर गएको छ, विदेशतिर गएको छ । पहिला फेरि विकास सहरमा थियो, मान्छे हामी गाउँमा भरिभराउ थियौँ । अहिले गाउँमा मोटरबाटो गएको छ, बिजुली गएको छ, खानेपानी गएको छ । धेरै भएन भन्दाभन्दै पनि धेरै भएको छ । तर त्यो उपभोग गर्ने मान्छे छैनन् । र विकासको दृष्टिकोणले हेर्ने हो भने प्रतिफल लिनको लागी गर्ने हो भने त्यो उपयोग नगर्दा घाटामा गएको छ ।’

उनले गाउँमा प्रशस्त विकास भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप